सर्लाहीमा शनिबार रातिदेखि एक साता निषेधाज्ञा

कोरोना संक्रमणको दोस्रो भेरियन्ट तीव्र रुपमा फैलिँदै गएपछि प्रदेश २ को सर्लाही जिल्लामा पनि निषेधाज्ञा लगाउने निर्णय गरिएको छ । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको गति जिल्लाको विभिन्न स्थानमा बढ्दै गइरहेकाले शनिबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरिएको जानकारी दिए । 

जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सर्लाहीको शुक्रबारको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को उपदफा (३) र संक्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको प्रजिअ तामाङले बताए ।  

निषेधाज्ञा अवधिमा सार्वजनिक यातायात, निजी सवारी साधनमा रोक लगाइएको छ । यस अवधिमा एम्बुलेन्स, शववाहन, खाद्य सामग्रीको ढुवानी गर्ने सवारी साधन, सरकारी नम्बर प्लेटको सवारी साधन, झण्डाबाहक सवारी, कूटनीतिक नियोगको सवारी, प्रेस पास प्राप्त सवारी साधन मात्र चलाउन पाउने भएका छन् ।  

बैठकले निषेधाज्ञाको अवधिमा रेस्टुरेन्ट, ब्युटीपार्लर, कपडा पसल, सैलुन, जिमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर र अन्य सबै पसल खोल्न रोक लगाएको छ । त्यस्तै अत्यावश्यक सार्वजनिक सेवा, बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, क्लिनिक, अस्पताल र औषधिजन्य पसल, पेट्रोल पम्प खोल्न दिने निर्णय गरेको छ । 

खाद्यान्न, फलफूल तरकारी, दूध डेरी, ग्याँस पसललाई बिहान ७ बजे देखि १० बजेसम्म मात्र खुल्न दिने निर्णय भएको प्रजिअ तामाङले बताए । 



निषेधाज्ञामा विवाह व्रतबन्ध, न्वारन, मृत्यु संस्कार लगायतका कार्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिक कायम गरी बढीमा १५ जनालाई उपस्थित हुन दिने निर्णय भएको हो ।



  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १७:५१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया