'नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त भइसक्यो, टुलुटुलु हेर्न बाध्य छौँ
मान्छे मरे मात्रै बेड खाली हुने अवस्थामा छाैँ

गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएका छन्। 

काठमाण्डौ महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा  डाक्टर अधिकारीले 'हेल्थ सिस्टम नै कोल्याप्स' भएको बताएका हुन्। उनले बेडमा उपचाररत मान्छे मरे मात्रै बेड खाली हुने अवस्थामा आएको भन्दै सरकारको नेतृत्वमा रहेकालाई गम्भीर हुन आग्रह गरे।

सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सीमित भएको र जिम्मेवार निकायले दायित्व पुरा गर्न नसकेका कारण कोभिड संक्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको उनले बताए।

'हाम्रो हेल्थ सिस्टम कोल्याप्स भइसकेको छ। यसको उदाहरण मेरो अस्पतालको दिन्छु। हामीलाई नेपाल सरकारले तिमी मुटुको विरामी हेरिदेऊ र मुटुका विरामीलाई यदि कोभिड लाग्यो भने त्यसको जिम्मा लेऊ। म अहिले पनि लिन सक्छु। तर अर्को हस्पिटलले कोभिड मात्रै भएका विरामीलाई जिम्मा लिइदेओस्? तर कसैले पनि जिम्मा लिन सक्दैन अहिले', उनले भने, 'किनभने हाम्रो सिस्टम कोल्याप्स भइसकेको छ। हामीले जति बेड बनाउनुपर्ने त्यो बेड बनाउन सक्ने अवस्थामा नै छैनौँ।  स्वास्थ्य मन्त्रालयले कोभिडको पहिलो वेभ आएको बेलामा नै सम्पूर्ण सरकारी अस्पतालका निर्देशकलाई बोलाएर कति बेड व्यवस्थापन गर्न सक्छौँ भनेर भन्नुपर्थ्यो।'

उनले बेड व्यवस्थापन एकैदिनमा सम्भव नहुने भए पनि वीर अस्पतालको नयाँ भवनमा ५ सय शय्या अझै अलपत्र परेकोमा गुनासो गरे। 'बेड व्यवस्थापन गर्ने कुरा एक दिनको कुरा होइन। म दुःखका साथ भन्छु। वीर अस्पतालको ५ सय सैयाको छ तर सञ्चालन गर्न नसक्नु अहिलेसम्म भनेको लाज मर्नुको अवस्था हो। हामी के हेरेर बसिरहेका छौँ?', उनले भने, 'हाम्रा बिरामी इमर्जेन्सी बाहिर बसिरहेका छन्। ५ सय शय्याको वीर अस्पताल टुलुटुलु हेरेर बस्नुपर्ने। यसको जिम्मा कस्ले लिने? यो मिटिङ १ वर्ष अगाडि सुरु गर्नु पर्थ्यो।'

भिडियो



अधिकारीले उपचारको लागि नीति परिर्वतन गर्नुपर्ने आवश्यकता औँल्याए। बेड बढाउने विषय नै मुख्य भन्दै उनले ७० वर्षमाथिकालाई भेन्टिलेटरमा नराख्ने निर्णय लिनुपर्ने अवस्था आएको बताए। उनले वीर अस्पताल एक बर्षसम्म सञ्‍चालनमा नल्याएकोमा आक्रोश पोखे। 



'५ सय बेडको अस्पताल छ रे तर हामीले चलाउन सकेका छैनौँ। किन चलाउन सकिरहेका छैनौँ ?', उनले सोधे, 'एक वर्ष भयो किन चलाउन सकिरहेका छैनौँ ? कसैले उत्त दिन सक्छ यो? खै प्लानिङ ?'

बिरामी खचाखच, दोब्बर सिलिन्डर

सबै अस्पतालहरुमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) बिरामीले भरिएकाले तत्काल अन्य कोभिडका विरामीले उपचार गर्न सक्ने अवस्था नरहेको उनले बताए।

'हाम्रो अस्पताल कोभिड अस्पताल थिएन। अब हाम्रो अस्पताल कोभिड अस्पताल भइसक्यो। अहिले थप गरेर २१ वटा आईसियु बनाएका छौ। अब हाम्रोमा कुनै पनि आईसियु छैन। इमर्जेन्सीलाई पनि फुल कोभिड बनाएका छौँ', उनले थपे, 'हामीले अर्को अस्थायी किसिमको संरचनालाई इमर्जेन्सी बनाउनुपरेको छ। अहिले मलाई एउटा फोन आइरहेको थियो एकजना मुटुसम्बन्धी रोग लागेको विरामीलाई लिइ दिनुहोस्। हामीले लिन सक्ने अवस्थामा छैनौँ। ९० वटा सिलिण्डर प्रतिदिन प्रयोग हुन्थे। अहिले १ सय ८५ सिलिण्डर प्रतिदिन प्रयोग गरिरहेका छौँ।' 

उनले सरकारले पनि कोभिड-१९ को पहिलो लहर आउँदा नै सबै सरकारी अस्पतालको उपचार क्षमता बुझेर आवश्यक कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरे।  ढिलै भए पनि महानगरले पहल गरेकोमा उनले धन्यवाद दिए।

वीरको अर्कै तर्क

वीर अस्पतालकी निमित्त निर्देशक शान्ता सापकोटाले अक्सिजनको अभावले अपेक्षित ढंगले काम गर्न नसकेको बताइन्। उनले ५ सय सैयाको अस्पताल भवन हस्तान्तरण नभइसकेकाले भवन सञ्चालन भएन भनेर भन्न नमिल्ने तर्क गरिन्। भवन निर्माण भएर हस्तान्तरण भईसकेको अवस्था नरहे पनि आफुहरुले ३ सय बेडको व्यवस्था गरिसकेको उनले बताइन्। 

'भवन निर्माण भएर हस्तान्तरण भईसकेको अवस्था होइन। तर हामीले ३ सय बेडको व्यवस्था गरिसकेका छौँ। अक्सिजन प्लान्टबाट दैनिक १ सय ५० सिलिण्डर उत्पादन हुन्छ', उनले भनिन्, 'दुईवटा भवनमा गरेर ३ सय सिलिण्डर प्रतिदिन खपत भइरहेको छ। तर सप्लायर्सले १ सय २३ सिलिण्डर भन्दा बढी दिँदैन अनि मैले कसरी गर्नसक्छु?'

सक्दो सघाउँछौँ : महानगर

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले तोकेका डेडिकेटेड कोभिड अस्पताललाई विरामीको उपचारका लागि आवश्यक पर्ने स्रोत साधनमा सहयोग गर्ने प्रतिवद्धता जनाए।

‘महामारी रोक्न कस्ता सामाग्री तथा उपकरण आवश्यक पर्छन्। तिनको बजारमा उपलब्धता कस्तो छ? यसै भन्‍न सकिने अवस्था छैन। तर, महामारी नियन्त्रणमा हामीले हात उठाउन मिल्दैन', उनले भने, 'उपलब्ध साधनको उच्चतम उपयोग गरेर महामारी रोकौँ। हाम्रो प्राथमिकता भनेको संक्रमण र यसबाट हुने मानवीय क्षति रोक्नु हो। यसका लागि तपाईंहरुलाई आवश्यक पर्ने थप स्रोतमा हामी सहयोग गर्छौँ।’

उनले चर्चा कमाउन नभई अस्पतालमा परेको विरामीको चाप घटाउन आइसोलेसनको भूमिका हुनुपर्ने बताए। अन्य थप संयन्त्र बनाएर भन्दा अस्पतालहरूको क्षमता बढाएर महामारी नियन्त्रण गर्न सजिलो हुने उनको भनाइ थियो।  

छलफलमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्ले, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, निजामति कर्मचारी अस्पतालका निर्देशकहरू डा. विधाननिधि पौडेल र डा. विमलकुमार थापासहितका चिकित्सक सहभागी थिए।

  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार २०:२९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया