सरकारले राष्ट्रसंघलाई भन्यो : कोरोनाको खोप छिटो उपलब्ध गराइदिनू

सरकारले संयुक्त राष्ट्र संघसँग कोरोनाविरुद्धको खोप छिटो भन्दा छिटो उपलब्ध गराइदिन आग्रह गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने कोभिड–१९ विरुद्धको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई आग्रह गरेका छन्। 

नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग शुक्रबार टेलिफोन कुराकानीका क्रममा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट पाउने को-भ्याक्स अन्तरगतको खोप छिटो ल्याउन सहजीकरण गरिदिन भनेका हुन्। 

‘भाइरस फैलावट रोक्ने एउटै उपाय खोप हो, नेपालले कोभ्याक्स अन्तरगत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेको छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि पूर्वाधार र विज्ञ जनशक्ति पनि नेपालले अपेक्षा गरेको छ ।’

नेपालीहरुलाई खोप सुविधा उपलब्ध गराउन सरकारले कूटनीतिक पहल गरिरहेको उपप्रधानमन्त्री पोखरेलले बताए। ‘कोरोनाविरुद्धको खोप विश्वकै नागरिकको सार्वजनिक चासोको वस्तु हो भन्‍ने हामी विश्वास गर्छौ', उनले भने, 'खोप कुन देशको हो भन्‍ने कुराले मानवीय ऐक्यबद्धतालाई असर गर्नुहुँदैन।’

राष्ट्रसंघकी नेपालस्थित संयोजक साराले जवाफमा आफ्नातर्फबाट खोप ल्याउन सक्दो सहयोग गर्ने बताइन्। उनले नेपाललाई सहयोगका लागि आवश्यक छलफल गर्न छिट्टै उपप्रधानमन्त्री पोखरेललाई भेट्ने बताइन्। 

कोभ्याक्स अन्तरगत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्छ। तर अहिलेसम्म ३ लाख ४८ हजार डोजमात्र प्राप्त गरेको छ । नेपाल सरकारले खरिद गरेको २० लाखमध्ये १० लाख डोज आइसकेको छ। बाँकी १० लाख डोज आउन बाँकी छ ।



नेपालले भारत सरकारबाट १० लाख डोज, भारतीय सेनामार्फत नेपाली सेनालाई १ लाख डोज र चीनबाट ८ लाख डोज खोप ल्याइसकेको अवस्था छ। पछिल्लो पटक खोप ल्याउन कमिसनको चलखेल भएपछि ढिला हुँदै गएको छ। थप खोप नआउँद नेपालमा खोप अभियान नै रोकिएको छ। 



  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार २१:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया