कोरोनाको खोप कहाँबाट कति, सर्वसाधारणले कुन खोप कति पाए ?

कोरोना भाइरसको परिवर्तित स्वरुपले देशलाई एकपटक पुनः आक्रान्त बनाएको छ । कोरोना संक्रमणको पहिलो चरणमा नेपालमा लगभग पाँच महिना लामो लकडाउनको स्थिति सिर्जना भयो । ३ हजारभन्दा बढीले ज्यान गुमाए । विस्तारै स्थिति केही सामान्य हुँदै थियो, कोरोनाको म्युटेन्ट स्वरूपले पुनः संक्रामक रूप लिन थाल्यो । 

अहिले नेपालका ७० वटा जिल्लामा निषेधाज्ञा जारी छ । पहिलो चरणको भन्दा दोस्रो चरणको संक्रमण ७० प्रतिशत आक्रामक रहेको विज्ञहरूले बताएका छन् । 

पहिलो र दोस्रो लहरको संक्रमणमा हालसम्म ४ लाख ३ हजार ७९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । यीमध्ये ३ लाख ६ हजार ७९४ जनालाई सन्चो भइसकेको छ भने ३ हजार ८५९ जनाको मृत्यु भइसकेको छ ।

पहिलो लहरको संक्रमण वृद्धवृद्धामा बढी देखिएको थियो । यस पटकको म्युटेन्ट स्वरूप भने सबै उमेर समूहमा उत्तिकै देखिएको छ । म्युटेन्ट स्वरुपले दीर्घ रोगी तथा अन्य रोगले सताएकालाई मात्रै नभई स्वास्थ्य व्यक्तिलाई पनि मृत्युको तटमा पुर्‍याएको छ । 

कोरोनाको खोप कतिले पाए ?

कोरोना भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने हालसम्मकै एक मात्र उपायका रूपमा पाइएको कोरोनाविरुद्धको खोप दुई चरणमा वितरण गरिएको छ ।
पहिलो चरणको खोप २० लाख ९१ हजार ५११ जनाले लगाइसकेका छन् । यसै क्रममा कोरोनाको दोस्रो चरणको खोप भने ३ लाख ६२ हजार जनाले लगाइसकेका छन् ।



कोरोनाको खोप अहिलेको अवस्थामा एक मात्र उपाय रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताए । ‘खोपले भाइरसबाट पूर्णरूपमा सुरक्षा होइन तर समस्या जटिल हुनबाट बचाउँछ ।’ 

दोस्रो चरणको खोप कहिले ?



पहिलो चरणको चिनियाँ खोप (भेरोसेल) ३ लाख ६० हजार जनाले लगाएका छन् । यसको दोस्रो चरणको खोप जेठको २ गतेबाट सर्वसाधरणलाई लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् । 

त्यस्तै भारतीय खोप (को भ्याक्सिन) को पहिलो चरणको खोप लगाइसकेका व्यक्तिहरूमा भने दोस्रो चरणको खोप यही जेठ अन्तिम साताबाट सुरु हुने उनले जानकारी दिएका छन् । 

नेपालमा कुन कुन ठाउँबाट कति खोप आए ?

हाल नेपालमा प्रदान गरिएको खोप मुख्यतः दुई देशबाट आयात गरिएको छ । जसमा भारतबाट २१ लाख खोप नेपाल भित्रिएको थियो भने चीनबाट ८ लाख खोप ल्याइएको थियो । नेपालमा जम्मा गरेर ३१ लाख ४८ हजार खोप आयात भएका थिए । जसमा ३ लाख ४८ हजार खोप भने को-भ्याक्स कार्यक्रम अन्तर्गत रहेर नेपालमा आएका थिए ।

रसियन कोरोना खोपको तयारी कहाँ ?

नेपाल सरकारले रसियन खोप स्पुतनिक भी ल्याउने अनुमति प्रदान गरेको थियो । यससँगै उक्त खोप ल्याउन भनी औषधी व्यवस्था विभागमा दर्ता भएको निवेदनको प्रक्रिया आधिकारिक रूपमा अघि नबढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

रसियन सरकारी संस्था ग्यामेलिया नेसनल रिसर्च सेन्टरले निर्माण गरेको उक्त खोप ९२ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।

  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार १८:३८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया