जहाँ दिनभर ४० डिग्रीको तापक्रममा पिपिई लगाएर उपचार गर्छन् स्वास्थ्यकर्मी (तस्बिरसहित)

नेपालगञ्ज नेपालको सबैभन्दा बढी तापक्रम हुने ठाउँ । यहाँको अहिलेको तापक्रम ३५ देखि ४० डिग्री सेल्सियस छ । यस्तो गर्मीमा जो कोही बाहिर निस्किन डराउँछ। एकछिन बाहिर बस्यो कि छाला पोलिहाल्छ।

मानिसहरू पातलो हावा छिर्ने खालको कपडा लगाएर बस्छन् । त्यो पनि पंखा तथा एसीको चिसो हावामा । तर, नेपालगञ्जका स्वास्थ्यकर्मीलाई पंखा र एसी त ‘आकाशको फल आँखातरी मर’ भने जस्तै हो ।

उनीहरू दिनभरि हावा-पानी तथा ससाना भाइरससमेत पस्न नसक्ने पिपिई लगाएर कोरोना संक्रमितको उपचारमा खटिएका छन् ।

नेपालगञ्ज मेडिकल कलेजकी नर्स सुसन गुरूङको शरीरमा २४ घण्टा नै पिपिई हुन्छ । उनले न राम्रोसँग खान पाएकी छन्,  न राम्रोसँग आराम गर्न नै । दिनभरको कामले थकित हुन्छिन् । ‘मानिसको शरीर नै त हो थाकिहाल्छ नि, तर मेरो थकानभन्दा बिरामीको अवस्थाले मस्तिष्कलाई झक्झक्याउँछ आराम गर्न मनै हुँदैन’, उनले भनिन्, ‘बेडमा रहेका बिरामी छटपटाउन थाल्छन् । बिरामी छटपटाइरहेको आँखाले टुलुटुलु हेरेर बस्न सक्दैन ।’  

उनीलगायतका शिक्षण अस्पतालका सबै स्वास्थ्यकर्मी २४ घण्टा नै बिरामीको सेवामा तल्लीन छन्।

शिक्षण अस्पतालका डा. दिनेश श्रेष्ठको पनि अवस्था उस्तै हो । उनले पनि न राम्रोसँग खान पाएका छन्, न त राम्रोसँग आराम गर्न नै । दैनिक १२ घण्टा भन्दा लामो समयसम्म काम गर्दा पनि उनले थकाइको अनुभव गरेका छैनन् । त्यसको कारण हो, कोरोना संक्रमणको जटिल केसहरू दिनप्रति दिन आइरहनु । एकछिन आराम गर्न खोज्दा होस् वा राम्रोसँग खाना खान खोज्दा होस्, बिरामीको ज्यान पनि जान सक्नेतिर उनको ध्यान जान्छ ।



भोक, प्यास, निद्रा, थकान सबै भुलेर काम गर्नुको एउटै उद्देश्य हो- कसरी सबै बिरामीलाई निको पारेर घर पठाउने, यो महामारीलाई कसरी परास्त गर्ने । 

नर्सहरूको टिम एकै छिन भुइँमा थचक्क बसेर थकान मेटाउँदै होस् वा पिपिई सेनिटाइजरका कारण एलर्जीको पीडा किन नहोस् त्यो सबैको बेवास्ता गरेर बिरामीको सेवामा निरन्तर खटिएका छन् । 



बाँकेको कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठ स्वास्थ्यकर्मीको यो मिहिनेतका लागि उच्च सम्मान रहेको बताउँछन् । ‘उहाँहरूले यतिसम्म खटिएर सेवा गरिरहनुभएको छ कि थकान, भोक, प्यास केही पनि भन्नुभएको छैन्’, उनले भने । 

यस्तो गर्मीमा समेत दिनभर पिपिई लगाएर बस्दा एलर्जी हुने, जिउ चिलाउने समस्यालाई समेत उनीहरूले बेवास्ता गरेको बताए ।

तस्बिर सौजन्य : बाँके कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठ

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १६:५२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया