नेकपा एमाले असन्तुष्ट समूहका नेता योगेश भट्टराईले चार नेतामाथि भएको कारबाही फुकुवालाई सकारात्मक भनेका छन्। आज बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनामाथिको कारबाही फुकुवा गरेपछि भट्टराईले यसो भनेका हुन्।
बालुवाटार बैठकबाट नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवाको निर्णय लिएको छ। बालुवाटार बैठकको उक्त निर्णयपछि नेता भट्टराईले हिजोको गल्ती सच्चिएकाले अब बसेर सहमति बनाउनुपर्नेमा जोड दिएका छन्।
'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो', भट्टराईले भनेका छन्, 'अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ।'
नेता भट्टराई माधव नेपाल समूहमा रहेर ओली पक्षमा निरन्तर संवादमा थिए। उनले यसबीचमा ओली, विष्णु पौडेल, सुवास नेम्बाङ र ईश्वर पोखरेलसहितका नेतासँग पटक पटक संवाद गरेका थिए।
नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नजाने निर्णय गरेको दिन वैशाख २७ मा पनि भट्टराई, गोकर्ण विष्णसहितले विष्णु पौडेल र सुवास नेम्बाङसहितसँग वार्ता गरेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।