गाली सहन तयार छौँ तर ओलीसँग आत्मसमर्पण गर्दैनौँ : घनश्याम भुसाल

नेकपा एमालेको असन्तुष्ट समूहका नेता घनश्याम भुसालले बरु गाली सहने तर केपी ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन्। एमालेको असन्तुष्ट माधवकुमार नेपाल समूहले नयाँ पार्टी खोल्ने चर्चा भइरहेका बेला नेता भुसालले आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हुने पनि बताएका छन्। 

भुसालले बुधबार सामाजिक सञ्‍जालमा सार्वजनिक गरेका भनाइले एमाले अब मिल्नै नसक्ने दिशातर्फ गएको संकेत गरेको छ। उनले हिजो पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेर पार्टी विभाजन ढाकछोप गर्न खोज्नेहरूले आज झलनाथ खनाल-माधव नेपालहरुलाई गाली गरेर बाँकी रहेको एमाले फुटाउन लागेको पनि तर्क गरेका छन्। 

'हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो', उनले भनेका छन्, 'आज झलनाथ-माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ।'

नेता भुसालले हिजो नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुन:स्थापित हुँदा दोस्रो पटक असफल भएका शक्ति भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। 

'आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुन:स्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्‍ने दावीको खण्डन हुँदैन', उनले अगाडि भनेका छन्। 

उनले विद्रोहले क्रान्तिमा योगदान गरे नगरेको विषयमा अझै पनि बहस भइरहेको बताउँदै तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हुने तर्क गरेका छन्। 'विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ', उनले भनेका छन्, 'तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्‍ने कुरा हामीलाई राम्ररी थाहा छ।'



एमालेको विवाद बढ्दै गर्दा यही वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने क्रममा भुसालसहित माधवपक्षीय २८ सांसद अनुपस्थित भएका थिए। तर उनीहरुमाथि एमालेले अझै कारबाही अघि बढाएको छैन। एमाले मिलाउने कोसिस जारी रहेका बेला उनले ओलीसामू आत्मसमर्पण गरेर सम्झौता नगर्ने संकेत गरेका हुन्। 



  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार ११:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया