कोरोनामा कलाकार : कोही फिल्डमा, कोही आइसोलेसनमा

देश कोरोनाको दोस्रो लहरको चपेटामा छ। नेपालमा अहिलेसम्म ३ लाख ५१ हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भैसकेको छ। ३ हजार ४ सय भन्दा धेरै मानिसले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। कोरोना संक्रमितले अस्पताल भरिएको छ।

एम्बुलेन्सको साइरन, आफन्त गुमाएका परिवारको रोदन र संक्रमितको क्रन्दनले मानिसमा चरम निराशा छाउँदै गएको छ। अस्पताल, बेड, अक्सिजन, आइसियु, भेन्टिलेटरको अभावका समाचारले मानिसमा झन् भयावह थपेको छ। यो त्रासदीका बीचमा केही कलाकार भने सेवामा निस्किएका छन्।

कलाकारद्वय निखिल उप्रेती, केदार घिमिरे (माग्ने बुढा), विजय लामा लगायतका कलाकारले अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन्। उनीहरूलाई अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व आइजिपी सर्वेन्द्र खनाल, डा. सुवास घिमिरे, कर्णबहादुर शाही, अधिवक्ता सन्जयराज अधिकारी लगायतले साथ दिएका छन्।

यो टिमले जनही १५–१५ रुपैयाँ संकलन गरेर सेवा सुरु गरेको हो। निःशुल्क एम्बुलेन्स सेवा तत्कालका लागि काठमाडौं उपत्यकामा मात्रै प्रदान गरिने कलाकार केदार घिमिरेले बताएका छन्। एम्बुलेन्समा  नर्स र अक्सिजन सेवा समेत उपलब्ध गराइएको बताउँदै घिमिरेले हर कसैले पनि यो सेवा लिन सक्ने उल्लेख गरेका छन्।

यता अभिनेता पल शाह पनि कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउने कार्यमा जुटेका छन्। अक्सिजन अभावकै कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले अक्सिजन वितरण कार्यमा जुटेको पलले बताए। उनी भन्छन्, ‘अभावमा रहेका मानिसलाई सहयोग गर्नु हाम्रो  दायित्व पनि हो।’ 

हाम्रो टिम नेपालसँग मिलेर अक्सिजन उपलब्ध गराउने कार्यमा जुटेका पललाई कतिपयले आफूसँग भएका खाली सिलिन्डर उपलब्ध गराइरहेका छन्। कतिपयसँग भने पैसा तिरेरै खरिद गरेको पल बताउँछन्।



पल आफू पनि फिल्डमा निस्किएका छन्। व्यक्तिलाई मात्रै सहयोग गरेर नहुने भन्दै अब आवश्यक परेको खण्डमा अस्पताललाई पनि सहयोग गर्न आफू तयार रहेको बताउँछन्। पछिल्लो समय पलको सामाजिक कार्यमा निकै सक्रियता देखिएको छ। उनी कहिले खुल्ला मञ्चमा मजदुरलाई निःशुल्क खाना खुवाउँछन्। कहिले बाढी पहिरो पीडितलाई राहत बाँड्न ठाउँ ठाउँमा देखिन्छन्।

कलाकारमा संक्रमण



कोरोना संक्रमणको दोस्रो लहरमा थुप्रै कलाकार कोरोना संक्रमित भएका छन्। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ८ दिनको अस्पताल बसाइपछि घर फर्किएर आराम गरिरहेका छन्। उनका छोरा तथा कलाकार यमन श्रेष्ठ संक्रमणपछि घरमै आइसोलेसनमा बसिरहेका छन्। 

लोकगायक राजु ढकाल पनि संक्रमित भएका छन्। संक्रमणपछि घरमै आइसोलेट भएर बसेका ढकालले कोरोनालाई सामान्य नसोच्न आग्रह गरिरहेका छन्।

कलाकार दीपक आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। सिरियल ‘सक्किगोनी’का काकु आचार्यले ज्वरो आउने र जिउ दुख्ने समस्या देखिएपछि पिसिआर परीक्षण गराएका थिए। कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका आचार्यले परिवारको रेखदेखमा रहेको जनाएका छन्।

उता कलाकार सरिता लामिछानेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। केही दिनदेखि स्वास्थ्य अवस्था बिग्रिएपछि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको उनका श्रीमान निर्देशक ऋषि लामिछानेले बताए। सरिता अहिले घरमै आइसोलेटेड भएर बसेकी छिन्। केही दिन गाह्रो भए पनि अहिले स्वास्थ्य अवस्था सामान्य बन्दै गएको ऋषिले बताए।

यसै गरी गायक प्रकाश सपुत पनि कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका छन्। अभिनेत्री केकी अधिकारी भने कोरोनालाई जितेर काममा फर्किसकेकी छिन्।

  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १३:३५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया