संक्रमितको ज्यान जान थालेपछि हेलिकोप्टरबाट बुटवल पुर्‍याइयो अक्सिजन

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेकाहरुको धमाधम ज्यान जान थालेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत अक्सिजन भरिएका सिलिन्डर बुटवल पुर्‍याइएको छ।

नेपाली सेनाको हेलिकोप्टरले बाराको सिमरा र चितवनबाट अक्सिजन भरिएका ५० सिलिन्डर बुधबार साँझ बुटवल पुर्‍याएको हो। बुटवलका मेयर शिवराज सुवेदीका अनुसार सिमरा र चितवनबाट एयर लिफ्ट गरेर ती अक्सिजन सिलिन्डर भैरहवा विमानस्थलमा उतारिएको छ ।

मेयर सुवेदीका अनुसार अब बिहीबार बिहान २ पटक मा थप एक सय सिलिन्डर ल्याइँदैछ। ती सिलिन्डर अक्सिजन ल्याउन सकेमा बिरामीको ज्यान बचाउन सहज हुने उनले बताए।

अर्थमन्त्री विष्णु पौडेलले अक्सिजन एयर लिफ्टका लागि नेपाली सेनालाई आग्रह गरेका थिए। उनका स्वकीय सचिव याम पाण्डेले नेपाली सेनाको एयर लिफ्टमार्फत अक्सिजन ल्याइदिएपछि बुटवलको संकट तत्काललाई टरेको बताए। 

उनका अनुसार भोलि बिहानसम्म विराटनगरबाट १६० सिलिन्डर अक्सिजन हेलिकोप्टरबाटै ल्याइँदैछ। शुक्रबारबाट भारतदेखि लिक्विड टंयाकर आएपछि बुटवलमै अक्सिजन उत्पादन हुन थाल्नेछ। 

अक्सिजन अभाव नभएको पूर्वी जिल्लाका अक्सिजन प्लाण्टहरुबाट भरिएको सिलिण्डर सहित नेपाली सेनाको हेलिकप्टर रुपन्देही आउँदै गरेको अर्थमन्त्री पौडेलका स्वकिय सचिव यम पाण्डेले जनाएका छन् ।



सैनिक हेलिकप्टरमा ल्याएका अक्सिजन सिलिन्डरलाई बुटवलस्थित धागो कारखानाको कोरोना विशेष अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा प्रयोगमा लगाइने बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीले बताए। 

हेलिकप्टरबाट ल्याइएको अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न नगरप्रमुख सुवेदी भैरहवा विमानस्थल पुगेका थिए। ती अक्सिजनलाई अब ट्रकमा राखेर सम्बन्धित अस्पतालमा लगिँदैछ। कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएकै कारण आज ५ जनाले ज्यान गुमाएका थिए ।



आजै ५ जनाको मृत्यु

आजै बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसियुमा अक्सिजन सकिएपछि ५ जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा १ महिला र ४ पुरुष थिए।

अक्सिजन अभावमा २९, ५२, ५४, ४४ र ५२ वर्षीय संक्रमितको मृत्यु भएको उक्त अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार २०:३१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया