आमा भन्‍ने नाता नै यस्तो हो कि मेरी आमा मात्रै यस्ती हुन् ?

केटाकेटी बेलाको सम्झना पनि कति मिठो हुने। भनिन्छ बालापनको खानपिन, वातावरण, संस्कार नै हाम्रा जीवनका आधारहरू हुन्। त्यसैले पनि बालापनको याद सबैभन्दा प्यारो र रमणीय भइदिन्छ। उमेर जति बढ्दै गएपनि आफू अझै त्यही उमेर र अवस्थामा छु भन्ने आभास भइरहेको हुन्छ।

अझ आमासँग जोडिएका हर कृयाकलापको याद त झन् कति मिठो। आमा भोक लाग्यो, आमा तिर्खा लाग्यो, आमा थकाई लाग्यो, आमा निन्द्रा लाग्यो, आमा पेट दुख्यो, आमा टाउको दुख्यो, आमा खुट्टा दुख्यो। यति मात्र कहाँ हो र ? आमा दिदीले पिट्नुभयो, बहिनीले किताब च्यातिदिइ, भाइले खाजा पोखिदियो के–के हो के–के?

 यस्तो लाग्थ्यो मानौ आमा सबै रोग निको पार्ने डाक्टर हुन्। अनि न्याय अन्याय छुट्याएर निसाफ दिने न्यायाधीश। एक दुई सन्तानका गुनासा हुन् र चार पाँच सन्तानका यस्ता गुनासा सुन्दा पनि बिना कुनै झन्झट समस्या समाधान गर्न लागि परिरहने यी आमा कुन तत्वले बनेकी होलिन्।

आफ्नो केटाकेटी बेलाको याद आउँछ हामी चार दिदी बहिनी अनी त्यसमुनिको एउटा भाइ। राति कहिले कसैलाई पेट दुख्थ्यो, कसैलाई पिसाब लाग्थ्यो, कसैलाई टाउको दुख्थ्यो। आमाले कुनै झर्को नमानी शौचालय लैजानु पर्ने हो कि, घरेलु उपचार गर्नु पर्ने हो कि, राति नै उठेर गर्न थाल्नुहुन्थ्यो। 

कहिलेकाँही सानो भाइ रातभरि रुन्थ्यो, आमा नसुती–नसुती भाइलाई काखमा लिएर बस्नुहुन्थ्यो। बिहान ४ बजेदेखि उठेर दिनभरको कामले लखतरान हुँदा, अनि रातभरि सुत्न नपाउँदा कस्तो हुँदो हो ?



तैपनि मेरी आमाको अनुहारमा न हैरानी देखिन्थ्यो न त बोली र व्यवहारमा रुखोपन।

आमा बिहान कतिबेला उठ्नुहुन्थ्यो, हामीलाई थाहा हुँदैनथ्यो तर हामी उठ्दा कि त जाँतोमा मकै, दाल चामल पिस्दै हुनुहुन्थ्यो या ढिकीमा धान कुट्दै या त घाँस काट्नका लागि निस्किसक्नु भएको हुन्थ्यो।



कहिले भान्सा, कहिले घाँस दाउरा, कहिले मेलापात यस्तैमा काममा व्यस्त रहनुहुन्थ्यो आमा। त्यसबाहेक छोराछोरीको गनगन सुन्नु, विभिन्न माग पूरा गर्नु, झगडा मिलाउनु आमाका दिनचर्या थिए।

बेलुकाको खाना खाएपछि प्राय घरका सबैको काम सकिन्थ्यो। आमाले भने सबैले खाएका जुठो भाँडा बाहिर अँध्यारो जुठेल्नुमा बसेर एक्लै माझिरहनुहुन्थ्यो।

आमाले कतिबेला काम सकेर भित्र आउनु होला भन्ने प्रतीक्षामा हुन्थ्यौँ हामी। आमाको शरीर थाकेको होला, हात गोडा दुखेका होलान् भन्ने कल्पनासम्म आउँदैनथ्यो। आमा भनेको कामको अर्को नामझैँ लाग्थ्यो। 

घरमा केही मिठो चोखो पाक्यो भने आफू नखाइ छोराछोरीलाई मात्र खुवाउन पाए हुन्थ्यो झैँ गर्ने। कसलाई के मनपर्छ त्यही अनुसार व्यवस्था मिलाउने। यस्तो कसरी हुन्छ होला भनेर सानो छँदा म धेरै पटक छक्क परेकी छु। आफूले खोजेको कुरा बुझेको देखेर म सोच्थेँ कि आमाले सबैभन्दा धेरै माया मलाई गर्नुहुन्छ। तर म केटाकेटीलाई के थाहा बाह्र सन्तान भए पनि आमाका लागि सबै बराबर हुन् भनेर।

म बिचरा आफू आमाको सबैभन्दा प्यारो हुँ भन्ने भ्रममा रहेछु। यो आमाहरुको कला रैछ, सकेसम्म आफ्ना सबै सन्तानलाई खुसी राख्ने।

स्कुल पढ्दा हरेक वर्ष दुई, तीन महिना बिहानमा पढाइ हुन्थ्यो। बिहानको ६ बजे नै स्कुल पुग्नुपर्थ्यो। आमाले दाउरा बालेर बिहान पाँच नबज्दै जाउलो बनाइ  सक्नुहुन्थ्यो। हामीलाई खान मन नलाग्ने, आमाले कर गरेर खुवाउने। हामीले खाइसकेपछि आमाको अनुहारमा यति खुसी देखिन्थ्यो, लाग्थ्यो हाम्रो होइन उहाँको पेट अघाएको छ।

स्कुलबाट घर फर्किदा बाटोबाटै आमा भन्दै बोलाउन मन लाग्थ्यो। मन चाहन्थ्यो, आमा खेतबारीतिर नगएर घरमै भइदिए हुन्थ्यो। आमालाई घरमा नै देख्दा प्राप्त हुने त्यो आनन्दको बयान गर्ने शब्द कहाँ पाउनु ?

केटाकेटी बेलामा सबैभन्दा अत्यास लाग्दा दिनहरू ती हुन्थे, जब आमा हामीलाई छोडेर मामाघर जानुहुन्थ्यो। हाम्रो मामाघर टाढा थियो। आमा मामाघर गएपछि दुई–तीन महिना बस्नुहुन्थ्यो। आमालाई पनि कति गाह्रो हुन्थ्यो होला। नजाम भने आफ्नो आमाबुबा र भाइ बहिनीसँग भेट्न रहर लाग्ने, जाँदा साना छोरा छोरी छाड्नु पर्ने। 

बुहारी मेसिन जस्तो हुने जमानामा माइती नगए त्यो शरीरले आराम कहिले गर्ने ? अहिले जस्तो फोनको जमाना होइन। छोराछोरीलाई के भयो ? समयमा खान पाए पाएनन् ? कति न्यास्रिए होलान् ? यस्तो सोचेर आमाको मन कति पोल्थ्यो होला ?

यता हामी आमा मामाघर गएको भोलिपल्ट देखिनै बाटो हेर्न थाल्थ्यौँ। बाटो हेर्दा हेर्दा आँखा कति थाके कति। अझ त्यो भन्दा कयौ गुणा थाकेको मनको के हिसाब। 

लामो पर्खाइपछि डोका भरि कोसेली बोकाएर आमा आउँदै गरेको दृश्य देख्दाको खुसी के बयान गरिनसक्नुको हुन्थ्यो। आमा आउँदाको खुसी थाम्न नसकेको आवाज, आमाको सारी समातेर सँगसँगै हिँडेको त्यो अमूल्य अनुभव अबको पुस्ताले गर्न नपाउला।  

जिब्रोमा जन्क फुडको स्वाद झुन्डिएका आजका केटाकेटीले त्यो कोसेलीको स्वाद र आनन्दको अनुभूति कसरी गर्न सकुन्। 

आमाको वरिपरि खुसी हुँदै रमाउँदै बालापन कसरी बित्यो ?पत्तो भएन। केटाकेटी बेलामा जस्तोसुकै अभाव अप्ठ्यारा र डर भएपनि आमाको मायाको शक्तिका अघि ती सबै गौण भए। सन्तान ठूलो हुँदै गर्दा विभिन्न कारणले आमाबाट टाढिनुपर्ने कुरा प्राकृतिक नियम नै हो।

तर शरीर टाढा भएपनि आमाको माया अरु कुनै मायासँग तुलना गर्न नमिल्ने खालको माया रहेछ।
आफु आमा पनि बनियो तर यो शब्द र नातामा मैले कत्तिको न्याय गर्न सकेकी छु, त्यो त मेरो सन्तानले अनुभव गर्न सक्लान्। यी त भए मायाका कुरा। आफ्ना बालबच्चा अनुशासनबाट बाहिर जान्छ न कि भनेर सबैका आमा सचेत हुन्छन् नै तर हाम्री आमाले गाली गरेको र नमिठो शब्द बोलेको याद छैन्। 

दुई पटक पिटाइ भने खाए की छु आमाको हातबाट त्यो पनि राम्रोसँग खाना खाइन भनेर। संयुक्त परिवारमा हुर्केको मैले आमाले आफूभन्दा मान्यजनलाई अपमान गरेको कहिल्यै थाहा पाइन। कर्तव्यबाट पन्छिएको पनि कहिल्यै थाहा पाइन। मेरो विवाह भएपछि तिम्रो परिवार कस्तो छ ? कस्तो व्यवहार गर्छन् ? तिमीले यसो गर्दिनू उसो गर्दिनू भनेर घर व्यवहारमा समस्या उत्पन्न गर्ने कुरा आज सम्म गर्नुभएको छैन। 

बरु, आफ्नो कर्तव्यबाट पछि हट्न हुन्न भनेर झन्क्याइरहनुहुन्छ। शायद यो आमा भन्ने नाता नै यस्तो हुन्छ वा मेरी आमा मात्रै यस्ती गुणकारी हुन् ? 

मेरी आमामा यी कुनै कुराको अभाव महसुस गरेको छैन जुन उपमा आमाको लागि दिइन्छ। यस्ती आमाको संस्कार मैले पनि मेरा सन्तानमा दिन सकुँ। जुन मेरा सन्तानका लागि मार्गदर्शक बनोस्। कहिलेकाहीँ प्रकृतिसँग गुनासो गर्न मन लाग्छ। हामी सानो छँदा आमाको काखमा सुतेको, आमाको दुध चुसेर आफ्नो भोक मेटेको, आमाको काखमा पिसाब फेरेको, दिसा गरेको यादहरु किन हामीसँग रहेन न होला।

 यदि यी याद रहदा हुन त, शायद कुनैपनि आमाले वृद्धाश्रम खोज्नुपर्ने थिएन होला। आमाले आफ्नो एकदुई वटा कपालको रौँ फुल्दा हामीलाई उखेल्न लाइरहनुहुन्थ्यो। अहिले आफ्नै कपालमा सेतो मिसिन थाल्यो, आमाको त के कुरा। तैपनि आमाको सेतो हुँदै गएको कपाल र अनुहारमा बढ्दै गरेको चाउरी देखेर कता–कता मन अमिलो हुन्छ।

  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार ११:३१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया