सर्वसाधारणलाई घरबाट निस्किन निषेध, कोरोना लागेका सांसदलाई भोट हाल्ने सुविधा
अहिलेसम्म २६ सांसदमा कोरोना पुष्टि

सरकारले कोरोना संक्रमित सर्वसाधारणलाई होम आइसोलेसनमै बस्न कडा नियम तोकेको छ। कन्ट्याक्ट ट्रेसिङमा परेका सर्वसाधारणलाई पनि घरबाहिर जान नदिने नीति सरकारको छ। 

यदि त्यसो गरेमा जरिवानादेखि कारबाहीसम्मको नीति सरकारले बनाएको छ। तर पहुँचवाला र नेताहरुका लागि अलग्गै नियम त्यही सरकारले बनाएको छ। जबकि संक्रमित सांसदहरुले घर बाहिर निस्किन त परको कुरा एउटा कोठाबाट अर्को कोठामा जाँदा पनि ख्याल गर्नुपर्छ।

यसको उदाहरण संघीय संसदलाई लिन सकिन्छ। भोलि प्रधानमन्त्रीले विश्वासको मत लिँदा कोरोना संक्रमित सांसदले पनि भोट हाल्न पाउने नियम संघीय संसदको कार्यव्यवस्था परामर्श समितिले बनाएको हो। 

संसद सचिवालयले कोरोना पोजिटिभ देखिएका सांसदहरुलाई पनि प्रतिनिधिसभाको मतदान प्रक्रियामा सहभागी गराउने निर्णय लिएको हो। प्रधानमन्त्री ओलीले विश्वासको मत लिन भोलि डाकिएको संसद बैठकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर संक्रमित सांसदहरुलाई मतदानमा सहभागी गराइने सचिवालयले जनाएको छ।

कोरोना संक्रमण देखिएका सांसदहरुलाई कसरी मतदान प्रक्रियामा सहभागी गराउने गरी निर्णय भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन्। 

पाण्डेले कोरोना लागेका सांसदहरुलाई पनि मतदानको अधिकारबाट बन्चित गराउनु नहुने सैद्धान्तिक कोणबाट छलफल भएर निचोड निकालिएको बताए। आज दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदलाई पनि विश्वासको मत दिने निर्णय गरेको उनले बताए।



‘कोरोना देखिएका माननीयज्यूहरुलाई पनि मतदानको प्रक्रियामा सहभागी गराउनुपर्छ भन्ने सैद्धान्तिक सहमति छ । प्राविधिक तयारी गर्दैछौँ', उनले भने। 

अहिलेसम्म सरकारका चार मन्त्रीसहित २६ जना सांसदलाई कोरोना संक्रमण देखिएको छ । एमाले वरिष्ठ नेता झलनाथ खनाल, जसपा नेता तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण, सांसदहरु किसान श्रेष्ठ, सरिता न्यौपाने,  डा. दीपकप्रकाश भट्टलगायत २६ सांसदलाई कोरोना लागेको छ । संसद सचिवालयका उपसचिव कृष्ण खनालको कोरोनाबाटै ज्यान गएको छ।



संघीय संसद्का १२ सय ३५ को पिसिआर परीक्षण गर्दा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २६ जना सांसद छन्। संसद्को विशेष अधिवेशनअघि वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वाब संकलन गरिएकामध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमित १६० मध्ये १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आइसिसी भवनका कर्मचारी छन्। संसद् सचिवालयमा स्वाब संकलन गर्नुअघि नै ८ सांसद आइसोलेसनमा थिए । संक्रमित सांसदको कुल संख्या २६ पुगेको छ।  

प्रतिनिधिसभाका २७१ मध्ये चारजना निलम्बित छन् । हाल सांसदको संख्या २६७ रहेको छ। प्रतिनिधिसभाका ५४ सांसदको भने परीक्षण बाँकी नै रहेको सचिवालयले जनाएको छ ।   

यी हुन् कोरोना पोजेटिभ देखिएका २६ सांसद 

१.झलनाथ खनाल 
२.लालबाबु पण्डित
३.भानुभक्त ढकाल
४..रघुवीर महासेठ  
५.जुलीकुमारी महतो 
६.नन्दलाल रोका क्षेत्री 
७.मुकुन्द न्यौपाने 
८.लक्ष्मणलाल कर्ण 
९.बीना मगर
१०.महेश बस्नेत 
११.रामबाबु यादव 
१२.गोपालबहादुर बम 
१३.नमिता कुमारी चौधरी 
१४.शान्तिमाया तामाङ 
१५.विना कुमारी श्रेष्ठ  
१६.रेणुका गुरुङ 
१७.मायादेवी न्यौपाने 
१८.पार्वती डिसी चौधरी
१९.किसान श्रेष्ठ 
२०.सुरेश कुमार राई 
२१.पुष्पा कुमारी कर्ण कायस्थ 
२२. राजेन्द्रप्रसाद गौतम  
२३.नरमाया ढकाल  
२४.भरतकुमार शाह 
२५.प्रमोद शाह 
२६.दिपकप्रकाश भट्ट 

  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १६:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया