'माधवजीले धोका दिएको भनिहाल्न मिल्दैन, कुरा हुँदैछ, फेरि भेट हुन्छ'
ओलीले गराउने चुनावमा सहभागी नहुने संकेत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने बताएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विरुद्ध बैकल्पिक सरकार गठनको प्रयासमा लागेका माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली पुन: प्रधानमन्त्री बनेपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताए। 

दाहालले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने  र संविधान र राष्ट्रको बचाउको पक्षमा निरन्तर संघर्ष गर्ने उल्लेख गरे। 

सरकार गठनमा नेकपा एमालेको नेपाल खनाल समूहबाट धोका भएको हो भन्ने जिज्ञासामा उनले अहिले नै त्यसो भनेर टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिए।

'चुनौतीपूर्ण पनि छ, सम्भावना पनि छ । हामी आफ्नो ढंगले अघि बढ्छौँ संविधान र लोकतन्त्रको रक्षाको निम्ति । संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको हाम्रो संघर्ष जारी रहन्छ। प्रतिपक्षीको हैसियतले गलत कामको आलोचना हुन्छ', उनले भने, 'जनताको राहत दिने र संविधान र राष्ट्रको बचाउको पक्षमा हामी निरन्तर संघर्षमा हुन्छ । अहिले म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्न, भर्खर पनि हामी कुरा गर्दैछौँ ।'

दाहालले नेपाल पक्षमा आफूहरुसँग मिल्न केही समस्या भएको अनुमान गरे। 'उहाँहरुभित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरु आफू पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षरत नै हुनु भएकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ', दाहालले भने, 'म आशा गर्छु उहाँहरु सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एकैठाउँमा फेरि पनि भेट हुन्छ भन्ने म ठान्छु।'



दाहालले असंवैधानिक ढंगले हुने निर्वाचनको विरोध गर्ने पनि बताएका छन्। 'संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको निम्ति पार्टी जहिले पनि तयार हुन्छ', दाहालले भने, 'संविधान विरोधी भयो भने मात्रै हाम्रो विरोध हुने हो, आलोचना हुने हो। संविधान अनुसार हुने चुनावमा हाम्रो सहभागिता हुन्छ।'

दाहालले पत्रकारको अर्को जिज्ञासामा संविधानको ७६ (५) मा पनि माधव नेपालहरुसँग भेट हुन सक्ने बताए। संविधानको त्यस धारामा प्रधानमन्त्रीले ७६ (४) अनुसार विश्वासको मत नलिएमा बहुमत पुर्‍याउँछु भन्‍ने कुनै सदस्यलाई राष्ट्रपतिले ५ अनुसार प्रधानमन्त्री बनाउने व्यवस्था छ। त्यसबेला सांसदहरुलाई ह्विप नलाग्ने भएकाले प्रचण्डले माधवसँग त्यहाँ भेटको अनुमान गरेका हुन्। 



  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार १८:२०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया