आजलाई बन्द भयो संसद सचिवालय, पुगेन माधव पक्षको राजीनामा

नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले राजीनामा दिने भनिएको समय घर्किएको छ। यो समूहका १० देखि १३ जनासम्म सांसदहरुले आज अपरान्ह ४ बजेसम्म पदबाट राजीनामा दिने भनिएको थियो।

माधव पक्षीय नेता भीमबहादुर रावलले ओलीले माग पूरा नगर्ने भन्दै आजै अपरान्ह ४ बजेसम्म सांसद पदबाट राजीनामा दिने बताएका थिए। तर संसद सचिवालयमा माधव पक्षीय कुनै पनि सांसदले राजीनामा पत्र आज दर्ता गराएनन्। 

माधव पक्षीय सांसदहरुले राजीनामा दिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फेरि सरकारमा आउन नदिने योजनासहित राजीनामा तयारी गरेका थिए। उनीहरुको राजीनामापछि नयाँ सरकार निर्माणमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्नो पक्षमा बहुमत पुग्न आश गरेका थिए। 

ओलीलाई अझै गलाउने भन्दै यसअघि मंगलबार माधवकुमार नेपाल र भीम रावल कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठ पुगेका थिए। जहाँ माधव पक्षीय सांसदहरुले राजीनामा दिएर आफूहरुलाई संसदमा बहुमत पुर्‍याइदिए आगामी चुनावमा जिताउने ग्यारेन्टी लिने कुरा देउवाले गरेका थिए।

कांग्रेस-माओवादी योजनाको सुइँको पाएपछि एमाले अध्यक्ष ओलीले माधव नेपालसँग वार्तालाई तीव्रता दिए। उनले कांग्रेस-माओवादीलाई रोक्ने योजनासहित वार्तालाई तीव्रता दिएर आजको स्थायी कमिटीमार्फत नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता लिएका छन्।

त्यसअघि उनले बुधबार राति दूतका रुपमा नेता गोकुल बास्कोटालाई कोटेश्वर पठाएका थिए। बास्कोटाले कुरा गरेर फर्किएपछि आज बिहान ८ बजे विष्णु पौडेल गएका थिए। बिहान फोन वार्ता गरेपछि ओलीले पौडेललाई कोटेश्वर पठाएर कारबाही फिर्ता गर्न स्थायी कमिटी राख्ने जानकारी गराएका थिए।  



बिहान बसेको स्थायी कमिटी बैठकले कारबाही फुकुवा गरेलगत्तै ओलीले बालुवाटारबाटै चारै नेतालाई कारबाही फुकुवाको पत्र पठाइदिए। अनि नेपाललाई फोन गरेर वार्ताका लागि चपली हाइट बोलाए।

चपली हाइटस्थित मिडिया उद्यमी रामेश्वर थापाको घरमा करिब ३ घण्टादेखि वार्ता जारी छ। यो वार्ता अझै लम्बिने अनुमान गरिएको छ। दुई नेताबीच वार्ता चलिरहँदा सिंहदरबारस्थित संसद सचिवालय बन्द भएको छ।



नेताहरु भीम रावल र रामकुमारी झाँक्रीले भने जस्तो ओलीसँग आत्मसमर्पण नगरी विद्रोह गर्ने म्याद आजलाई सकिएको छ।  नेपाल समूहको राजीनामा रोकिएको र जसपा महन्थ ठाकुर समूहका सांसदलाई रिसोर्टमा राखिएपछि कांग्रेस-माओवादीले राष्ट्रपतिबाट प्राप्त समय सीमाभित्र सरकार बनाउने सम्भावना पनि अब करिब सकिएको छ। 

  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार १७:५९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया