मुलुकभरका ६७ जिल्लामा निषेधाज्ञा, १० जिल्ला खुला

तीव्र रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो सातादेखि ठप्प छ । 

मानिसको आवागमनसमेत प्रभावित हुँदै आएको छ । सरकारले सङ्क्रमणको साङ्लो तोड्ने प्रयास जारी राखेको भए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै सर्वसाधारणको हेलछेक्‍र्याइँसमेत देखिएको जनस्वास्थ्यविद् औँल्याउँछन् ।  

आजका मितिसम्म १० जिल्लाले मात्रै निषेधाज्ञा जारी गर्न बाँकी छ । झण्डै २० दिनको अवधिमा मुलुकका ६७ जिल्लामा निषेधाज्ञा जारी गरी सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ । त्यस्ता जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ । त्यसमध्ये नौ जिल्लामा आंशिक निषेधाज्ञा छ । खुला रहेकामध्ये अधिकांश हिमाली जिल्ला छन् ।

देशका अधिकांश भाग ठप्प हुँदा आदेश जारी गर्न बाँकी रहेका ती जिल्लाका गतिविधिसमेत चलायमान हुन सकेको छैन । खुला रहेका १० जिल्लाले आदेश जारी गर्न बाँकी भए पनि मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको निर्णयलाई आधार मानेर उच्च सावधानी अपनाउने तथा स्वास्थ्यका मापदण्ड पूर्ण कार्यान्वयनका लागि विभिन्न निर्णय गर्दै कोरोना फैलिन नदिन उच्च सावधानी अपनाउँदै आएको छ । केही जिल्ला भने निषेधाज्ञा जारी गर्ने तयारीमा पुगेका जनाइएको छ ।

अब निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, रसुवा, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । यद्यपि, लमजुङ भने केही वडामा सीमित गतिविधि रोक लगाएर नियन्त्रण प्रयासमा रहेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए । 

तेह्रथुमले पनि भिडभाड हुने क्षेत्र तोकेर त्यस्ता गतिविधि रोक लगाइसकेको छ । पाँचथरले विभिन्न स्थानीय तहमा आलोपालो सेवा दिने गरी उच्च सावधानी अपनाउँदै आएको जनाएको छ । भोजपुरले पनि सीमित समय तोकेर मात्रै सञ्चालन गर्ने गरी आदेश जारी गरिसकेको छ । 



सोलुखुम्बुमा मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार आदेश जारी गरी उच्च सावधानीका कार्यक्रम सञ्चालन गरिरहेको छ । अहिलेसम्म खुला रहेको ओखलढुङ्गा र सङ्खुवासभाले आज रातिदेखि लागू हुने गरी आदेश जारी गरिसकेको छ । 

मनाङले भने यही वैशाख १३ गतेको निर्णयअनुसार आवश्यक तयारीका साथ सम्पर्कमा रहेका व्यक्तिको परीक्षणलाई तीव्रता दिँदै सङ्क्रमण भित्रिन नदिन सतर्कता अपनाउने निर्णय गरेको छ । मुस्ताङले जिल्ला प्रशासन कार्यालयबाट दिने अत्यावश्यकबाहेकका सेवा रोकिसकेको छ । मुस्ताङले अन्य निर्णय भने गरेको छैन । 



रसुवाले पनि प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइसकेको छ । समग्रमा भन्दा खुला रहेका कतिपय जिल्ला पनि निकट भविष्यमा निषेधाज्ञा जारी गर्ने अवस्थामा पुगेका छन् । 

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोही अनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउँछन् । मुलुकमा पछिल्ला केही दिनमा नौ हजारको हाराहारीमा दैनिक सङ्क्रमित फेला पर्दै आएका छन् भने दैनिक ५० भन्दा माथि मानिसको मृत्यु हुँदै आएको छ । 

  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १९:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया