निषेधाज्ञाको दोस्रो दिन जनकपुरधाम सुनसान (फोटोफिचर)

 

कोरोना संक्रमणको दोस्रो भेरियन्टको गति तीव्र रूपमा फैलिँदै गएपछि स्थानीय प्रशासनले मंगलबारदेखि जारी गरेको निषेधाज्ञाको दोस्रो दिन जनकपुरधाम बजार-क्षेत्र पूर्ण रूपमा बन्द देखिएको छ । 

निषेधाज्ञा जारी भएपश्चात् मंगलबार बिहानैदेखि बजार-क्षेत्र सुनसान भएको छ । भिडभाड देखिने नगर तथा बजार क्षेत्र निषेधाज्ञा पश्चात सुनसान देखिएको हो । 
नगरक्षेत्रको ठाउँठाउँमा व्यापक संख्यामा प्रहरी परिचालन गरिएको छ । अत्यावश्यक बाहेकका सवारी साधन सडकमा चलेका छैनन् भने पैदल यात्रीको संख्या पनि न्यून देखिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले सुरक्षा योजना बमोजिम निषेधाज्ञामा धनुषा जिल्लाभरि ६५० जना प्रहरी परिचालन गरिएको जानकारी दिए । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले प्रदेश–२ को धनुषा जिल्लामा संक्रमणको गति दोस्रो स्थानमा पुगेको र समुदाय स्तरमा कोरोना फैलिएकाले मंगलबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा लगाइएको बताए । 

प्रजिअ बास्तोलाले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरि प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा र स्थल १० दिनसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार धनुषा जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।

प्रशासनले औषधी उपचार एवं आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म सडकमा हिँडडुल गर्न समेत रोक लगाइएको छ ।



निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ्गपुल पुल, सपिङ्ग मल, हाटबजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय लगायतका सञ्चालन गर्न समेत रोक लगाइएको छ भने विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म सहभागी भई स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी गर्न सकिने र सो प्रयोजनका लागि बढीमा २ वटा साना गाडी र एउटा ठुलो गाडीमा शुभ विवाहको ब्यानर राखी सञ्चालन गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।

मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीले प्रयोग गर्ने सवारी साधन, दुरसञ्चार, इन्टरनेट, एम्बुलेन्स, दमकल, शववाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दुग्धजन्य पदार्थ, पशुपक्षीको दानालगायत ढुवानीका सवारी साधन, आइसोलेसन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति प्राप्त (पास) सवारी साधन, सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधन बाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारी साधन (पूर्व पश्चिम राजमार्गमा वारपार गर्ने बाहेक) समेत सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।



खाद्यवस्तु, खाना पकाउने ग्याँस र निर्माण सामग्रीसँग सम्बन्धित व्यवसाय बिहान ६ बजेदेखि ९ बजेसम्म र औषधि तथा स्वास्थ्य सेवासँग सम्बन्धित पसल चौबीसौं घण्टा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी सञ्चालन गर्न पाईने उल्लेख छ ।

प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १७:४४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया