सुर्खेतमा नयाँ अक्सिजन प्लान्ट जडान, थपिँदै बिरामी, थेगेन भार
प्रदेश अस्पताल सुर्खेतमा जोडिएको अक्सिजन प्लान्ट ।

सुर्खेतमा रहेको प्रदेश अस्पताल क्षमताभन्दा दोब्बर कोरोना संक्रमितले भरिएको छ । यो अस्पतालमा प्रदेशका १० वटै जिल्लाका गम्भीर बिरामीहरु भर्ना भइरहेका छन् । २५ बेडको कोभिड आइसोलेसन सेन्टर रहेको अस्पतालमा केही वेड थप गरिएको छ । तर, अस्पतालमा ७३ जना कोरोना संक्रमित छन् । ६३ जना कोभिड वार्डमा र १० जना गम्भीर बिरामीहरु इमर्जेन्सी वार्डमा रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन. पौडेलले जानकारी दिए । 

प्रदेशका १० वटै जिल्ला, स्थानीय तहहरुमा आइसोलेसन वार्डहरु निर्माण गरिए पनि गम्भीर प्रकृतिका बिरामीहरु प्रदेश अस्पतालमा पठाउने गरिएको उनको भनाइ छ । ‘अस्पतालमा दिन प्रतिदिन बिरामी बढी रहेका छन्,’ उनले भने, ‘अस्पतालमा भर्ना भएका सबै गम्भीर बिरामी हुन् । इमर्जेन्सीमा रहेका १० जना एकदमै सिरियस अवस्थामा छन् ।’

अक्सिजन प्लान्ट जडान

कोरोना संक्रमितलाई अक्सिजनको चरम अभाव भएपछि प्रदेश अस्पतालका २ वटै अक्सिजन प्लान्ट सञ्चालनमा आएका छन् । बन्द रहेको ठूलो अक्सिजन प्लान्ट कर्णाली प्रदेश सरकारको पहलमा सञ्चालनमा आएको हो । यसअघि एउटा मात्रै सञ्चालनमा थियो । अक्सिजन प्लान्टको सिलिन्डर भर्ने क्षमता एकदमै कम छ । त्यसैले पाइपलाइनबाट संक्रमितलाई अक्सिजन दिइएको छ । 

‘नयाँ प्लान्टले दैनिक १० वटा सम्म मात्रै सिलिन्डर भर्न सक्छ, हामीले पाइपलाइनबाट वितरण गरेका छौँ,’ डा. पौडेलले भने, ‘५० पाइपलाइनबाट एकै पटक ५० जनालाई अक्सिजन दिन सकिन्छ । पुरानोबाट २० जना सम्मलाई अक्सिजन दिन सकिन्छ । तर, बिरामी बढ्दै गएका कारण यो पनि अभाव हुँदै गएको छ ।’ एउटा कोरोना संक्रमितलाई प्रतिमिनेट ६ सय लिटर अक्सिजन आवश्यक पर्ने भएकाले कुनै पनि बेला बिरामीले अक्सिजन नपाएर मर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।

अन्य बिरामीको खण्डमा २ वटा प्लान्टबाट १५० जनालाई २४ घण्टा अक्सिजन दिन सकिन्छ । तर, कोभिड बिरामीलाई अत्यधिक अक्सिजन चाहिने भएका कारण अस्पतालको प्लान्टबाट ७० को हाराहारीमा भन्दा धेरैलाई अक्सिजन दिन नसकिने उनको भनाइ छ ।



यस अघि प्रदेश अस्पतालमा नेपालगञ्जबाट अक्सिजन आयात भइरहेको थियो । नेपालगञ्जको आयात पनि रोकिएको छैन । तर, त्यो आउला र उपचार गरौँला भन्ने कुरामा भर पर्नु नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् । हाल नेपालगञ्जबाट दैनिक एक सयको हाराहारीमा अक्सिजन सिलिन्डरको आयात हुने गरेको छ । तर त्यो समयमा नियमित नआउने, ठाउँठाउँमा वितरण हुने हुँदा बिरामीहरुले अक्सिजन नपाउने अवस्था थियो ।

‘पछिल्लो समयको कोरोना एकदमै खतरनाक लक्षण सहितको छ,’ डा. पौडेलले भने, ‘सामान्यदेखि गम्भीर प्रकृतिका समस्याहरु देखिन सक्छन् । संक्रमित धेरैजसोलाई अक्सिजन चाहिन्छ । यदि अक्सिजन नभएको अवस्थामा ज्यान जान पनि सक्छ ।’ कर्णाली प्रदेशका धेरै जसो अस्पताल, स्थानीय पालिकाले बनाएका आइसोलेसन सेन्टरमा भरपर्दा अक्सिजन प्लान्ट नभएकाले गम्भीर बिरामीलाई प्रदेश अस्पताल नै एकमात्रै अन्तिम गन्तव्य हुने गरेको छ । 



बिरामीको भर्ना नलिने अवस्था आउन सक्छ

गम्भीर प्रकृतिका बिरामीको उपचार गर्ने एउटै मात्र थलो प्रदेश अस्पताल बनेको छ । अस्पतालमा दैनिक एक दर्जनभन्दा बढी गम्भीर प्रकृतिका बिरामीहरु आउने गरेका छन् । जस कारण अस्पताल भरीभराउ भइसकेको छ । यस्तो अवस्थामा अस्पतालले बिरामी भर्ना समेत लिन नसक्ने अवस्था आउने सक्ने डा. पौडेलले बताए । ‘बिरामी अत्यधिक मात्रामा आइराख्नु भएको छ,’ उनले भने, ‘क्षमताभन्दा धेरै बिरामीहरु आइरहेका छन् । यस्तो अवस्थामा अस्पतालले भर्ना समेत लिन नसक्ने अवस्था आउन सक्छ ।’

‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान 

अक्सिजनको चरम अभाव भएपछि सुर्खेती युवाहरुले ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियानको सुरुवात गरेका छन् । कोरोना भाइरसको जोखिम न्यूनीकरणमा जिम्मेवारी र उत्तरदायित्व बहन गर्न सुर्खेती कोभिड-१९ सेल्फ हेल्प समूह बनाएर उनीहरुले उक्त अभियान सुरु गरेका हुन् ।

अहिलेसम्म अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार रूपैयाँ अभियानमा करिब २ सय बराबर व्यक्ति जोडिएका छन् । एक-एक मिलेर हजार बन्छ भनेजस्तै सुरुमा तीन युवाहरु मिलेर यो अभियान सुरु गरेका थिए । पत्रकार सुदीप पुरीको नेतृत्वमा धर्मराज आचार्य र मिलन श्रेष्ठले उक्त अभियान सुरु गरेका हुन् ।

मानवीय र सामाजिक उत्तरदायित्व पूरा गर्न हामीले यो अभियान सुरु गरेका नेतृत्वकर्ता सुदीप पुरीले बताए । जसमा अहिलेसम्म करिब साढे तीन लाख रूपैयाँ संकलन भइसकेको उनको भनाइ छ । सहयोगका लागि मिलन श्रेष्ठको नाममा रहेको खाता नम्बर ०६५०८७७४८१२०५००१ सनराइज बैंक सुर्खेतमा रकम जम्मा गरेर यो अभियानमा जोडिन सकिने उनीहरुले बताए ।

  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १४:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया