केपी ओलीविरुद्ध अन्य दलको महागठबन्धन बनेकै हो त ?
उपेन्द्र भन्छन् : अहिले नै त्यसो भन्‍न हतार हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा संसद विघटन गरेपछि देशको राजनीतिक दृश्य दिनदिनै फेरिने गरेको छ। छिनछिनमा हुने उतारचढावपूर्ण राजनीतिक घटनाक्रमले कोरोना महासंकटलाई पनि ओझेलमा पारिरहेको छ।

कोरोनाको महासंकटको बेलामा सबै दलहरु एक भएर लड्नुपर्नेमा सत्ताकै छिनाझपटी अहिले पनि रोकिएको छैन। संघदेखि प्रदेशसम्म सत्ता जोगाउने र ढाल्ने पक्षबीचको घिन लाग्दो राजनीतिक खिचातानीबीच नागरिकले उपचार नपाएर धमाधम ज्यान गुमाइरहेका छन्। 

५ पुस अघिसम्म सत्तारुढ दलको विपक्षमा कांग्रेस थियो तर अहिले अवस्था अर्कै छ। अझ फागुन २३ पछि त प्रधानमन्त्री केपी शर्मा ओली एकातिर छन् भने उनकै वरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य दल विपक्षमा उभिएका छन्।  

फागुन २३ यता ओलीलाई साथ दिइरहेका छन् जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले। नत्र ओलीविरुद्ध अहिले नै विपक्षीहरुले गठबन्धन गरेर राजनीतिक सन्देश दिइसकेका छन्। 
 
अहिले देशको राजनीति प्रधानमन्त्री ओली भर्सेस कांग्रेस, माओवादी केन्द्र, एमालेकै माधव कुमार नेपाल समूह र जसपाका उपेन्द्र-बाबुराम समूह भएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रमले यो कुरा पुष्टि गरेको छ। विस्तारै ओलीलाई घेराबन्दी गरेर गलाउने रणनीतिमा अन्य शक्ति कम्मर कसेर लागेका छन्। 

पछिल्ला घटनाक्रम

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले माधव कुमार नेपाल समूह र जसपाको एउटा धार (उपेन्द्र यादव र बाबुराम भट्टराई) एकै ठाउँ उभिएका छन् ।



६ जेठमा हुन लागेको राष्ट्रिय सभाको सदस्यको उपनिर्वाचनमा यी चार समूह एकै ठाउँमा उभिएका हुन्। राष्ट्रियसभा उपनिर्वाचनमा ओलीविरुद्धको गठबन्धनले संयुक्त उम्मेदवारका रुपमा बागमती प्रदेशमा डा. खिमलाल देवकोटालाई अघि सारेका छन् ।

माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेपछि कारबाहीमा परेर रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद खुस्किएको छ। तर एमाले उनलाई नै राष्ट्रिय सभाको सदस्यको उम्मेदवारको रुपमा अघि सारेको छ। आफूविरुद्ध गठबन्धन भएपछि बादल पनि हच्किएका छन् भने एमालेले पनि अझै केही दिन कुरेर उम्मेदवार टुंग्याउने भएको छ।



प्रधानमन्त्री ओलीले बादललाई राष्ट्रिय सभाको सदस्य उम्मेदवार बनाउने जानकारी १० वैशाखमा गराएपछि उनको विपक्षमा बाँकी सबै दलले साझा उम्मेदवार खडा गरेका हुन्। 

माओवादी केन्द्र छाडेपछि पहिलो पटक बादल सूर्य चिन्हबाट राष्ट्रिय सभामा चुनाव लड्दैछन्। एमाले माधव नेपाल समूहका डा.देवकोटा चाहिँ माओवादी केन्द्रको चिन्ह हँसिया हथौडाबाट प्रतिस्पर्धीको रुपमा उत्रिँदै छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखका लागि विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेपछि यहाँ पनि उनीविरुद्ध घेराबन्दी भइसकेको छ।

ओली विरोधी गठबन्धन

प्रमुख प्रतिपक्षी कांग्रेसले ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ। यसैगरी एमालेको माधव समूहले पनि अधिवेशन अगावै सामूहिक राजीनामा दिने तयारी गरेको छ। जसपाबाट पनि उपेन्द्र-बाबुराम धारले उनको विपक्षमा मतदान गर्ने भएको छ।

तीन दलसँग माधव नेपाल मिलेर बादलविरुद्ध यसरी संयूक्त उम्मेदवारी र प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा एकजुट हुनुलाई निकट भविष्यको राजनीतिक क्षितिजसँग जोडेर हेर्न थालिएको छ ।

अर्थात् विपक्षी दलहरु ओलीको हरेक निर्णयमा उनैलाई घेराबन्दी गरेर असफल बनाउनेतर्फ जुट्दा अर्थपूर्ण मानिएको छ। यसले  अर्को निर्वाचनसम्म पनि यही गठबन्धन कायम रहने संकेत गर्छ। 

‘पछिल्लो समय ओलीविरुद्ध रणनीति बनाउन धेरै बैठक र भेटघाट यी चार समूहले गरिसकेका छन्। निर्णय पनि साझा आइरहेका छन्', एकजना जानकार भन्छन्,‘बाक्लो भेटघाट र साझा निर्णयहरु अचानक तुहिने खालका छैनन्, यसले अर्को निर्वाचनसम्मको गठबन्धनको संकेत गर्छ।'

किन बन्यो,गठबन्धन ?

५ पुसमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको विघटन गरेपछि यो गठबन्धनको बीजारोपण भएको कांग्रेस नेता डा. नारायण खड्का बताउँछन् । प्रधानमन्त्री ओली संसद विघटन गरेर अलोकतान्त्रिक शैलीमा प्रस्तुत हुन थालेपछि लोकतन्त्रको रक्षाको लागि उनको विपक्षमा बाँकी दलहरु एक ठाउँमा उभिएको उनको भनाइ छ । 

संसद विघटन जस्तै मनपरी ढंगबाट विशेष अधिवेशन आह्वान गरेपछि झन् उनले गलत गरेको निष्कर्षसहित ओलीबाहेकका दलहरु एकजुट भएको उनको तर्क छ । 

‘यदि ओलीले अधिवेशन अगावै राजीनामा दिए यो गठबन्धन अर्को सरकार निर्माण नहुञ्जेलसम्म रहिरहन्छ, यही गठबन्धनको नेतृत्वमा पनि अर्को सरकार पनि बन्छ', उनले अगाडि भने। निर्वाचनसम्म गठबन्धन जाला कि भनेर राखिएको प्रश्नमा नेता खड्का भन्छन्, 'त्यो पछिको हो, अहिले नै केही भन्‍न सकिदैन।'

ओलीविरुद्धको महागठबन्धनमा सहयोगीका रुपमा उभिएका जसपा अध्यक्ष उपेन्द्र यादवको पनि प्रतिक्रिया उस्तै छ । उनले ‌ओलीलाई तानाशाह भन्दै लडेरै छाड्ने बताए। 

'देशको पछिल्लो राजनीतिक स्थितिका कारण हामी एक ठाउँमा आएका छौँ', उनले भने, 'एकजुट भएर तानाशाहीविरुद्ध साझा निर्णय गर्दै गलत प्रक्रिया अन्त्यका लागि लडेका हौं।’ तर अहिले नै यसलाई गठबन्धन भन्‍न नमिल्ने उनको तर्क छ।

  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार ७:४४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया