काठमाडौं : नेकपा एमाले माधव नेपाल समूहकी सांसद गंगा चौधरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएकी छन्। फरकधारसँग आइतबार दिउँसो कुराकानी गर्दै उनले आफू एमालेको मूलधारमा रहने बताएकी हुन् ।
एमालेभित्र बढेको अन्तसंघर्षका कारण नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी भइरहेका बेला सांसदहरुले कित्ता क्लियर गर्न थालेका हुन्।
राजीनामा दिनेको सूचीमा चौधरीको पनि नाम नेपाल समूहले राखेको छ। तर, चौधरी स्वयम् आफूसँग सामूहिक राजीनामाबारे कुनै राय पनि नलिइएको र राजीनामा दिनुपर्छ नभनेको बताउँछिन् ।
‘सामूहिक राजीनामा भनेर हाम्रो नाम पनि जोडिएको छ', उनले भनिन्,'हामीसँग कसैले राय पनि मागेको छैन, कसैले राजीनामा दिनुपर्छ भनेको पनि छैन।’
दाङबाट निर्वाचित सांसद चौधरीले सामूहिक राजीनामा दिएर पार्टीलाई धरापमा पार्ने सबैभन्दा ठूलो अपराध हुने पनि बताइन् । ‘राजीनामा दिएर पार्टीलाई धरापमा पार्ने यो सबैभन्दा ठूलो अपराध हुन जान्छ', उनले भनिन्, 'त्यसकारण यस्तो अन्तर्घात कसैले पनि गर्न हुँदैन। कसैले पनि राजीनामा दिन हुँदैन।’
यसअघि पनि आफूले नेकपा फुट्नु हुँदैन भनेर एकताकै पक्षमा आवाज उठाउँदै आएको उनले स्मरण गरिन्। ‘यसभन्दा पहिलो पनि गंगा चौधरीले नेकपा फुट्न हुँदैन भनेर एकताकै पक्षमा आवाज उठाउँदै आइरहेको छ', उनले थपिन्, 'अहिले पनि एमाले फुट्नु हुँदैन, जोगाउन पर्छ, शीर्ष नेताहरु मिलेर जानुपर्छ, सांसदहरुले राजीनामा दियो भने फाइदा के ? केही देखिँदैन।’
विश्वासको मत दिन्छु
सांसद चौधरीले कुनै एउटा व्यक्तिको स्वार्थका निम्ति संसदलाई अनिर्णयको बन्दी बनाउन नहुने बताइन् । 'कुनै एउटा व्यक्तिको स्वार्थका निम्ति, राजनीतिक किचलोको कारण संसदलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, त्यसो गर्न पनि हुँदैन', उनले भनिन्, 'मेरो धारणा यही हो कि पार्टी जोगाउनुपर्छ, एमाले कुनै पनि हालतमा फुट्नु हुँदैन।’
‘नेपाल समूहका सांसदले सामूहिक राजीनामा बुझाउनुभयो भने तपाईंको निर्णय के हुन्छ ?’ भन्ने फरकधारको प्रश्नमा भनिन्, ‘म त दिँदैन। राजीनामा किन दिने कसको लागि दिने ? कुनै एउटा व्यक्तिका लागि गंगा चौधरी सती जान सक्दैन । म एमाले जोगाउने पक्षमा हुन्छु, मूलधारतिरै हुन्छु र जे भए पनि पार्टी जोगाउनेतिर लाग्छु ।’
‘यसको मतलब तपाईंले प्रधानमन्त्रीलाई भोलि विश्वासको मत दिनुहुन्छ ?’ भन्ने फरकधारको प्रश्न भुइँमा खस्न नपाउँदै चौधरीले भनिन्, ‘म विश्वासको मत दिन्छु । म त सर्वोच्च अदालतले फैसला गरिसकेपछि एमाले जोगाउनुपर्छ, एकता हुनुपर्छ भन्ने लाइनको मान्छे हुँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।