पहुँचवालालाई आइसियू र भेन्टिलेटर जति पनि, गरिब अक्सिजन नपाएर मर्न बाध्य

घटना १

धनुषाका एक ४५ वर्षीय कोरोना संक्रमितको वैशाख २१ गते निधन भयो। धनुषाका विभिन्न तीन अस्पताल चहार्दाचहार्दै उपचार नपाएर उनको निधन भयो। रुघाखोकी र तथा ज्वरोको औषधि खाइरहेका उनलाई एकाएक श्वास–प्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि जनकपुरको प्रादेशिक अस्पताल लगियो। अस्पतालमा आइसियू बेड खाली नभएको भन्दै फर्काइयो। 

त्यहाँबाट राति नै स्थानीय जानकी हेल्थ केयरमा लगियो। आइसियूमा राखेर उपचार गराउन निकै महँगो हुने भएपछि त्यहाँबाट नजिकैको रामजानकी अस्पताल लगियो। सरकारीमा आइसियू भेटिएन, निजीमा महँगोमा उपचार गर्न नसकेपछि बिरामीलाई घर लगियो।
 
घर लैजाने क्रममा गाउँकै बटेश्वर बजारमा रहेको आरपी मेडिकल हलमा उपचारका लागि पुग्दै गर्दा उनको मृत्यु भयो। यो विषयमा जनकपुर प्रादेशिक अस्पतालका मेसु प्रमोद यादवले घटनाबारे आफूले पछि सञ्चारमाध्यमबाट मात्रै जानकारी पाएको बताए। 

‘अस्पतालका बेड खाली थिएनन्। थाहा पाएको भए केही न केही व्यवस्था गरेर उपचार गरिन्थ्यो। मैले त पछि सञ्चारमाध्यमबाटै थाहा पाएँ,’ यादवले भने। 

घटना २

लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उपचार गराइरहेका चारजना कोरोना संक्रमितको निधन भयो। थप उपचारका लागि आइसियू बेड नपाउँदा बुटवलका चारजनाको मृत्यु भएको थियो।
१५ बेडको आइसियू रहेको अस्पतालमा सबै बेड भरिभराउ थिए। उनीहरूका लागि आइसियूको व्यवस्थापन गर्न सक्दा ज्यान गएको अस्पतालले जनाएको छ। 



आइसियू बेड खोज्दाखोज्दै थुप्रै कोरोना संक्रमितको मृत्यु भइरहेको छ। तर, पहुँचवालाले भने सहजै आइसियू र भेन्टिलेटर पाइरहेका छन्। पहुचवाला तथा धनीले त महँगो अस्पतालमा समेत उपचार गराउन सक्छन्। सरकारी भने गरिब तथा पहुँच नभएकाहरूका लागि हो। तर, त्यहाँका सबै आइसियू र भेन्टिलेटर भरिभराउ भएको सम्बन्धित अस्पतालको भनाइ छ। 

सरकारसँगै फरक-फरक तथ्यांक



गरिब आइसियू र भेन्टिलेटर खोज्दै ज्यान गुमाउन बाध्य भइरहँदा पहुँचवालाका लागि भने एक कल फोनकै भरमा आइसियू र भेन्टिलेटरको व्यवस्थापन भइरहेको छ। अस्पतालहरूले समेत आफ्ना आइसियू र भेन्टिलेटर लुकाएको पाइएको छ। 

यसको मुख्य प्रमाणको रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयमार्फत निकालेको अस्पताल, बेड, आइसियू भेन्टिलेटरको संख्याले नै देखाउँछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रधानमन्त्री कार्यालयले जारी गरेको तथ्यांकमा आइसियू र भेन्टिलेटरको संख्यामा निकै भिन्नता देखिएको छ। 

स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार देशभर एक हजार ४०६ आइसियू र ५६६ भेन्टिलेटर छन्। तर, प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा भने एक हजार ७१४ आइसियू र ६९२ भेन्टिलेटर छन्। 

प्रधानमन्त्री कार्यालयका प्रवक्ता सह–सचिव किरणराज शर्माले स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक नै सार्वजनिक गरिएको बताए। त्यसो हो भने कसरी झण्डै अढाई सय बेड आइसियू र झण्डै डेढ सय भेन्टिरलेटरको फरक देखियो? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आवश्यकताअनुसार थपघट हुने बताए। 

तथ्यांक नै फरक पर्दा कतै सरकारले नै लुकाएको त छैनन् भन्ने प्रश्न उठेको छ। जवाफमा प्रवक्ता गौतम भन्छन्, ‘दिन–प्रतिदिन थपघट भइरहन्छ। आवश्यकताअनुसार थप्ने काम गरिरहेका छौँ। दिनदिनै हामीले तथ्यांक सार्वजनिक गर्छौं। तथ्यांकमा केही गढबडी भए हामी सच्याउँछौँ।’

शय्या नपाए यी नम्बरमा फोन गर्न सकिने 

आइसियू, भेन्टिलेटर तथा आइसोलेन बेड नपाएको गुनासो दिन–प्रतिदिन बढ्न थालेको छ। त्यसको सहजताका लागि स्वास्थ्य मन्त्रालयले सहजीकरण गर्नेछ। 

मन्त्रालयले कोभिड– १९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्री नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ। 

बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोल फ्री र मोबाइल नम्बरमा सम्पर्क गर्न प्रवक्ता गौतमले आग्रह गरे । ती नम्बरमा २४ घण्टा नै फोन गर्न सकिने उनको भनाइ छ। 

  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १९:३०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया