विश्वासको मतमा जसपा विभाजित : महन्थ ठाकुर तटस्थ बसे, उपेन्द्र यादव विपक्षमा
फरकधार / २७ बैशाख, २०७८
यो सामग्री सेयर गर्नुहोस्

जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन कुरामा विभाजित भएको छ। उक्त पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्रीले विश्वासको मत लिँदा तटस्थ बस्ने भएका छन्। अर्का अध्यक्ष उपेन्द्र यादवले विश्वासको मतको विपक्षमा मतदान गर्ने भएका छन्। 



संसदको विशेष अधिवेशनमा सम्बोधनका क्रममा दुवैले मधेस आन्दोलनमा संलग्नलाई जेल हालिएको लगायतका मुद्दा उठाए। संविधानले मधेशीलाई विभेद गरेको कुरा पनि उनीहरुले संसदमा उठाए। महन्थले भन्दा उपेन्द्रले प्रधानमन्त्रीको चर्को आलोचना गरे। 



तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट आफ्नो भनाइ राख्ने क्रममा ठाकुरले मधेस आन्दोलनका क्रममा जेल र मुद्दा भोगिरहेका कयौँ  नेता कार्यकर्ताको पीडा हुँदा हुँदाहुँदै संसदको मत विभाजनमा प्रधानमन्त्रीलाई समर्थन गर्न नसक्ने बताएका हुन्।



'हामी रेशम चौधरीलाई हामी यहाँ हेर्न चाहन्छौँ तर उनी जेलमा छन्' उनले भने, 'हाम्रा प्रदेश मन्त्री तारिखमा छन् सयौँ कार्यकर्ताहरूले अझै पनि विभिन्न मुद्दा खेपिरहेका छन्। त्यहीकारण हामीले सरकारलाई समर्थन गर्न सक्ने अवस्था छैन।'



उता उपेन्द्र यादवले कोरोना संकट आइसक्दा पनि सरकार रथयात्रामा लागेर अलमलिएको बताए। 'देशमा कोरोनाको लहर आइसकेको थियो। तर सरकारको ध्यान चितवनमा अयोध्या बनाउनेतिर गयो। यसले कोरोना निको हुन्छ?', उनले प्रधानमन्त्रीलाई सोधे, 'एक वर्षअघि नै विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदा दिँदै पनि सरकारले बेवास्ता गर्यो, आज कोरोनाका बिरामीहरु अस्पतालको बरन्डा र आँगनमा छटपटाइरहेका छन्।'

उनले अहिले आफू संकटमा परेपछि ओलीले मधेशीलाई फकाउन थालेको बताएका छन्। 'अहिले प्रधानमन्त्रीले मधेशीलाई फकाउन थाल्नु भएको छ', यादवले आक्रोशित हुँदै भने, 'मधेस आन्दोलनमा हुँदा प्रधानमन्त्रीले दुई चार आँप झरे भन्नु भएको थियो। अहिले तिनै आँप खुवाउनुहुन्छ तपाईँ मधेसी जनतालाई?'



जनता समाजवादी पार्टी एक भए पनि यो दलले संसदीय दल बनाइसकेको छ। तत्कालीन राजपाको तर्फबाट संसदीय दलमा ठाकुर छन् भने संघीय समाजवादीको तर्फबाट यादव नेता छन्। कानुनत: एउटै दल बनाइनसकेका दुवै नेतामध्ये एउटाले तटस्थ बस्ने र अर्कोले विपक्षमा मतदानको निर्णय लिएका हुन्।

जसपामा ३२ सांसद रहेका छन्। जसमा तत्कालीन राजपा र संघीय समाजवादी पार्टीको तर्फबाट करिब १६/१६ जनाको उपस्थिति रहेको छ। जसपाको यो निर्णयले ओलीसँगै प्रतिपक्षी दलको पनि बहुमत नपुग्ने अवस्था आएको छ। 



  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १६:१२:३२,   अन्तिम अपडेट : बैशाख २७, २०७८ साेमबार १६:१३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया