‘सरकारले नागरिकप्रतिको दायित्व नभुलोस्, नागरिकले राज्यलाई सहयोग गर्नुपर्छ’

कोरोना महामारीको दोस्रो लहरको चपेटामा छ देश । दिनानुदिन कोरोना संक्रमित र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । कोरोना संक्रमण र मृत्युदरले दिनकै नयाँ रेकर्ड कायम गरिरहेको छ । कोरोना महामारीको पहिलो लहरमा आफैं कोरोना संक्रमित भएका हास्य कलाकार हरिवंश आचार्यले सन्देशमूलक गीत सार्वजनिक गरेका छन् ।

आचार्यले ‘अर्को जुनी खै कुन्नी’ बोलको गीत सार्वजनिक गरेका हुन् । आचार्यमा यो महामारीका बेला आम नागरिकमा सचेतना आउने केही काम गरौं भन्ने एकखालको हुटहुटी थियो । तर, के गर्ने उनी आफैंभित्र प्रश्न गर्दै थिए । ठिक यही बेला सरोज वलीको फोन आयो । फोनसँगै वलीले आचार्यलाई प्रस्ताव गरे ‘अर्को जुनी खै कुन्नी’ गाउनका लागि । यो प्रस्ताव आचार्यलाई मन पर्‍यो ।

यो गीत वलीले पहिला नै गाइसकेका रहेछन् । त्यसैले उनलाई लयको समस्या भएन । हरिवंशले गीत गाए । गीत ३ घण्टामै रेकर्ड, भिजुअल, मिक्सिङ सबै तयार भयो ।

गीत मार्फत् अर्को जुनी कसैलाई थाहा नभएको भन्दै यही जुनीमा कोरोनाबाट बच्न आग्रह गरिएको छ । आचार्यले कोरोनालाई सामान्य नलिन आग्रह गरेका छन् । उनी भन्छन्, ‘कोरोना नलागुञ्जेल मात्रै सामान्य लाग्ने तर लागेपछि धेरै दुःख दिन्छ ।’

कोरोनापछिको आफ्नो अनुभव सुनाउँदै उनले भनेका छन्, ‘कोरोनाबाट कसरी बच्ने भनेर सचेत हुनुपर्छ । लागिहाल्यो भने डराउनु चाहिँ हुँदैन । आत्मबल नै सबैभन्दा ठूलो औषधी हो ।’ उनले सरकार आफैं कोरोना संक्रमित भएको भन्दै आफ्नो सुरक्षा आफैं गर्नुको विकल्प छैन भन्दै सरकारतिर व्यङ्ग्य गर्न पनि भ्याएका छन् ।

सरकारले केहिदिन अघि मात्रै स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने भन्दै सूचना जारी गरेको थियो । 



आचार्यले यसो भनेर नागरिकलाई निराश पार्न नहुनेमा जोड दिएका छन् । हरिवंश सरकार आफ्नो दायित्वबाट पछि हट्न नहुने र नागरिकले पनि राज्यलाई आफूले सकेको सहयोग गर्नु पर्ने बताउँछन् ।

यो बेला नागरिकले राज्यलाई कसरी सहयोग गर्ने त ? उनी भन्छन्, ‘कोरोना संक्रमणपछि निको भइसकेकाहरुका घरमा अक्सिजन सिलिन्डर रहेको अवस्थामा राज्यलाई दिएर सहयोग गर्न सक्छन् ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नागरिकका घरमा भएका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउन सूचना जारी गरिरहेको छ ।



  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १२:०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया