नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा अबको सत्ता साझेदारीका लागि वार्ता सुरु भएको छ । यो वार्तामा नेकपा एमालेका दुई नेता माधवकुमार नेपाल र भीम रावल सहभागी छन् ।
स्रोतका अनुसार अब बन्ने सत्ताबारे छलफल गर्न देउवा निवासमा यो भेटघाट गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा संसदमा विश्वासको मत नपाएपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आग्रह गरेकी छिन् ।
यो प्रक्रियामा अहिले नेपाली कांग्रेसले अबको सरकारको नेतृत्व गर्ने मनासयका साथ वार्ताहरुलाई अगाडि बढाएको छ । कांग्रेस सभापति देउवाले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवलगायतलाई भेट गरिसकेका छन् ।
यसअघि नेकपा एमाले माधव नेपाल समूहका नेताहरुले अबको सत्ता साझेदारीका लागि आफूहरुको कुनै भूमिका नहुने र यसमा सरोकार नराख्ने विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा अनुपस्थित भएका नेपाल समूहका २७ जना सांसदमाथि एमालेले कारवाही गर्ने सम्भावना बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।