सरकारले विभिन्न ११ मुलुकका लागि राजदूत सिफारिस गरेको छ । राजदूत नियुक्तिका लागि सिफारिस हुनेहरुमा पूर्वमन्त्रीदेखि परराष्ट्र मन्त्रालयका सहसचिवसम्म रहेका छन् ।
सरकारले राजदूतका लागि परराष्ट्र मन्त्रालयका २ जना सहसचिवसहित ११ जनाको नाम सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमै बसेको मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको हो ।
सरकारले एमाले केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता रमेशचन्द्र पौडेल, पाल्पाका पूर्वसांसद तथा एमाले नेता कुलप्रसाद नेपाललाई राजदूत सिफारिस गरेको छ ।
कार्कीलाई बहराइन, पौडेललाई श्रीलंका र नेपाललाई ब्राजिलका लागि राजदूत सिफारिस गरिएको हो ।
यस्तै, परराष्ट्र सेवाका सहसचिवहरु निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठलाई पनि राजदूतका लागि सिफारिस गरिएको छ । काफ्लेलाई अष्ट्रिया र श्रेष्ठलाई इजिप्टका लागि सिफारिस गरिएको छ ।
उनीहरुसँगै दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रुसका लागि जंगबहादुर चौहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरेबियाका लागि मेराज मुसलमानलाई सिफारिस गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।