राष्ट्रपतिलाई जसपाका ठाकुर समूहको पत्र : उपेन्द्र यादवलाई मान्यता नदिनू
सत्तामा निर्णायक भएपछि सांसद तानातान

प्रतिनिधि सभाको हिजो भएको विशेष अधिवेशनमा जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा दुई धारमा विभाजित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा जसपाले सांसदहरुलाई मतदान गर्न स्वतन्त्र छाडेको थियो। तर आन्तरिक रुपमा महन्थ ठाकुर र उपेन्द्र यादवनिकट सांसदहरु दुई पक्षमा विभाजित भए। 

जसपाका दुई समूहले आफूनिकट सांसदहरुलाई आन्तरिक रुपमा ह्वीप जारी गरेका थिए। जसपा प्रथम अध्यक्ष महन्थ ठाकुर-वरिष्ठ नेता राजेन्द्र महतो समूहले आफूनिकट सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा तटस्थ बस्न लगाए। अर्का अध्यक्ष उपेन्द्र यादव–डा. बाबुराम भट्टराई समूहले आफूनिकट सांसदहरुलाई विपक्षमा मतदान गर्न उर्दी जारी गरे।

बढ्दो कलह 

विश्वासको मतमा दुवै खेमाका सांसदहरु तानातान हुँदा जसपामा बराबरीको अवस्था आएको थियो।  मतदानअघि आफूहरु नै संसदीय दलमा बलियो रहेको दाबी गर्दै आएका दुवै खेमा बराबरी अवस्थामा पुगेपछि आन्तरिक कलह झनै सतहमा आएको छ ।

विश्वासको मतको विपक्षमा मतदान गरेका जसपा अध्यक्ष यादवले सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नयाँ सरकार निर्माणको वातावरण बनाउने प्रक्रिया थालनी गर्न माग गरे । 

कांग्रेस, माओवादी र उपेन्द्र यादवले संयुक्त रुपमा एक विज्ञप्ति निकालेर भने,‘प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएर पदमुक्त हुनु भएकोले संविधानको धारा (७६) को २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिज्यूलाई आह्वान गर्दछौं।’
 
यो आह्वानमा जसपाको नामबाट उपेन्द्र यादवले हस्ताक्षर गर्दै नयाँ सरकार थालनीको माग गरेपछि विवाद सतहमा आएको हो । 



राष्ट्रपतिलाई महन्थको पत्र 

जसपाको नाममा उपेन्द्र यादवले यस्तो आह्वान गरेपछि प्रथम अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएका छन्। स्रोतका अनुसार ठाकुर समूहले राष्ट्रपति भण्डारीलाई आफ्नो पार्टी सरकार निर्माणमा सहभागी नहुने सन्देशसहितको पत्र पठाएका छन्। 



ठाकुर समूहले राष्ट्रपति समक्ष पठाएको पत्रमा ‘जसपाले कुनै पनि दलको सरकारमा सहभागी हुने निर्णय लिएको छैन। त्यसकारण जसपा गठबन्धन सरकारमा सहभागी हुँदैन। उपेन्द्र यादवको हस्ताक्षर व्यक्तिगत हो, पार्टीको पहिलो आधिकारिक अध्यक्ष म हुँ, त्यसैले पार्टीको आधिकारिक निर्णयमा ध्यान दिनुहोला।’

जसपा वरिष्ठ नेता राजेन्द्र महतोले आवश्यकता परे राष्ट्रपतिलाई जुनसुकै पत्र लेख्ने तयारी रहेको बताए । 'राष्ट्रपतिबाट भएको सरकार निर्माण प्रक्रियामा हाम्रो पार्टी सहभागी हुँदैन, यदि कोही जान्छ भने त्यो व्यक्तिगत कुरा हो', उनले भने, 'त्यसैले पार्टीको नाममा एउटा व्यक्तिले गरेको हस्ताक्षरको हस्ताक्षरको मान्यता नहोस्।’
 
उनका अनुसार यही प्रष्ट गर्न आवश्यकता अनुसार राष्ट्रपतिलाई पत्र लेखिनेछ। ठाकुर समूहले तयार पारेको पत्र राष्ट्रपति कार्यालय पठाइँदैछ। 

दाउपेच

राष्ट्रपतिबाट तीन दिनभित्र नयाँ सरकार बनाउन गरेको आव्हानपछि कांग्रेस र माओवादी सक्रिय भएका छन्। यस्तोमा जसपा झन निर्णायक बनेको छ। ठाकुर समूह र उपेन्द्र समूह दुवैले यसलाई लिएर दाउपेच सुरु गरेका छन् ।

एउटा समूहले अर्को समूहको सांसद तान्‍नेसँगै धाकधम्की र पैसाको लोभ दिएर किनबेच समेत सुरु गरिसकेका छन् ।

यादव समूह बढी सक्रिय

यो कुराको पुष्टि हिजो भएको विश्वासको मतमा मतदान गरेका चन्द्रकान्त चौधरी नै काफी छन्। उनी सुरुमा ठाकुरले भने बमोजिम तटस्थ थिए। त्यो देखेपछि उपेन्द्र यादवको निर्देशमा उनकै नजिककी नेतृ रेणु यादवले कुरा गरिन्। 

स्रोतका अनुसार रेणुले त्यहीबेला चौधरीलाई आफ्नो टिमलाई सहयोग गरे मन्त्री बनाउने र अन्य कुराको पनि प्रलोभन दिइन्। त्यसपछि चौधरीले फेरि आफ्नो मत विपक्षमा दिएका थिए। 

‘सुरुमा म ठाकुरजीको कुरा मानेर तटस्थमा मतदान गरेँ', सांसद चौधरीले पनि फरकधारसँग कुरा गर्दै भने, 'तर रेणुजीसँग कुरा भएपछि फेरि गएर विपक्षमा मतदान गरेको हुँ।’

यादव समूहले सदनमा मात्रै नभइ एकजना सांसदको घरमा समेत गएर धम्की दिएको खुलासा भएको छ। यादव समूहका दुई सांसदले रुही नाझलाई भेटेर मतदान नगर्न धम्की दिएपछि उनी संसदमै नगएको स्रोतले जनाएको छ।  

उपेन्द्र समूहले हिजैदेखि यस्तो थालनी गरेपछि ठाकुर समूहले त्यसको जवाफमा अलग्गै तयारी सुरु गरेको स्रोतको दाबी छ। ३२ सांसदमध्ये दुवै खेमाबाट एक-एक जना हिजो अनुपस्थित भएपछि यो विषय झनै पेचिलो भएको छ।

  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार १६:१०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया