माधव नेपालले एमाले फुटाएर बनाउने नयाँ पार्टीमा वामदेव पनि जाने
भने : ओली जेठ २ मा फर्किएनन्, उनीसँग जान सक्दिनँ

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाएमा आफू त्यसमै सामेल हुने बताएका छन्। एमालेमा देखिएको पछिल्लो घटनाक्रमबारे आफ्ना दुई बुँदे धारणा सोमबार सार्वजनिक गर्दै गौतमले यस्तो बताएका हुन्। 

उनले पार्टी अध्यक्ष केपी शर्मा ओली फागुन २८ को निर्णय सच्याएर २०७५ जेठ २ मा फर्किन नमानेका उनीसँगको सहयात्रा अब असम्भव रहेको बताएका छन्।

'पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग एमालेको स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्‍ने आग्रह गरेको थिएँ', उनले सचिवालयमार्फत धारणा सार्वजनिक गर्दै भनेका छन्, 'तर, अध्यक्ष कमरेडले ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ। त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन।’ भन्‍नु भयो। त्यसकारण ‘त्यसो भए म तपाईंको साथमा छैन,’ भनिसकेको छु।'

गौतमले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायतले एमालेमा समानान्तर कमिटी बनाएर गरेको गतिविधिमा असहमति जनाएका छन्। तर उनले माधवसहितले एमाले फुटाएर नयाँ पार्टी बनाएका आफू त्यसमै लाग्ने पनि उल्लेख गरेका छन्। 

'वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन', उनले भनेका छन्, 'तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यसमा सामेल हुनेछु।'





  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १३:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया