प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरूलाई पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन्। माधव नेपाल समूहले राजीनामा तयारी गरिरहेका बेला आइतवार एक प्रेस वक्तव्य निकालेर ओलीले पार्टी एकताको पक्षमा उभिन अपिल गर्दै कसैलाई काखा-पाखा नगर्ने बताएका हुन्।
उनले नेता कार्यकर्तालाई बलियो एमाले बनाउने महाअभियानमा सरिक हुन आग्रह गर्दै व्यक्तिगत स्वार्थ र अहंकार त्याग्न आग्रह गरेका छन् । 'कतिपय नेताहरुमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्ष्या छ', उनले भनेका छन्, 'पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन उचित हुँदैन।'
ओलीले भोलिको विश्वासको मतबारे लक्षित गर्दै केही व्यक्तिहरु विरोधीहरूको स्वार्थलाई मलजल गर्न लागेको पनि गुनासो गरेका छन्। 'आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीका स्वार्थमा मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी-गराई आफ्नो राजनीतिक जीवन समाप्त गरेर पार्टीलाई पछार्ने जस्ता हानिकारक प्रयास भइरहेका छन्', उनले भनेका छन्।
उनले पार्टीमा विरोधीहरुलाई जिताउने गरी केही घातक र दु:खद गतिविधि भइरहेको पनि उल्लेख गरेका छन्। 'कुनै पनि तहमा पार्टीका सरकारलाई ढालेर विरोधीहरूको दिग्विजय गराई उत्सव मनाउने जस्ता घातक र दुःखद् प्रवृत्तिहरू देखा परेका छन्', उनले भनेका छन्, 'यस्ता क्रियाकलापमा संलग्नलाई इतिहासले माफ गर्ने छैन। त्यस्ता कर्ममा जानी नजानी कुनै हिसाबले संलग्न नहुन आग्रह गर्दछु।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।