नेकपा एमालेको असन्तुष्ट समूहका नेता भीमबहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकारी र दम्भीको संज्ञा दिएका छन्। सोमबार सिंहदरबारमा बसेको माधव नेपाल पक्षीय सांसदहरुको बैठकपछि पत्रकारसँग बोल्दै उनले ओलीप्रति आक्रोश पोखेका हुन्।
'केपी ओलीलाई विश्वासको मत दिनु भनेको देशको राजनीतिलाई कमजोर बनाउनु मात्रै हो। प्रतिनिधिसभाको बैठक संविधानको धारा अनुसार बोलाएकै छैन। त्यो बैठकमा हामी अनुपस्थित नहुने निर्णय भएको छ', उनले भने, 'हामी नेपालको संविधानको रक्षा गर्न लागेका छौँ। ओलीलाई विश्वासको मत दिँदैनौँ, हामीले अहिले जे निर्णय गरेका छौँ, ठीक गरेका छौँ।'
यदि माधवकुमार नेपाल समूहले विश्वासको मत दिने हो भने ओली नवौँ महाधिवेशनको संरचनामा फर्किनुपर्ने उनले बताए। 'यदि विश्वासको मत हामीले दिनुपर्ने हो भने नवौँ महाधिवेशनको सबै संरचनालाई पुन:स्थापित गर्नुपर्छ', उनले भने, 'फागुन २८ का सबै निर्णय खारेज गरेर २०७५ जेठ २ मा फर्किनुपर्छ।'
आफूहरुले पार्टी बचाउने प्रयास गरिरहँदा हिजो मात्रै ओलीले पठाएको पत्रमा दम्भ र अहंकार भेटिएको पनि उनले बताए। 'केपी शर्मा ओलीले पत्र पठाएका रहेछन्। त्यसमा पार्टी मिलाउने कुराको साटो बडा दम्भ र अहंकार देख्यौँ। अहंकारका गुथ्थी जाहेर गरेको रहेछ', उनले भने, 'ओलीले देशलाई राजनीतिक स्थायित्वतिर लाने भन्दा भताभूंग बनाउन लागेकाले हामी आज संसदमा जाँदैनौं।'
उनले ओलीको ह्विपले आफूहरूलाई फरक नपर्ने पनि बताए। 'पार्टी ह्विप उलंघन गरेकोमा कारबाही गर्ने कुरा छ। पहिले उहाँले अवैध घोषणा गरेकाले त्यसलाई सच्याउनुपर्छ। हामीलाई निर्देशन गर्ने अधिकार ओलीमा छैन', उनले भने, 'त्यसैले उहाँको निर्देशन मान्दैनौँ हामी। सर्वोच्चको फैसला अनुसार जेठ २ मा फर्किएर नवौँ महाधिवेशनको केन्द्रीय कमिटीमा जानुपर्छ । अनि मात्रै हामीलाई उनको निर्देशन लाग्छ।'
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।