प्रदीप पौडेलको टिप्पणी : माधव र जसपाले हिम्मत गरेनन्, तर कांग्रेस हारेको छैन
महामारीमा कम्युनिष्ट उत्तरदायी नबनेको आरोप

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले कम्युनिष्ट पार्टीभित्रको अराजनीतिक र अलोकतान्त्रिक लुछाचुँडी देश  संकटमा पर्दै गएको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा  ओली तेस्रो पटक प्रधानमन्त्री भएको भोलिपल्ट पौडेलले यस्तो टिप्पणी गरेका हुन्। 

उनले नेपाली कांग्रेसलाई जनताले ५ वर्षकै लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका पनि स्मरण गरेका छन्। 'हामीलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका थिए । हाम्रो चाहना पनि त्यही थियो', उनले भनेका छन्, 'तर कम्युनिष्ट पार्टीको अराजनीतिक, अलोकतान्त्रिक र मर्यादाहीन लुछाचुँडीले देशको अवस्था तरल बन्दै गयो । राजनैतिक कुसँस्कार, भ्रष्टाचार, महँगी, कालोबजारी, बलात्कार, जस्ता जघन्य अपराध बढ्ने श्रृखंला झन् झन् मौलाउँदै गयो।'

उनले कम्युनिष्ट पार्टीकै रडाकोका कारण  संसद विघटन गरी जनताको अपमान गरिएको पनि जिकिर गरेका छन्। 'संविधान मिच्नेदेखि संसद विघटन गरेर जनमतको अपमान गर्नेसम्मको दुस्साहस केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले गर्‍यो', उनले अगाडि भनेका छन्, 'उनीहरूको आन्तरिक लडाइँ र सत्ता हत्याउने खेलले देश बर्वादीतिर धकेल्दै गएपछि नेपाली कांग्रेसले बारम्बार खबरदारी गर्दै आएकै हो।'

आफ्नै रडाको कारण कम्युनिष्ट सरकारले विश्वास गुमाएको पनि उनले बताएका छन्। पौडेलले कोभिड महामारीले देश थिलथिलो हुँदा पनि सरकारले भ्याक्सिन उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

'कोभिड महामारीले देश थिलथिलो हुँदा पनि जोखिम कम गर्न सरकारले भ्याक्सिन उपलब्ध गराउन सकेन। कमिसनको खेल र अनियमितता गर्नेलाई कुनै कार्वाही गर्न सकेन', पौडेलले थपे, 'स्वास्थ्य क्षमता वृद्धि गर्न सकेन । महामारी नियन्त्रण गर्न सकेन। सबै क्षेत्रमा चुकेको सरकार लम्पसार परेपछि कांग्रेससँग गुहार माग्दै आयो। देश नेतृत्वविहीन हुन दिनुहुँदैन भनेर हामीले अग्रसरता देखायौँ। हामीले आफूलाई कुनै उत्तेजक बनाएनौँ । नेतृत्व लिनुपर्ने स्थिति आयो, हामीले पहल गर्यौ । परिस्थिति फरक बन्यो।'

उनले कांग्रेसले सरकारको नेतृत्व लिन खोजे पनि एमालेकै माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीले हिम्मत देखाउन नसकेको बताए।  'जसपा र माधव नेपाल समूहले कुनै हिम्मत देखाउन सकेनन्', सरकार बनाउन असफल भएकोबारे उनको टिप्पणी छ, 'हामी लोकतान्त्रिक मूल्य मान्यताका आधारमा अघि बढिरहेका छौँ । हामीले संयमता र नैतिकता गुमाएनौँ।'



नेता पौडेलले नेपाली कांग्रेस अहिले पनि संविधानसँग प्रतिवद्ध रहेको बताएका छन्। 'नेपाली कांग्रेस संविधानप्रति प्रतिवद्ध छ। हामीसँग राजनैतिक संस्कार छ', उनले अन्तिममा भनेका छन्, 'लोकतन्त्र, संविधान र जनताका लागि जस्तोसुकै लडाइँ लड्न तयार छौं। हाम्रो लडाइँ सधैँ विवेकपूर्ण र संयमित हुन्छ। हामीले हारेका छैनौँ।'



  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार १२:२२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया