भेरी अस्पतालका 'फ्रन्टलाइनर' : आफैँ संक्रमित तर चिन्ता बिरामीकै

कोरोना भाइरसका संक्रमितहरुले नेपालका प्रायः अस्पताल भरिएका छन् । अस्पतालमा बिरामीका लागि बेड पाउन मुस्किल बन्दै गएको छ । अक्सिजनको अभाव प्राय: अस्पतालहरुमा खड्किएको छ । फ्रन्टलाइनमा खटिने कतिपय स्वास्थ्यकर्मीहरु आफैं संक्रमित हुँदा आइसोलेसनमा बस्न बाध्य छन् । यो महामारीमा कति स्वास्थ्यकर्मी आफ्नो जिउ जोगाउने प्रयासमा छन् त कति अर्काको। 

चिकित्सकदेखि नर्सहरु बिरामीको उपचारका क्रममा आफ्नै ज्यानको बाजी राखेर खटिएका छन् । पछिल्लो दुई सातामा भेरी अस्पतालमा मात्रै ८० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

अवस्था गम्भीर 

भेरी अस्पतालमा १४२ शय्या छन् । कोरोना संक्रमित बढ्दै गएपछि २४० जनासम्म बिरामी भर्ना गरेर उपचारको व्यवस्था मिलाइएको छ । वैशाखको ४ गतेबाटै अस्पताल भरिएको हो । आएका बिरामीलाई सकेसम्म राख्ने नसके घर फर्काउनुको विकल्प नरहेको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट राजन पाण्डे बताउँछन् ।

यसपटक गम्भीर बिरामी मात्रै अस्पतालमा भर्ना हुने हुँदा मृत्यु दर पनि धेरै देखिएको उनको भनाइ छ । दैनिक ६ देखि ८ जनाको मृत्यु हुने गरेको पाण्डेले बताए । उनी भन्छन्, ‘६ वटा शय्या खाली भए २० जना बिरामी पर्खाइमा हुन्छन् ।’ चैतको अन्तिम साताबाट एक्कासि संक्रमितको चाप बढेकाले स्वास्थ्यकर्मीलाई निकै गाह्रो बनाएको उनी बताउँछन् । कोरोनाको दोस्रो लहरका ६०० भन्दा बढी बिरामीको उपचार भेरी अस्पतालमा भइसकेको छ । 



बिरामी हेर्दा नर्स तथा डाक्टर आफैं संक्रमित

बिरामीको उपचार गर्दा गर्दै उपचारार्थ खटिएका नर्स तथा डाक्टरहरु आफैं संक्रमित भएका छन् । संक्रमण भए पनि काम गर्न सक्ने अवस्था रहेसम्म खटिएर काम गरिरहेका छन् । नेपालगञ्जको तातो गर्मी यसै पनि पसिनाले निथ्रुक्क भिजिनेछ । त्यसमाथि पिपिई सुट कतैबाट हावा नछिर्ने । दैनिक सातदेखि आठ घण्टासम्म लगाएर काम गर्दा गुम्सिएर निकै गाह्रो हुने भेरी अञ्चल अस्पतालकी नर्स शीला शर्माले बताइन्।



दुवै लहरको कोरोना आफैंले भोगें

भेरी अञ्चल अस्पतालका प्रमुख कन्सल्टेन्ट राजन पाण्डे दुई पटक कोरोना संक्रमित भइसके । पहिलो पटक ०७७ भदौ ९ गते उनी कोरोना संक्रमित भएका थिए । दोस्रो लहरमा पनि उनी अछुतो रहन सकेनन् । उनी दोस्रो लहरको कोरोना संक्रमण देखिएपछि ६ दिनदेखि घरमा आइसोलेसनमा छन्।

उनले भने, ‘हाम्रो काम अन्य सरकारी कर्मचारीको जस्तो १० देखि ४ बजेसम्म भन्ने हुँदैन । कहिले बिहान ६ बजे गएर खाना नखाई ५ बजेसम्म पनि गरेको छु। आपतकालीन समयमा राति पनि उठेर काममा गएँ ।’ परेका बेलामा २४ सै घण्टा तयार रहेर काम गरेको उनले बताए। 

उनले कोरोनाको दुवै चरणका खोप पनि लगाएका छन् । उनले आफ्नै भोगाइमा पहिलोभन्दा यो भेरियन्ट फरक पाए । उनी भन्छन्, ‘पहिलोपटक कोरोना संक्रमण हुँदा ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने भएको थियो भने यसपालि पनि ती सबै लक्षण त देखिए नै थप पखाला र वान्ता पनि भयो ।’

आइसोलेसनबाट काम गर्दै

उनी घरमा बसे पनि म्यासेन्जर ग्रुपबाट बिरामीको एक्सरे हेर्ने, कुन प्रकारको औषधी कति डोज दिने सम्पूर्ण कुराहरु निरीक्षण गरिरहेका छन् । उनी हाल घरमा बसेको ६ दिन भयो । उनले घरबाट नै सक्दो काम गरिरहेका छन् । अस्पतालमा भएका साथीहरुसँग फोन तथा सोसल मिडियामार्फत कुरा गर्दै बिरामीको उपचारमा संलग्न छन्, डाक्टर राजन । 

उनी दैनिक २५० जना जना बिरामीलाई हेर्थे । छिटो हेरी सक्दा पनि ८ घण्टा लाग्थ्यो । नेपालगञ्जको ४० डिग्रीभन्दा माथिको तापक्रम अनि पिपिई सुटमा बाफिनुको पीडा छुट्टै छ । उनका अनुसार अस्पतालका नर्सहरुले १२ घण्टा सम्म पनि काम गरेका छन् । 

पिपिई सुटमा महिनावारीको पीडा

नेपालगञ्जमा अहिले गर्मी एकदमै छ । पिपिई सुटमा १० देखि १२ घण्टासम्म काम गर्दा निकै गाह्रो भएको महिला नर्सहरु बताउँछन् । भेरी अस्पतालकी नर्स प्रमुख शिला शर्मा भन्छिन्, ‘एकदमै गाह्रो हुन्छ । पिपिई सुट त्यसैमाथि महिनावारी हुँदाको पीडा थपिन्छ । प्याड लगाउँदा एलर्जी पनि हुन्छ ।’ उनका अनुसार महिनावारी हुँदा साथीको पीडा बुझेर आलोपालो गर्दै पिपिई सुट लगाउने गरेका छन् । ‘महिनावारी भएको साथीलाई गाह्रो भएमा पालो गरेर उसको ड्युटी बाहिरको वार्डमा चेन्ज  गर्छौं ।’

मान्छेको लापरबाहीसँगै भेरियन्ट पनि बढी संक्रामक

डाक्टर पाण्डे आफैं पनि अहिले कोरोनाको यो कहर भोगिरहेका छन् । उनका अनुसार यो भेरियन्ट पहिलेको तुलनामा बढी संक्रामक छ । भाइरस संक्रामक हुनु नौलो कुरा होइन । यसपालिको भेरियन्टमा मान्छेको मृत्युदर बढ्नुको कारण भने हाम्रै लापरबाही रहेको उनी बताउँछन् ।  उनी भन्छन्, आफैं स्वास्थ्य हेरचाह गर्ने नाममा नेपालीहरु टाइफाइडको औषधी खाई घरमै बस्ने अनि अन्तिम अवस्थामा अस्पताल आउनाले बिरामीको उपचारमा समस्या हुने गरेको छ । 

अहिलेको कोरोनाले युवा पुस्तामा बढी असर पारेको भन्दा पनि समयमा अस्पताल आइनपुग्नुको कारण युवाको मृत्युदर बढेको उनी बताउँछन् ।

जनसंख्याको आकारले मृत्युदरमा प्रभाव

कोरोनाका कारण हाल नेपालमा ३० देखि ५० उमेर समूहका मान्छेको मृत्युदर बढी रहेको पाइएको छ । डाक्टर पाण्डे भन्छन्, ‘जुन उमेर समूहका मान्छेको जनसंख्या धेरै छ । स्वाभाविक रुपमा मृत्युदर पनि त्यही उमेर समूहका बढी हुन्छन् ।’ कोरोनाको यो भेरियन्ट कुनै उमेर समूहमा कम र कुनैमा बढी संक्रामक नरहेको उनले बताए ।

नेपालमा ३० देखि ५० उमेर समूहका मान्छेको जनसंख्या लगभग आधा छ । (१ करोड १६ लाखभन्दा बढी छ । २०२०-वर्ल्ड मिटर ) यस्तो अवस्थामा संक्रमितको संख्या यो उमेर समूहमा बढी देखिनु सामान्य कुरा हो । यस भाइरसको संक्रमण पछिल्लो वर्षको तुलनामा वृद्धवृद्धालाई कम असरदार देखिएको छ । 

खोपबाट पूर्ण सुरक्षा होइन तर विकल्प पक्कै हो

पहिलो कोरोनाको लहरमा भन्दा यस वर्ष युवा पुस्तामा यो भाइरस संक्रामक देखिनुको अर्को कारण भनेको खोप नलगाउनु पनि हो । यस वर्ष पहिलो लहर पश्चात् नेपाल सरकारले वृद्धवृद्धालाई निःशुल्क कोरोनाको खोप वितरण गर्‍यो तर युवाले त्यो अवसर पाएनन् । डाक्टर राजन पाण्डे भन्छन्, ‘यस वर्ष वृद्धवृद्धामा गम्भीर अवस्थाका बिरामी कम आएका छन् ।’ उनीहरुले कोरोनाको खोप लगाएकाले चिन्ताजनक अवस्थासम्म नपुगेको उनले बताए । 

अहिले सामान्य लक्षण देखिने बित्तिकै अस्पताल गएर कोरोना परीक्षण गराउनु पर्ने कुरामा उनले जोड दिए । अहिलेका बिरामी बढी चिन्ताजनक अवस्थामा मात्र अस्पताल आउँछन् । पहिलेका बिरामीमा १० प्रतिशतलाई मात्र अक्सिजनको आवश्यकता पर्थ्यो । अहिलेका बिरामी ९९ प्रतिशतलाई अक्सिजन दिनुपर्ने तथा १० प्रतिशतलाई त भेन्टिलेटरमा नै राख्नुपर्ने अवस्था आउनाले व्यवस्थापनमा समस्या आएको डाक्टर पाण्डेले बताए । 

  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १५:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया