महन्थले प्रधानमन्त्रीलाई भने : विश्‍वासको मत दिन सक्दैनौँ, संसदमा तटस्थ बस्छौँ
अझै पनि मु्द्दा फिर्ता नभइसकेको गुनासो

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर भोलि हुने संसदको विशेष अधिवेशनमा विश्वासको मत दिन नसक्ने बताएका छन्। 

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बूढानीलकण्ठमा भेटेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले जसपाले सरकारलाई विश्वासको मत नदिने बताएर हिँडेका हुन्। 

आफूहरुको माग अझै पूरा भइनसकेको भन्दै ठाकुर र महतोले विश्वासको मत दिन नसक्ने जानकारी ओलीलाई दिएका हुन् । ‘हामी विपक्षमा पनि मत दिँदैछौँ, तटस्थ बस्छौँ,’ ओलीसँग ठाकुर भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, 'हामी सरकार फेरबदलको चक्करमा पर्दैनौँ, तपाईंले हाम्रा माग पूरा नगरेकाले संसदमा हामी तटस्थ भूमिकामा हुनेछौँ।'

भेटका क्रममा नेताद्वयले मधेस आन्दोलनका क्रममा आफ्ना नेता-कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता प्रक्रियाबारेमा प्रधानमन्त्रीसँग जवाफ खोजेका थिए । प्रधानमन्त्री ओलीले केही मुद्दा अदालतको अनुमतिमा मात्रै फिर्ता गर्न मिल्ने भएकाले समय लागेको बताएका थिए।

सरकारले एक साताअघि मात्रै जसपाका १२० जना नेता कार्यकर्ताविरुद्ध लगाइएका १५ वटा मुद्दा फिर्ता गरेको थियो।  तर जसपाले टीकापुर नरसंहारमा मुछिएका निलम्बित सांसद रेशम चौधरीसहित जेलमा रहेका थरूहटका नेताहरुको मुद्दा पनि फिर्ता लिनुपर्ने अडान लिएका छन्। 



यसअघि जसपाका दुई नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा तीनवटा सन्देश छाडेर बाहिरिएका थिए। आइतवार बिहान देउवा निवास बूढानीलकण्ठमा भएको डेढ घण्टा लामो वार्तामा अध्यक्ष ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन जसपाले कुनै पनि निर्णय नगरेको जानकारी दिएका थिए।

दुवै नेताले प्रमुख प्रतिपक्षी दललाई अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिएर जानु उचित हुने बताएका थिए। महतो र ठाकुरले जसपा अध्यक्षहरू उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईको निर्णय पार्टीको नभई व्यक्तिगत भएकाले उनीहरुको कुरामा भ्रमित नपर्न पनि देउवालाई सुझाएका थिए।



  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १३:२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया