लयमा फर्किन थालेको वैदेशिक रोजगार पुनः सकसमा

गतवर्ष कोरोना महामारीका कारण अस्तव्यस्त भएर विस्तारै उठ्न थालेको वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा पर्ने देखिएको छ । संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र संक्रमितको संख्यालाई ध्यानमा राखी रोजगार गन्तव्य मुलुकले नेपाललाई पनि ‘रेड जोन’मा राख्ने खतरा बढेको हो । 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले गतवर्षको लकडाउनले श्रम बजारलाई अस्तव्यस्त बनाएको र पछिल्ला दिनमा संक्रमण बढेपछि लागू भएको निषेधाज्ञा/लकडाउन लगायतका कारण यो क्षेत्र थप संकटमा पर्ने बताए । अहिले हजारौंको संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा जाने प्रक्रिया अघि बढेकोमा कोभिडको बढ्दो संक्रमणले अनिश्चित बन्ने देखिएको उनले बताए । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिए ।

संघका महासचिव सुजित श्रेष्ठका अनुसार अहिले पनि मलेसिया, साउदी अरब र दुबईमा नेपाली कामदार जान पाइरहेका छैनन् । साउदी अरब, कतार, ओमन र मलेसियामा कामदार पठाउनेबारे अहिले म्यानपावर कम्पनीले लबिङ गरिरहेका छन् । त्यसैले छिट्टै ठूलो संख्यामा नेपालीहरु पठाउने तयारी छ । कोरोना रोकथामका लागि चालिएका कदमका बीच नेपालीलाई सुरक्षित तवरले विदेश पठाउन सरकारले सहजीकरण गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

केही दिनअघि वैदेशिक रोजगार विभागका महानिर्देशक संयोजक रहेको सहजीकरण समितिको बैठक समेत बसेको थियो । उक्त समितिको सिफारिसमा निषेधाज्ञाका बीच वैदेशिक रोजगारीमा नेपालीलाई पठाउनेबारे श्रम मन्त्रालयले उचित निर्णय लिने अपेक्षा व्यवसायीको थियो । 

त्यसो त, खाडी मुलुक, मलेसिया, युरोपेली मुलुक, कोरिया, जापान र अफ्रिकी देशबाट घर फर्किने नेपालीको संख्या बढ्न थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । चैतमा मात्र विदेशबाट ६० हजार नेपाली स्वदेश फर्किएको तथ्यांकले देखाउँछ । हाल दैनिक करिब ३ हजार नेपाली स्वदेश फर्किरहेको विमानस्थलका एक उच्च अधिकारीले जनाए ।

सरकारले विदेशबाट फर्किएका नेपालीलाई १० दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिए पनि उनीहरुलाई राख्ने क्वारेन्टाइनको व्यवस्था भने मिलाइएको छैन । विदेशबाट फर्किएका नेपालीलाई क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मा कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई दिइएको छ । सिसिएमसीले यस विषयमा कुनै योजना बनाउन सकेको छैन ।



प्रभावित देशबाट स्वदेश फर्किएकाहरू स्वास्थ्य मापदण्ड पूरा गरी होम क्वारेन्टाइनमा बस्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम बताउँछन् । कोरोना भाइरसको संक्रमण रहेका देशमा ५० लाखभन्दा धेरै नेपाली कार्यरत रहेको सरकारी अनुमान छ । सरकारले विदेशबाट आउनेलाई सुरक्षित तवरले आइसोलेसन बनाएर व्यवस्थापन गर्नुपर्ने श्रम विज्ञ डा. गणेश गुरुङ बताउँछन् । उनका अनुसार उनीहरुलाई अब विदेश जानै नपर्नेगरी रोजगारीका काममा समेत लगाउनुपर्छ ।



  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १२:४१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया