गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङलाई विस्थापित गरेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको योजना करिब तुहिएको छ।
एमालेबाट निर्वाचित मुख्यमन्त्री गुरुङको विकल्पमा नयाँ सरकार बनाउने कांग्रेस-माओवादी प्रयास जनमोर्चाका एक सांसद कृष्ण थापाका कारण तुहिने अवस्थामा पुगेको हो।
गण्डकी प्रदेशसभामा जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार निर्माणका लागि हस्ताक्षर गर्न नमानेपछि कांग्रेस-माओवादीको योजना फेल भएको हो।
सांसद थापाको हस्ताक्षर लिन काठमाडौंबाट अध्यक्ष चित्रबहादुर केसीले महासचिव मनोज भट्टराई पोखरा पठाएका थिए। जनमोर्चा अध्यक्ष केसीको निर्देशन अवज्ञा गर्दै थापाले विपक्षीको सरकार बनाउने प्रस्तावमा हस्ताक्षर नै नगरी बागलुङ पुगेका छन्।
'म त आजै बागलुङ घर आइपुगेँ, अहिले मत जैनीमैनी नगरपालिकास्थित मेरो घरमै पो छु त', उनले फरकधारसँग भने, 'कयौँ राष्ट्र विरोधी सन्धि सम्झौता गरेको, देशका उद्योग कलकारखाना बेचेको कांग्रेसलाई समर्थन गर्न म सक्दै सक्दिनँ। मलाई जोसुकैले जस्तो दबाब दिए पनि म कांग्रेसलाई सघाउन नसक्ने भएकै कारण पोखरबाट बागलुङ घर आइपुगेको छु।'
कांग्रेस-माओवादीको योजनामा हस्ताक्षर गर्न नमानेका उनलाई फकाउन जनमोर्चा महासचिव भट्ट अहिले पोखरामै छन्। उनले आफू कुनै पनि हालतमा थापाको हस्ताक्षर लिएर आउने भन्दै पोखरामा कुरिरहेका छन्। तर थापा भने हस्ताक्षर नगरी सुटुक्क बागलुङ पुगिसकेका छन्।
'म त राजनीति गर्ने मान्छे, कांग्रेसलाई साथ दिने कुरै आउँदैन। हिजो कांग्रेसविरुद्ध नै चुनाव लडेको मान्छे आज कसरी साथ दिन सक्छु', उनले भने, 'अझै केही वर्ष कांग्रेसलाई सत्तामा आउन दिनु हुँदैन भन्ने मान्छे हो म। त्यसैले मलाई कसैको निर्देशनले छुँदैन। म पोखरामा छैन, अहिले बागलुङ घरमा छु। साथीहरुले राजनीतिको भलिबल खेल्न खोजे। मनोजजीको खेल पनि केही दिनमा पर्दाफास हुन्छ।'
उनले आफूलाई विपक्षीको प्रस्तावमा हस्ताक्षर नगरे बापत गर्ने कारबाही भोग्न तयार रहेको बताए। 'मलाई कारबाही गरे गरुन्, फाँसी नै त नहोला नि!', उनले भने, 'राजनीति गर्ने मान्छे हुँ, यो मैदानबाट हटाइए, अरु मैदानहरू तयार भइ जान्छन् नि, तर म आफ्नो अडानबाट ज्यान गए पछि हट्दिनँ, त्यहीकारण म बागलुङ आएको हुँ।'
जनमोर्चाका सांसदहरुलाई पार्टीकी सचेतक पियारी थापाले कांग्रेस-माओवादीसहितले बनाउने नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्न ह्विप लगाएकी थिइन्।
थापाको साथ लिन माओवादी-कांग्रेसले नसकेपछि गण्डकीमा फेरि गुरुङ नै मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ। यसअघि गुरुङलाई लगाइएको अविश्वास प्रस्तावमा मतदान गर्न नमानेर आईसीयुमा बस्न पुगेका जनमोर्चाकै सांसद खिमविक्रम शाहीले भने माओवादी-कांग्रेसको अगुवाइमा बन्ने सरकारलाई सघाउने भएका छन्। उनले यसअघि पनि दलको निर्देशन अनुसार गुरुङविरुद्धको अविश्वासमा उभिने बताएका थिए।
मुख्यमन्त्री गुरुङले केही दिनअघि पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार बनाउन आह्वान गरेकी थिइन्। पौडेलले दिएको तीन दिनको समय सकिँदै गर्दा कांग्रेस-माओवादीको तनाव बढेको हो।
अघिल्लो पटक बिरामी परेर अनुपस्थित भएका खिमविक्रम शाही पार्टीको निर्णय मान्न तयार भए पनि दलका नेता थापाले नमानेका कारण कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएको हो ।
थापाले आफूलाई कसैको ह्वीपले फरक नपर्ने बताए। थापालाई दोहोरो दबाब छ। केन्द्रबाट पृथ्वी सुब्बा गुरुङको विपक्षमा उभिने र भूगोलबाट कांग्रेस-माओवादीलाई साथ नदिने। थापाले बागलुङबाट आफूलाई फरक किसिमको दबाब रहेको बताउँदै आएका छन्। गण्डकीमा राजमोका ३ सांसद छन्। एमाले र माओवादी-कांग्रेस दुवैको सत्ताको खेलमा यी सांसद निर्णायक हुँदा तानातान भएको हो।
मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई गरेको तीन दिनको आव्हान अपरान्ह ४ बजे सकिँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।