गगन थापा अहिले स्वास्थ्य मन्त्री भएको भए के गर्थे ?
महामारी नियन्त्रणमा यस्ता छन् उनका योजना

नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकार कोरोना नियन्त्रणबाट पाइला पाइलामा चुकिरहेको बताएका छन्। स्वास्थ्य मन्त्रीका रुपमा काम गरेर नीति निर्माणमा अनुभव लिइसकेका उनले वर्तमान स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीको कार्यशैली नै बेठीक रहेको बताए। 

उनले यस्तो महामारीका बेला स्वास्थ्य मन्त्रीले एउटा अस्पताल र अक्सिजनबारे डिल गर्दै बस्नु अनुचित रहेको पनि तर्क गरेका छन्। 'अहिले म स्वास्थ्य मन्त्री भएको भए नीतिगत तहमा काम गर्थेँ', उनले भने, 'स्वास्थ्य भनेको त सिस्टम पनि हो। आज एउटा अस्पताल र अक्सिजनबारे डिल गर्ने, भोलि अर्कोमा डिल गर्ने भन्दा म भएको भए सिस्टम बनाउँथे। त्यही कुरामा अहिले स्वास्थ्य मन्त्रालय चुकिरहेको छ।'

उनले कोरोना महामारी नियन्त्रण अभियानमा संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई परिचालन गर्नै नसकेको बताए। 'यदि म स्वास्थ्य मन्त्री भएको भए सात सय ५३ वटै स्थानीय तहलाई कोरोनाविरुद्धको लडाइँमा सँगै लडाइँमा उतार्थेँ', उनले भने, 'स्वास्थ्यले यसमा काम गर्नुपर्थ्यो। तर अहिले न प्रदेशसँग समन्वय छ न स्थानीय तहलाई नै सरकारले परिचालन गर्न सकेको छ। पाइला पाइलामा चुकिरहेको छ।'

यो संकट आउने बुझिसकेपछि सरकारले श्रमिक, ज्यालादारी मजदुरका लागि कम्तीमा दुई-अढाई महिनाका लागि विशेष व्यवस्था गर्नुपर्ने उनले बताए। 'संकट आउने बुझिसकेपछि तयारी थाल्नुपर्थ्यो। कम्तीमा २ अढाई महिना लकडाउन जान्छ भने ज्यालादारी र श्रमिकलाई सम्बोधन गर्नुपर्थ्यो', उनले अगाडि थपे।

उनले महामारी आइसकेपछि आइसियु र भेन्टिलेटर थपेर पार नलाग्ने बताए। 'संक्रमित भएको व्यक्ति चिकित्सकको आवश्यक निगरानी अभावमा तनावले पनि अस्पताल आएको छ', उनले भने, 'तर अरु गम्भीर बिरामीले उपचार पाइरहेका छैनन्। यस्तोमा भेन्टिलेटर थपेर, आइसियु थप्ने भनेर मात्रै कोरोनाविरुद्धको युद्ध जितिँदैन।'



उनले यसको विकल्पमा कमभन्दा कम मानिसलाई संक्रमित हुन दिने उपाय लगाउन जरुरी पर्ने बताए। 'म यदि स्वास्थ्य मन्त्री भएको भए कमभन्दा कम मानिसलाई संक्रमित हुन दिने गरी योजना बनाउँथे', उनले थपे, 'कम भन्दा कमलाई संक्रमित हुने अवस्था ल्याउन मानिसहरुलाई घरमा राख्‍ने रणनीति चाहिन्थ्यो, जुन अहिले भएन। घरमा बसेको मान्छेले सही सूचना नपाउँदा तनाव भएर अस्पताल गएको छ। घरमै राम्रो परामर्श दिएर होल्ड गर्न सकेको भए यस्तो आपत् आउने थिएन।



महामारीविरुद्ध व्यवस्थित योजना बनाएको भए अहिले जसरी सरकार थाक्ने अवस्था नआउने उनले बताए। 'कोरोनाविरुद्ध व्यवस्थित योजना बनाएको भए यति चाँडै सरकार थाक्नुपर्ने थिएन', उनले भने, 'अहिले नै सरकारले उपचार गर्न सक्दिनँ भनेर हात उठाउने अवस्था आउने थिएन।'

  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार १९:२७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया