३८ महिना लामो एमाले-माओवादी सत्ता सहयात्रा आजदेखि सकियो
एकता महाधिवेशन गर्नै नपाई छुट्टिए, अब अलग बाटो

दुई कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ३ वर्ष २ महिनादेखि जारी सत्ता सहकार्यमा आजदेखि पूर्णविराम लागेको छ। माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन ३८ महिनापछि आज फिर्ता लिएसँगै यी दुई दलबीचको सत्ता सहकार्य कानुनी रुपमा आजदेखि सकिएको हो। 

त्यसो त गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै माओवादीले आफ्ना सबै मन्त्री सरकारबाट फिर्ता बोलाइसकेको थियो। तत्कालीन नेकपा रहेकै बेला पुस ५ गते साँझ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालनिकट सातजना मन्त्रीहरुले ओली सरकारबाट सामूहिक राजीनामा घोषणा गर्दै बाहिरिएका थिए। 

माओवादीले आफ्ना मन्त्री फिर्ता गरे पनि पुस ५ पछिको राजनीतिक तनावबीच फागुन २३ गतेसम्म तत्कालीन नेकपाकै बहुमतको सरकार कायम रहेको थियो। तर फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गर्दै नेकपा एमाले र माओवादीलाई २०७५ जेठ २ को अवस्थामा पुर्‍याएपछि ओली सरकार दुई दलीय गठबन्धनमा परिणत भएको थियो। 

माओवादीले पुस ५ देखि नै प्रधानमन्त्रीलाई सत्ताबाट हटाउने अभियान थालेको थियो। फागुन २३ सम्म नेकपाकै एउटा समूहका रुपमा ओली हटाऊ अभियान चलाएका प्रचण्डले फागुन २३ यता माओवादी केन्द्रको अध्यक्षका रुपमा उक्त अभियान चलाएका थिए। तर ओलीलाई हटाउने कुरामा प्रचण्ड सफल हुन सकेनन्। बरु उल्टै ओलीले देशलाई चुनावमा लाने डरले सरकारलाई दिएको समर्थन फिर्ता नगरी बसिरहे।

जब ओलीले वैशाख २७ गते विश्वासको मत लिन संसदको विशेष अधिवेशन बोलाए तब मात्रै माओवादीले अफ्ठ्यारो मान्दै सरकारको समर्थन फिर्ता लिने घोषणा गर्यो। मंगलबार पेरिस डाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो।

जुन कुरा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाई सुनाउन अफ्ठ्यारो माने। उनले त्यसबारे बोल्दै बोलेनन्। बरु माओवादीका प्रमुख सचेतक देव प्रसाद गुरुङले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रकारहरूसँगको अनौपचारिक गफका क्रममा सुनाए। सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनै देव गुरुङ बुधबार संसद सचिवालयमा पुगेका छन्। 



नेकपा एमाले र माओवादीले २०७४ को निर्वाचनमा गठबन्धन गरेका थिए। दुई दलले चुनावी गठबन्धन गरे पनि अलग अलग चुनाव चिन्हबाट लडेका थिए। दुई ठूला कम्युनिष्ट मिलेपछि कांग्रेससहितका अन्य शक्तिले ठूलो धक्का खानुपर्यो। दुई कम्युनिष्ट मिलेपछि संघदेखि स्थानीय तहसम्म करिब दुईतिहाइ नजिक बहुमत ल्याए। 



२०७४ को चुनावमा गठबन्धन गरेका यी दुई दलबीच २०७५ जेठ ३ गते एकता भएर नेकपा बन्यो। तर त्यो एकताको एक वर्ष नबित्दै ओली र प्रचण्डबीच भाँडभैलो सुरु भएको थियो। अनेक आरोह अवरोध चिर्दै अघि बढेको नेकपा अन्तत पुस ५ मा आएर विभाजित भयो। 

त्यसबेला एमालेका माधवकुमार नेपाल प्रचण्डसँग लागे भने माओवादीका रामबहादुर थापा बादलसहितका नेताहरु ओलीतिर लागे। तर फागुन २३ मा सर्वोच्चले साविककै दुई दल ब्यूँताइदिएपछि माधव नेपाल एमालेतिरै फर्किए तर बादलसहितका नेता माओवादीमा फर्किएनन्।

दुई दल ब्यूँतिएपछिको अवस्थामा प्रचण्डलाई छाडेर गएका बादलसहितका नेता एमालेतिर बसे भने एमालेतिर फर्किएका माधव नेपालहरू ओलीसँग सहकार्यका लागि तयार भएनन्। बरु माधवले प्रचण्डसँगै घनिष्टता बढाइरहे। 

ओलीले विश्वासको मत लिने भएपछि माधव पक्ष बरु सामूहिक राजीनामा दिने तर ओलीलाई साथ नदिने रणनीतिमा छ। यस्तोमा माओवादीले समर्थन फिर्ता लिइदिएपछि ओली अल्पमतमा परेका छन्। अर्कातिर २०७४ को चुनावी गठबन्धनबाट सुरु भएको एमाले-माओवादी सहयात्रामा पनि सरकारलाई दिएको समर्थन फिर्तासँगै अहिलेलाई पूर्णविराम लागेको छ। 

  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १२:४८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया