नेकपा एमालेमा देखिएको विभाजनउन्मुख विवाद साम्य पार्न दोस्रो पुस्ताका नेताहरुले दबाब बढाइरहेका छन्। प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निरन्तर चलिरहेको शक्ति संघर्षलाई मथ्थर पारेर एमालेलाई एक बनाइराख्ने प्रयास दोस्रो पुस्तका नेताहरुले जारी राखेका छन्।
दोस्रो पुस्ताका नेताहरुले दुवै पक्षलाई दबाब बढाइरहँदा ओली-नेपालबीच भित्रभित्रै संवाद पनि जारी रहेको खुलेको छ। फागुन २३ मा नेकपा खारेजीमा परेपछि एमालेमा फर्किएका नेता नेपाल र ओलीबीच पहिलो वार्ता चैत २ मा धुम्बाराहीमा भएको थियो। त्यो वार्तामा नेपाल पक्षले अदालतको फैसला अनुसार फागुन २८ का निर्णय खारेज गरेर पार्टीलाई २०७५ जेठ २ मा लगेमा मात्रै सहमति हुने अडान नेपालले राखेका थिए।
तर ओलीले पार्टीमा सामूहिक सौदाबाजी नहुने भन्दै फर्किने भए सम्मानजनक रुपमा भूमिका दिने बताएका थिए। त्यसपछि नेपाल नेपाल र ओलीबीच संवाद टुटेको थियो। तर नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग त्यसबीचमा दर्जन पटकभन्दा बढी संवाद गरे।
तर ओलीसँगको संवाद अघि बढेन। त्यसपछि गत वैशाख ८ गते माधवकुमार नेपाल समूहमा रहेका नेता योगेश भट्टराई बालुवाटार छिरे। एकताको सन्देशसहित बालुवाटार छिरेका योगेशले ओलीलाई पार्टीको अभिभावकका रुपमा तत्काल संवादमा जान आग्रह गरे।
उनको आग्रह अनुसार त्यही दिन ओलीले नेपाललाई भेट्न बोलाए। उनले बालुवाटार आउन भनेका थिए तर नेपाल मानेनन्। त्यसपछि ओलीले बालकोट आउन भने, तर त्यहाँ पनि नेपाल आउन नमानेपछि ओलीले भेट्ने विन्दुका रुपमा होटल मेरियट तोकियो।
त्यहीँ नेता नेपाल र ओलीबीच वैशाख ८ र ९ गते दुई दिनसम्म वार्ता चल्यो। त्यो वार्ताले एमालेका दुवै समूहमा आशाका किरण छर्यो। दुई दिनको वार्ता मिलेन। नेपालले २०७५ जेठ २ मा जान भने, ओलीले निःशर्त फर्किन आग्रह गरे।
विश्वासको मत
त्यसयता यी दुई नेताबीच वार्ता हुन सकेको छैन। यसबीचमा नेता नेपाल विपक्षी दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीको सहयोगमा ओलीविरुद्ध घेराबन्दीमा जुटेका छन्।
दुई नेताबीच संवाद रोकिएको अवस्थामा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिन संसदको विशेष अधिवेशन बोलाए। उक्त दिन ओलीले विश्वासको मत लिने भएपछि नेता नेपालले अझै कठोर हुने संकेत देखाए।
ओलीले फागुन २८ को निर्णय सच्याएर २०७५ जेठ २ मा नफर्किएमा विश्वासको मत लिनुअघि नै आफूपक्षीय २० देखि २१ सांसदले राजीनामा दिने, संसदमै उपस्थित नहुनेदेखि फ्लोर क्रससम्ममा रणनीतिक धम्की नेपालले दिइसकेका छन्।
आफ्नो पक्षमा रहेका सांसदहरुलाई विद्रोह गराएर कांग्रेस-माओवादीको पक्षमा बहुमत पुर्याइदिने योजना पनि नेपालसँग छ। एमालेसँग अहिले १२१ सांसद छन्। ओलीलाई बहुमत लिन अब जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका १७ देखि १९ सांसदले समर्थन गरे पुग्छ। तर ओलीको यो सजिलोमा भिलेन बनेर बदला लिनेगरी अघि बढेका छन् नेता नेपाल।
नेता नेपाल आफूपक्षीय सांसदहरुलाई विश्वासको मतमा सहभागी नगराएर ओलीलाई सरकारबाट बिदा गर्ने रणनीतिमा छन्। नेता नेपालले भने जस्तै 'मर्ता क्या नहिँ कर्ता' को रणनीतिले ओलीमाथि दबाब बढाएको दाबी नेपाल पक्षीय एकजना नेताले गरेका छन्।
'एमाले बचाउने सम्भावना अझै पनि बाँकी नै छ तर फागुन २८ का निर्णयबाट पछि हटेर जेठ २ मा जानैपर्छ', ती नेताले भने, 'यो हाम्रो बटमलाइन मात्रै होइन, सर्वोच्चको आदेश कार्यान्वयनको कुरा पनि हो। ओली यसमा तयार हुनेबित्तिकै समस्या हल हुन्छ। रह्यो माओवादी नेताहरुको कुरा, उहाँहरुलाई स्वीकार्ने कुरामा कुनै अलमल छैन। तर विधिबाट चल्नुपर्यो।'
अर्कातिर नेपालले ओलीलाई अफ्ठ्यारो पार्ने गरी राष्ट्रियसभामा कदम चालेका छन्। उनले जेठ ६ गते हुने उपनिर्वाचनमा ओलीले उठाउन लागेका रामबहादुर थापा बादललाई हराउने योजनासहित माओवादी र कांग्रेससँग सहकार्य गरेका छन्।
त्यही सहकार्य अनुसार बागमती प्रदेशका पूर्व योजना आयोग प्रमुख डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाइएको छ। दुई दलसँग माधव नेपाल समूह मिलेपछि त्यहाँ बादललाई पुन:निर्वाचित हुन कठिन हुने देखिएको छ। त्यहीकारण ओलीले आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा बादलको उम्मेदवारीको टुंगो लगाएनन्।
दबाब
यसबीचमा ओलीले नेपाल पक्षमा लागेका संघीय र प्रदेशकासहित करिब ३२ जना नेतामाथि कारबाही चलाए। माधव नेपाल र झलनाथ खनालसहितका सांसदहरुसँग किन निलम्बन नगर्ने भनेर थप स्पष्टीकरण सोधियो।
तर स्पष्टीकरण खाएका नेताहरु पनि पार्टीलाई एक बनाउने प्रयासमा छन्। नेताहरु योगेश भट्टराई, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेहरूले एमालेलाई एक बनाइ राख्न निरन्तर दबाब बढाइरहेका छन्।
यो अभियानमा सबैभन्दा धेरै योगेश सक्रिय छन्। उनले बालुवाटारमा भेटेकै दिन वैशाख ८ मा ओलीले नेपालसँग वार्ता गरे। चैत २ यता वार्ता हुन नसकेको अवस्थामा नेपाल-ओली दुई पटक वार्तामा बसे।
यसबीचमा घनश्याम भुसालले पनि ओलीनिकट लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल, एमाले महासचिव ईश्वर पोखरेलसहितसँग संवाद गरेका छन्। ओली पक्षका शंकर पोखरेल, सुवास नेम्बाङसहितका नेताहरुले पनि पार्टी एकता बचाउन सकिने सबै उपाय अवलम्बन गर्न नेताहरुलाई दबाब दिएका छन्।
बुधबार मात्रै नेता योगेश भट्टराईले सिन्धुलीका सांसद गणेश पहाडीलाई लिएर एमाले महासचिव ईश्वर पोखरेललाई सिंहदरबारमा भेटेका छन्। नेता भट्टराईले पोखरेललाई एमालेलाई विभाजनको डिलतर्फ झर्न नदिने गरी भूमिका खेलिदिन आग्रह गरेका थिए।
शीर्ष नेताहरुबीच फेरि संवादको वातावरण बनाएर कुरो मिलाउन सक्ने अवस्था रहेको निचोड दुवै नेताले निकालेको सांसद पहाडीले बताएका छन्। उनले टुटेको संवादलाई फेरि निरन्तरता दिनुपर्ने बताउँदै त्यसका लागि प्रधानमन्त्रीसँग कुरा गर्न पनि पोखरेललाई आग्रह गरेका थिए।
वार्ता प्रयास
वैशाख २७ गते अविश्वास प्रस्ताव लिने तयारी ओलीले गरिरहँदा नेता नेपालसँग वार्ता प्रयास भइरहेको छ। वैशाख २७ अघि नै हिसाब किताब क्लियर गर्ने गरी दुई नेताबीच वार्ता हुन लागेको हो।
त्यही वार्ताकै लागि बुधबार राति दुई नेताबीच टेलिफोन संवाद भएको छ। ओलीले टेलिफोन गरेपछि दुई नेताबीच केहीबेर कुरा भएको हो। ओलीले टेलिफोन संवादमा नेपाललाई फेरि भेटको प्रस्ताव गरेका स्रोतले बताएको छ।
तर नेता नेपालले फागुन २८ को निर्णय नसच्चिएसम्म अब भेट्न नआउने अडान लिएका छन्। 'ओलीले भेट्न बोलाउनुभएको छ तर नेपालले पहिला फागुन २८ को निर्णय सच्याउनुस् भन्नुभएको छ', उनका एक सहयोगीले भने, 'त्यसपछि मात्रै फेरि संवादमा जुटौँला भन्ने उहाँको अडान छ। यदि फागुन २८ को निर्णय सच्याउने प्रतिवद्धता आएमा नेता नेपाल विश्वासको मत दिन पनि तयार हुनुहुन्छ।'
नेपालका विकल्प
यदि ओलीले फागुन २८ को निर्णय सच्याएर जेठ २ मा नफर्किएमा नेता नेपालले तत्काललाई दुई विकल्प बनाएका छन्। ओली नमानेमा यी दुई विकल्प प्रयोग गरेर तत्काल अघि बढ्ने योजनामा छन् नेपाल
ती मध्ये पहिलो हो, आफूसहितका सांसदहरुले राजीनामा दिएर संसदमा विपक्षलाई बहुमत पुर्याइदिने। दोस्रो हो, संसद बैठकमै सहभागी नभएर ओलीलाई विश्वासमा फेल गरिदिने। तर कर्णालीमा जस्तो फ्लोर क्रसको राजनीति संघमा भने नगर्ने मुडमा नेता नेपाल देखिएका छन्।
सुरेन्द्र पाण्डे यसो भन्छन्
नेपाल समूहका एकजना नेता सुरेन्द्र पाण्डेले वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताएका छन्। दुई शीर्ष नेताबीच संवादको पहल भइरहेका बेला नेता पाण्डेले बुधबार यसो भनेका हुन्।
ओलीले विश्वासको मत लिने भएपछि वरिष्ठ नेता नेपाल विपक्षी दलहरूसँग गठबन्धनमा लागिरहेका बेला पाण्डेले यस्तो बताएका हुन्। 'हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ। अरु के भन्छन् तर हामी सबैले विश्वासको मत हाल्छौँ', उनले भने, 'वैशाख २७ अघि हामी सामूहिक राजीनामा दिँदैनौँ। विश्वासको मत दिन्छौँ भनेपछि हामीले राजीनामा दिने कुरा हुँदै भएन।'
उनले नेपाल पक्षमा रहेका सबै सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए। 'हामी सबैले विश्वासको मत हाल्छौँ। तर फागुन २८ को निर्णयलाई लिएर हामी अहिले पनि अडानमै छौँ। अन्तरसंघर्ष पार्टीमा जारी छ', उनले भने, 'सबै नेताको राजनीतिमा आफ्नो आफ्नो किसिमको भूमिका र योगदान छ। त्यस हिसाबमा पार्टीमा भएका मतभेद र संघर्षलाई अघि बढाइरहनेछौँ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।