महामारीको मारमा अपांगता भएका नागरिक

विश्व यति बेला  कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले पुरै विश्वलाई नै नराम्रो गरी प्रभाव पारेको छ ।

विकसित भनिएका इटाली, स्पेन, बेलायत, अमेरिका, ब्राजिल लगायतका देशमा हजारौं  मानिस मरे ।  छिमेकी मुलुक भारतमा अहिले पनि दैनिक हजारौँ मानिस मरिरहेका छन् ।

हालसम्म विश्वमा कोरोना भाइरसबाट  ३२ लाख ५० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने १५ करोड ५० लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । नेपालमा पनि कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र गतिले बढिरहेको सूचना सञ्चारमाध्यमले बताइरहेका छन् । हालसम्म नेपालमा भाइरसबाट ३ हजार ५७९ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसको जोखिममा उमेर, लिंग, धनी, गरिब जो कोही पनि पर्न सक्छ ।  तर पनि विपत र संकटको समयमा केही समूह अलि बढी जोखिममा पर्दछन् । 
बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त, दीर्घरोगी बिरामी, गर्भवती तथा सुत्केरी र शिशु समेत जोखिममा पर्दछन् । यसका साथै दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर, अरूको सहायतामा बाँचेकाहरू, सुकुम्बासी वस्ती, यौनिक तथा लैंगिक अल्पसंख्यक साथै सडकमा जीवन व्यतित गर्न बाध्य समूह, घरभाडामा बस्नेलाई विशेष जोखिम समूहको रूपमा लिनुपर्ने हुन्छ । 

तसर्थ यस्ता समूह र व्यक्तिलाई मध्यनजर गरी सरकारले अत्यावश्यक सेवा प्रदान गरी उनीहरूले थप पीडित हुन नपरोस् भन्ने  हेतुले विशेष संयन्त्र निर्माण गर्नुपर्ने आवश्यक देखिएको छ । यसमा स्वास्थ्य सेवा सहितको  राहत प्याकेज कार्यक्रम पनि राखिनु पर्दछ । 

नेपाल सरकार संघीय सरकार (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय), प्रदेश सरकार र केही स्थानीय तहले कोरोना भाइरस नियन्त्रणका लागि गरेका प्रयास सराहनीय रहेका छन् । नेपाल सरकारले चालेका कदमलाई सफल पार्न हामी नागरिक समाज, संघ संस्था र व्यक्ति समेतको दायित्व हुन आउँछ ।



सर्वव्यापी स्वास्थ्य अधिकार र सुरक्षित रूपमा जीवन बाँच्न पाउने मानव अधिकार हो भन्ने कुरामा दृढ विश्वास लिइ कोभिडको महामारी विरुद्ध लड्दै गर्दा मानव अधिकारका विश्वव्यापी सिद्धान्त, मौलिक अधिकारको रक्षा र परिपूर्ति गर्ने कुरामा सरकार संवेदनशील बनिरहनु पर्ने कुराको ध्यानाकर्षण हुनुपर्छ । 

यसै सन्दर्भमा नेपाल सरकारले निषेधाज्ञाको समयलाई अझै लम्ब्याउने भन्ने सूचना पनि जारी गरिसकेको र यो अवस्था कहिलेसम्म अगाडि जान सक्छ भन्ने कुरा कसैलाई पनि थाहा नभएको हुँदा माथि उल्लेखित जोखिममा परेका समूह र अझै बढी अपांगता भएका व्यक्ति समस्यामा रहेका छन् भन्ने कुरालाई ध्यानमा राखी उक्त समूह र व्यक्तिको पहिचान गरी यथाशीघ्र स्वास्थ्य चेकजाँच  कार्यक्रम लागु गर्नु अत्यावश्यक भएको छ । 



यसका लागि नेपाल सरकारका तिनै तह संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवालाले   क्वारेन्टाइन निर्माण गर्दा र आइसोलेसन बेड तयार गर्दा अपांगता मैत्री, लैंगिक मैत्री र समावेशितामा ध्यान दिइ उपयुक्त ठाउँको समेत छनौट गरी देशैभरि एकै मापदण्ड बनाइ पहुँच युक्त निर्माण गरिनु पर्दछ ।

अपांगता भएका व्यक्ति र लैंगिक हिंसा प्रभावित महिलाका लागि सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएका पुनः स्थापना केन्द्रको लेखाजोखा गरी खोप प्याकेज घोषणा गरिनु पर्ने, अपांगता भएका महिलाका यौन तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित आवश्यकता जस्तै– स्यानीटरी प्याड, स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिका लागि क्याथेडर, डाइपर आदि उपलब्ध गराइनु पर्दछ । 

यो जटिल अवस्थामा यातायात र हिँडडुल गर्न नपाउने र औषधि पसलसम्म पुग्न कठिन भएको अवस्थाका साथै भोकै मर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय तहले लेखाजोखा राखी सेवा पुर्याउनु पर्दछ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपांगता भएका व्यक्तिलाई अप्ठ्यारो परेको खण्डमा तुरुन्त सूचना प्राप्त गर्न सकियोस भनेर सूचना केन्द्र डेस्क तोकी समन्वय गरिनुका साथै सूचनाका सामग्रीलाई सांकेतिक भाषा मार्फत् र ब्रेल लगायत सहज पहुँच पुर्याउन नीतिगत निर्णय गरिनु पर्ने, प्रत्येक क्वारेन्टाइनमा बहिरा तथा सुस्त श्रवण व्यक्तिलाई सहज सञ्चार गर्न सांकेतिक भाषा र नोटटेकर तथा सूचना क्याम्पसन मार्फत् गर्ने व्यवस्था गरिनु पर्दछ ।

यसका साथै उक्त स्थानमा आवश्यकता अनुसार सहयोगी सेवा सहायक सामग्री जस्तैः ह्वीलचियर, सेतो छडी, बैसाखी, वाकर लगायतको व्यवस्था गरिनु पर्ने, गर्भवती महिलाको तथ्यांक राखी डेलिभरी गराउने समयमा अस्पतालसम्म सहज पहुँच र सेवा पाउने व्यवस्था गरिनु पर्दछ ।

ज्येष्ठ नागरिक होम, बालगृह, सुधार गृह, हिंसा प्रभावित महिलाका लागि संचालित  सुरक्षित बासको तथ्यांक राखी उनीहरू लक्षित कार्यक्रम ल्याइनुपर्ने, अपांगता भएका व्यक्ति जो पूर्ण अशक्त, अति अशक्त, र हिँडडुल गर्न कठिन भएका, स्वावलम्वी जीवन व्यतित गरिरहेका र अन्य अवस्थामा सहयोगीको सहायताले जीवन चलाउने तर लकडाउनको कारण सहयोगीको अभावमा एक्लै कोठामा बस्न बाध्य भएकाको तथ्यांक राखी उनीहरूसम्म सेवा पुर्याउनु पर्ने, अपांगतामा पनि बौद्धिक अपांगता, अटिजम तथा तीव्र मनोसामाजिक समस्या भोगिरहेका व्यक्ति,  महिला तथा बालबालिकाको यकिन तथ्यांक राखी उनीहरूका अभिभावक,संरक्षक तथा सहयोगीलाई मनोवल उच्च राख्न र सहयोग गर्न सम्पर्क स्थापित गर्ने कार्यक्रम ल्याइनु पर्दछ ।

अपांगता भएका व्यक्ति लगायतका निरक्षर जो दुर्गममा बसोबास गर्नु हुन्छ टेलिफोन, इन्टरनेट लगायतका संचारमाध्यमका साथै स्थानीय भाषा र सांकेतिक भाषा दोभाषेको पहुँचमा नहुनेसम्म पुग्न र उनीहरूलाई परेको समस्या बुझेर समाधान गर्न स्थानीय तह र तत् स्थानमा रहनु हुने संघसंस्था, संजालको समन्वय गर्न सहयोग समिति गठन गरिनु पर्दछ ।

लकडाउनका समयमा क्वारेन्टाइन बाहेक अन्य रोग लागेका, अचानक दुर्घटना या नियमित डाक्टरको निगरानीमा रहेकाहरूका लागि निजी तथा सरकारी
अस्पतालमा निरन्तर रूपमा सेवा पाउने व्यवस्था गरिनु पर्ने नत्र अस्पतालको सेवा पाउन नसकी र मानसिक पीडाको कारण थप बिरामीको वृद्धि हुन सक्ने अवस्थालाई मध्यनजर गरी संयन्त्रहरुको स्थापना गरिनु, अपांगता भएका व्यक्तिले प्रयोग गरिरहेका सहायक सामग्रीको उपलब्धता र मर्मत गर्नु पर्ने अवस्थामा समस्या परिरहेको हुँदा उक्त समस्या समाधानका लागि सुरक्षा निकाय र स्वयंसेवकले यस विषयमा जानकारी राखी मर्मत केन्द्रसम्म पहुँच वृद्धि गरिदिनु पर्दछ ।

अटिजम तथा तीव्र मनोसामाजिक समस्या भोगिरहेका व्यक्ति, महिला तथा बालबालिकाको यकिन तथ्यांक राखी उनीहरूका अभिभावक, संरक्षक तथा सहयोगीलाई मनोबल उच्च राख्न र सहयोग गर्न सम्पर्क स्थापित गर्नु पर्दछ ।

विपद् र संकटको समयमा अवश्य पनि केही समूह अरूभन्दा बढी जोखिममा पर्दछन् भन्ने कुराका हेक्का राखिनु पर्दछ । बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका नागरिक, अशक्त दीर्घरोगी बिरामी, गर्भवती तथा सुत्केरी महिला र शिशु समेत आदि पर्दछन् ।

यस्तै दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर, अरूको सहायतामा बाँचेका, सुकुम्बासी वस्ती, यौनिक तथा लैंगिक अल्पसंख्यकको ज्यान बचाउनु राज्यको दायित्व हो ।

कोरोना महामारीविरुद्ध अपांगता पूर्व सतर्कता सम्बन्धी जानकारी :

१. सकेसम्म कम हिँडडुल गर्ने, अनावश्यक भिडभाडमा नजाने ।
२. बेलाबेलामा साबुनपानीले हात धुने, हाँछ्यु गर्दा वा खोक्दा रुमालले मुख छोप्ने ।
३. व्यक्तिगत सहयोगी वा हेरचाह गर्ने व्यक्तिले अनिवार्य मास्क लगाउने र बारम्बार साबुनपानीले हात धुने ।
४. सहायक सामग्रीको नियमित सरसफाइ र स्यानिटाइज गर्ने ।
८ व्यक्तिगत सहयोगी वा अपांगता भएको व्यक्तिमा समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिने ।
९. आवश्यक सामग्री चाहिएमा परिवार वा जनप्रतिनिधिको सहयोग लिने ।
१०. परिवारका सबै सदस्यले सेवा प्रदायक संघसंस्थाको नेटवर्कबारे जानकारी लिइ राख्ने ।
११. नजिकको एम्बुलेन्स सेवा सम्बन्धी जानकारी राख्ने ।

अपांगता क्षेत्रमा काम गर्ने संघसस्थाको भूमिका:

१. लकडाउनको समयमा नजिकको अपांगता भएको व्यक्तिलाई सहयोग गर्ने ।
२. सार्वजनिक सेवा उपयोगमा प्राथमिकता दिने सरकारी निकायसँग समन्वय बढाउने ।
३. कोभिडसम्बन्धी आधिकारिक सूचना अपांगता भएका व्यक्तिसमक्ष पुर्‍याउने ।
४. अपांगता भएको व्यक्तिलाई संक्रमण देखिएमा स्वास्थकर्मीको पहुँचमा पुर्‍याउन पहल गर्ने ।
५. लकडाउनको समयमा अपांगता भएका व्यक्तिको सेवा सुविधामा पहुँच पुर्याउन सहयोग गर्ने ।
६. सरकारले ल्याउने राहतको कार्यक्रम अपांगता समावेशी बनाउन सहजकर्ताको भूमिका खेल्ने ।
७. सञ्चारमाध्यमको सहायताले अपांगताको अवस्थाबारे जानकारी लिइ रहने ।
८. कोरोना भाइरसको संक्रमणबाट बच्न आधिकारिक सूचना अपाङ्गता मैत्री बनाउन र जानकारी आदानप्रदान गर्नु ।
९. अपांगता भएका व्यक्तिलाई अपाङ्गता भएकै कारण उपचार सेवा सुविधामा विभेद हुन नदिन वकालत गर्ने ।

स्वास्थकर्मीको भूमिका:

१.परीक्षण तथा उपचार सेवा पहुँचयुक्त बनाउने ।
२. अपांगता भएको व्यक्तिको अवस्थाअनुसार संचार र व्यवहार गर्ने ।
३. स्वास्थ्यसम्बन्धी जानकारी लिखित, मौखिक तथापहुँचयुक्त संरचनामा प्रकाशन गर्न उपयुक्त संचार विधि अपनाउने ।
४. पहुँचयुक्त क्वारेन्टाइन र आइसोलेसन निर्माण गरी आवश्यक मनोसामाजिक सेवा सुविधा उपलब्ध गराउने ।

सरकारको भूमिका र दायित्व:

१. कोरोना भाइरसको संक्रमणबाट बच्न सबैको पहुँच हुने गरी सूचना प्रवाह गर्ने ।
२. पहुँचयुक्त क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाउने र आवश्यक सेवा सुविधा उपलब्ध गराउने ।
३. अपांगता भएको व्यक्तिले निरन्तर प्रयोग गर्ने औषधि, स्वास्थ सम्बन्धी उपकरण र सहयोग सामग्री को व्यवस्था गर्ने ।
४.आइसोलेसन वा क्वारेन्टिनमा आवश्यक पर्ने व्यक्तिगत सहयोगी र सांकेतिक दोभासे लगायतको सेवा सुविधा उपलब्ध गराउने ।
५. लकडाउनको समयमा घरमा वा संघसंस्थामा अपांगता भएको व्यक्तिमाथि हुने सम्भावित हिंसा र दुव्र्यवहार हुन नदिन विशेष सतर्कता अपनाउने ।

  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार १९:२४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया