सत्ताको खेलमा निर्णायक रहेको जनता समाजवादी पार्टीले आफ्ना सांसदलाई ह्विप जारी नगर्ने भएको छ। आइतवार संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको घरमा बसेको जसपाका ६ जना पदाधिकारीहरूको बैठकले यस्तो निर्णय लिएको हो।
जसपा नेता राजेन्द्र श्रेष्ठले पदाधिकारी बैठकबाट भोट हाल्ने अधिकार सांसदहरुलाई नै खुला गरिएको बताए। 'भोलि प्रधानमन्त्रीले लिने विश्वासको मतका क्रममा जसपाले ह्विप जारी नगर्ने भएको छ', उनले फरकधारसँग भने, 'पक्ष विपक्षमा उभिने अधिकार पनि सांसदहरुलाई दिएका छौँ।'
जसपा अहिले दुई समूहमा विभाजित छ। प्रधानमन्त्री ओलीलाई हेर्ने दृष्टिकोणलाई लिएर अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच मत बाझिएको छ। ठाकुर ओलीप्रति नरम छन् भने यादव ओलीलाई सत्ताबाट बिदा गर्न चाहन्छन्।
यस्तोमा संसदमा विश्वासको मतले पार्टी विभाजन हुन नदिने गरी जसपाले निर्णय लिएको हो। स्रोतका अनुसार भोलि प्रधानमन्त्रीले विश्वासको मत लिँदा ठाकुर पक्षीय सांसद तटस्थ बस्ने छन् भने यादव पक्ष विपक्षमा उभिने छ।
जसमा ठाकुर र यादवका हाराहारी सांसद् छ। जसपा ३२ सांसदसहित अहिले सरकार फेरबदलको राजनीतिमा निर्णायक छ। आजै जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा र प्रधानमन्त्रीलाई भेटेर आफूहरु तटस्थ बस्ने जानकारी गराएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।