जसपामा सांसद र कार्यकारिणी समिति सदस्य 'किनबेच' सुरु !
दुवै समूहका नेताहरु घर दैलो गर्दै

जनता समाजवादी पार्टी ( जसपा) मा संघीय सांसद र कार्यकारिणी समिति सदस्य किनबेच सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिने भएपछि जसपामा सांसद र नेता तानातान भइरहेको छ। ओलीको पक्षमा बहुमत जुटाउन अध्यक्ष महन्थ ठाकुर पक्षले केही दिनयता अभियान तीव्र बनाएको छ। 

अर्कातिर उपेन्द्र यादवले ओलीको विपक्षमा अभियान थालेसँगै जसपाकै शीर्ष नेताहरूले सांसद र कार्यकारिणी समिति सदस्य किनबेच सुरु गरेको स्रोतले जनाएको छ।

यो कुराको पुष्टि जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले नै गरिसकेका छन्। 

उनले मंगलबार ट्वीट गर्दै भने,‘हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरु पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समितिको सदस्यको घरदैलो गर्दैछन्। त्यो पैसाको झोला फिर्ता गर्ने सांसद र कार्यकारिणी समिति सदस्यलाई अनेकन डर, त्रास देखाइएको छ।’
 
अर्थात् विभिन्‍न प्रलोभनमा जसपाका सांसद र कार्यकारिणी समितिका सदस्यहरुको किनबेच सुरु भएको आशय झल्किने गरी उनले बाबुरामको सचिवालयबाट धारणा आएको छ।

स्रोतका अनुसार पाण्डेको यो कुरा वास्तविकता नजिक छ। जसपामा विभाजित दुई गुटले एकअर्कतिरका सांसदसँगै आफ्नै रुष्ट नेतालाई पनि फकाउने काममा जुटिसकेका छन्। 



संसदको विशेष अधिवेशन नजिकिँदै गर्दा अझ बढी यो गतिविधि बढेको छ। सांसदहरुलाई फकाउन नेताहरुले दूत नै प्रयोग गरेका छन्। ती दूतले आफ्नो गुटबाहेक अर्को तिर नलाग्नु भन्दै जे चाहियो,त्यही पूरा गर्ने लोभ देखाइरहेका छन्। 

पैसा, पद र पावरको लोभ



स्रोतका अनुसार बुधबार मात्रै उपेन्द्र यादवनिकट मानिने एकजना पूर्व मन्त्री र सांसद बहालवाला सांसदको घरमा गएर भेटघाट गरेका छन्। भेटघाटका क्रममा दुवैले भनेका थिए,‘माननीयज्यू तपाईँको बारेमा धेरै समाचार आइरहेको छ, त्यसैले तपाईँ आफ्नो घर नछोड्नुस्। बरु अरुले जति दिइरहेका छन्, त्यति हामी नै दिन्छौँ तर अरुलाई सहयोग नगर्नुस्। अहिले नै पैसा ल्याइदिएका छौँ।’ 

तर ती सांसदले अहिले केही नगर्न भन्दै त्यही समूहमा रहेको जवाफ दिएपछि दुवै नेता त्यहाँबाट हिँडेका थिए।

सांसद-नेता तान्‍ने यो अभियानमा दुवै समूह जोडतोडले लागेका छन्। स्रोतका अनुसार ठाकुर पक्षले आफ्नो पक्षमा कार्यकारिणी समिति सदस्य जुटाउन मिहिनेत गरिरहेको छ। कार्यकारिणी समितिमा यादव पक्षले बहुमत दाबी गरिरहेको छ।

दुवै खेमाले आफू बलियो हुन आफ्नै सांसद र कार्यकारिणी समितिका सदस्यलाई पैसा, पद र पावरको लोभ दिएर किन्‍न सुरु गरेको स्रोतको दाबी छ।

लालबाबु पनि सक्रिय

दुवै समूह आमनेसामने भएपछि दूतसँगै आफ्नो सरकार रहेको प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई पनि खटाएका छन्। प्रदेश २ मा जसपाकै सरकार छ। तर जसपा दुई गुटमा बाँडिएपछि त्यहाँ पनि विभाजनको रेखा कोरिएको छ।

गठबन्धनको सरकार बन्दा पूर्व राजपा र पूर्व सपाबाट मन्त्री बनेका केही पूर्ववत् दललाई सघाउन लागिपरेका छन्। स्रोतका अनुसार आफूनिकट सांसद र कार्यकारिणी समिति सदस्यलाई फोन गर्दै उनीहरुले 'मैले के गर्नुपर्छ गर्छु भन्नुहोला गर्छु। तर अहिलेको विषम परिस्थितिमा पार्टीलाई नै सघाउनुहोला, अरुको चक्करमा नपर्नुहोला', भनिरहेका छन्।  

प्रदेश २ का मन्त्रीहरुले विभाजित भएर आफ्नो पूर्ववत् बलियो बनाउन राज्यको स्रोतको दुरुपयोग गरिरहेको स्रोत बताउँछ। अहिले प्रदेशका अधिकांश मन्त्री गुटलाई सघाउन राजधानी आइपुगेका छन्। 

यो खेल किन?

संसदको विशेष अधिवेशनमा सत्तारुढ दलबाहेक दलहरु प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा फेल गराउने रणनीति बुनिरहेका छन्। 

ओली नेतृत्वबाहेक सबै दल एक ठाउँमा उभिए ओली फेल हुने उनीहरुको बुझाइ छ। यो कुरा आज बसेको चार दलको शीर्ष नेताहरुको गोप्य बैठकले पनि पुष्टि गरेको छ। यो बैठकले नयाँ सरकार सम्भव भएको निचोड निकालेको छ।

यो रणनीतिमा खासगरी प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा घटक लागिपरेको छ। उपेन्द्र पक्षले कांग्रेस-माओवादी केन्द्र र ठाकुर पक्षले ओलीलाई सघाउने भएका छन्। यस्तोमा दुवैले जसपमा आफ्नो गुट नै बलियो भएको बताइरहेका छन्। 

यही दाबीलाई सिद्ध गरेर देखाउन दुवै पक्षले आफ्नो शक्ति बढाउने कोसिस गरिरहेका छन्। सत्ता समीकरणलाई लिएर जसपा दुई गुटमा विभाजित भएको छ। 

स्रोतका अनुसार यही कारणले अहिले दुईवटै गुट सफल हुन सांसद-नेता किनबेचसम्मको योजना बनाएर लागेका छन्। प्रतिनिधि सभामा २ जना निलम्बनमा परिसकेपछि जसपका ३२ सांसद छन्। यसमा दुईवटै पार्टीबाट बराबरी प्रतिनिधित्व छ। अर्थात् १६/१६ को अवस्था छ।

  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १९:४५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया