नेपालमै पहिलोपटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को समूह चरणका खेल सम्पन्न भएका छन् ।
वैशाख ११ मा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीचको खेलबाट सुरु भएको समूह चरण वैशाख २६ काठमाडौं रेजर्स र एफसी चितवनबीचको खेलबाट अन्त्य भयो ।
लिगमा काठमाडौं रेजर्स, धनगढी, ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीले प्ले अफमा स्थान बनाउँदा पोखरा थन्डर्स, विराटनगर सिटी तथा एफसी चितवन समूह चरणबाट बाहिरिए ।
वैशाख २८ गते हुने पहिलो प्ले अफमा समूह चरणका शीर्ष दुई टोली काठमाडौं रेजर्स र धनगढी सिटी एफसी प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ ।
वैशाख २९ गते हुने दोस्रो प्ले अफमा समूह चरणमा तेस्रो र चौथो हुने टोली ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्रतिस्पर्धा गर्ने छन् ।
यो खेलमा जित हात पर्ने टोलीले वैशाख ३० गते पहिलो प्ले अफमा हार्ने टोलीसँग इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा गर्नेछ ।
इलिमिनेटर राउन्डमा विजयी हुने टिमले जेठ १ गते उपाधिका लागि पहिलो प्ले अफको विजेता टोलीसँग भिड्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरिरहेको लिग विजेताले ३५ लाख, उप विजेताले १५ लाख र विधागत उत्कृष्ट हुनेले जनही १ लाख प्राप्त गर्ने छन् ।
प्ले अफमा पुग्ने ४ टोलीको प्रदर्शन
काठमाडौं रेजर्स एफसी
समूह चरणको खेललाई आधार मान्ने हो भने काठमाडौं उपाधिको सबैभन्दा बलियो दावेदार हो ।
ऊ समूह चरणका ६ मध्ये ४ खेलमा जित, समान १-१ खेलमा हार र बराबरीको नतिजा निकाल्दै १३ अंकका साथ शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगेको हो । उसले ९ गोल गर्दा ८ गोल खाएको छ ।
काठमाडौंले समूह चरणका ३ खेलमा क्लिन सिट राख्दा ३ खेलमा गोल खायो । उसले विराटनगरविरुद्ध सर्वाधिक ५ गोल गर्दा पोखरासँग गोल रहित बराबरी खेलेको थियो ।
उसका लागि मेसौके ओलोमोउ प्रमुख खेलाडी हुन् । उनले लिगमा सर्वाधिक ५ गोल गरेका छन् ।
धनगढी एफसी
प्रतियोगितामा राम्रो प्रदर्शन गरेको धनगढी पनि उपाधिको बलियो दाबेदार हो ।
उसले समूह चरणका ६ मध्ये ३ जित २ हार र १ बराबरीको नजिता निकाल्दै १० अंक जोडेर दोस्रो स्थानमा रहँदै प्ले अफमा स्थान बनाएको हो ।
धनगढीले ८ गोल गर्दा ५ गोल खाएको छ । उसले ३ खेलमा क्लिन सिट राख्दा ३ खेलमा गोल खायो ।
उसले काठमाडौं र चितवनविरुद्ध सर्वाधिक ३-३ गोल गर्दा ललितपुरसँग १-१ को बराबरी खेलेको थियो ।
ओलावाले अफिज धनगढीका प्रमुख खेलाडी हुन् उनले टिमका लागि ४ गोल गरेका छन् ।
ललितपुर सिटी एफसी
ललितपुर सबैलाई आश्चर्यमा पार्दै प्ले अफ पुगेको टिम हो । उसले सुरुवाती ४ खेलमा मात्र ३ अंक जोडेको थियो तर अन्तिम २ खेलमा जित हात पर्दै ६ अंक जोड्यो ।
६ खेल मध्ये २ जित ३ बराबरी र १ हारको नतिजा निकालेको ललितपुरले ९ अंकका साथ तेस्रो स्थानमा रहँदै प्ले अफमा स्थान बनायो । ललितपुरले ७ गोल गर्दा ३ गोल खाएको छ । उसले ३ खेलमा क्लिन सिट राख्दा ३ खेलमा गोल खायो ।
उसले विराटनगरविरुद्ध सर्वाधिक ४ गोल गर्दा पोखरासँग गोलरहित बराबरी खेलेको थियो ।
कप्तान तथा मार्की खेलाडी अञ्जन विष्ट ललितपुरका प्रमुख खेलाडी हुन् । उनले टोलीका लागि ३ गोल गरेका छन् ।
बुटवल लुम्बिनी एफसी
बुटवल पनि भाग्यले साथ दिँदा प्ले अफमा पुगेको टोली हो । ऊ समान २-२ जित, हार र बराबरीको नतिजा सहित ८ अंक जोड्दै चौथो स्थानमा रह्यो ।
पोखरा थन्डर्ससँग बराबरी अंक भए पनि हेड टु हेडका आधारमा बुटवल अघि बढेको हो ।
उसले २ खेलमा क्लिन सिट राख्दा ४ खेलमा गोल खायो । बुटवलले ७ गोल गर्दा ६ गोल खाएको छ ।
उसले पोखरा, चितवन र विराटनगरविरुद्ध सर्वाधिक २-२ गोल गर्दा धनगढीविरुद्ध १ गोल गरेको थियो ।
लक्ष्मण रुचाल बुटवलका प्रमुख खेलाडी हुन् । उनले टोलीका लागि २ गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।