देउवालाई ठाकुरले भने : जसपा तटस्थ बस्छ, ओली हटाएर अर्को सरकार बन्दैन
सबै मिलेर चुनावी माहोल बनाउन आग्रह

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा तीनवटा सन्देश छाडेर बाहिरिएका छन्। 

आइतवार बिहान देउवा निवास बूढानीलकण्ठमा भएको डेढ घण्टा लामो वार्तामा अध्यक्ष ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन जसपाले कुनै पनि निर्णय नगरेको जानकारी दिएका छन्। 

दुवै नेताले प्रमुख प्रतिपक्षी दललाई अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिएर जानु उचित हुने बताएका छन्। महतो र ठाकुरले जसपा अध्यक्षहरू उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईको निर्णय पार्टीको नभई व्यक्तिगत भएकाले उनीहरुको कुरामा भ्रमित नपर्न पनि देउवालाई सुझाएका छन्। 

'प्रधानमन्त्री ओलीले भोलि संसदबाट विश्वासको मत लिने क्रममा जसपा तटस्थ रहन्छ, हामी अहिले सरकार फेरबदलको खेलमा पर्दैनौँ, त्यस्तो निर्णय पनि जसपाले गरेको छैन', ठाकुरको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, 'तपाईंहरु पनि अहिले उपन्द्रजीको कुरामा लागेर भ्रममा नपर्नुस्। हामी संसदमा तटस्थ बस्छौँ। सरकार ढाल्ने बनाउने खेलमा जसपामा लाग्नेवाला छैन।'

अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले ओलीलाई हटाएर अहिले नै वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको पनि देउवालाई बताएका छन्। 'अहिले नै वैकल्पिक सरकारको कुनै सम्भावना छैन', ठाकुरनिकट स्रोतले देउवासँगको भनाइ उद्धृत गर्दै अगाडि भन्यो, 'उपेन्द्रजीले भनेका कुराहरु व्यक्तिगत हुन्। जसपाले अहिले कसैको पक्ष विपक्षमा उभिने गरी कुनै निर्णय लिएको छैन र तत्कालै लिँदैन।'

ठाकुरले जसपा तटस्थ बसेपछि देश निर्वाचनतर्फ जाने सन्देश देउवालाई दिएका छन्। उनले अब सबै मिलेर निर्वाचनतर्फ जानुको विकल्प नरहेको पनि बताएका छन्। 'अबको राजनीतिक निकास भनेकै निर्वाचन हो', ठाकुरले देउवालाई भने, 'संसदले वैकल्पिक सरकार बनाउन नसक्ने भएकाले अब सबै मिलेर निर्वाचनको माहोल बनाऔं।'



ठाकुरले आजको छलफलमा देउवालाई जसपाले कांग्रेसले अघि बढाउने अविश्वासको प्रस्तावमा पनि साथ नदिने बताएका छन्। ‘तपाईंले ओलीविरुद्ध अविश्वास प्रस्ताव लैजान लाग्नुभएको हो भने त्यसमा  हाम्रो समर्थन हुने छैन,’ ठाकुरले देउवालाई भने, 'हामी सरकार फेरबदलको कुनै पनि खेलमा तत्काल सहभागी हुन सक्दैनौँ।'

पछिल्लो समय ओलीलाई घेर्ने नाममा एमालेकै माधवकुमार नेपाल समूहसहित कांग्रेस, माओवादी केन्द्र, जसपाका यादव र भट्टराई पक्षबीच छलफल भइरहेको छ। त्यही छलफलपछि सरकारविरुद्ध अविश्वास लैजाने चर्चा भए पनि कांग्रेसले हिजो दलको बैठकमा कुनै निर्णय गरेन। 



जसपाका दुई नेता देउवासँग डेढ घण्टा लामो छलफलपछि बूढानीलकण्ठबाट प्रधानमन्त्री ओलीसँग छलफल गर्न सिधै बालुवाटार पुगेका छन्। जसपा तटस्थ बसेको अवस्थामा संसदमा सत्ता र प्रतिपक्ष दुवैको बहुमत नपुगेर देश चुनावतिर जाने अवस्था घटनाक्रमले देखाएको छ। 

  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार ११:५१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया