पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका कट्टर आलोचकका रुपमा चिनिन्छन् डा. बाबुराम भट्टराई। एमाले भित्रैबाट चर्को घेराबन्दीमा परेमा ओलीमाथि गोरखामा कांग्रेसको साथ पाएर चुनाव जितेका डा. भट्टराईले निरन्तर प्रहार गरिरहे।
आलोचनाका क्रममा डा. भट्टराईले पटक पटक ओलीमा भष्मासुर प्रवृत्तिको अन्त्य गर्नै पर्ने पनि बताए। उनी एमालेको विवाद बढिरहँदा केही दिन पेटको अपरेसनका लागि वीर अस्पतालमा भर्ना भए। त्यहाँबाट डिस्चार्ज भएपछि सक्रिय भएका डा. भट्टराई आफूले कडा आलोचना गर्दै आएका प्रधानमन्त्री ओलीलाई नै भेट्न रातिको समयमा बालुवाटार छिरेको खबर आयो।
बाबुराम बालुवाटार छिरेको खबर अरु कसैले नभइ ओलीनिकट मानिने एमाले नेता महेश बस्नेतले शनिबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा सार्वजनिक गरे। ओलीसँगको उक्त भेटमा डा. भट्टराईले आफूलाई एक पटक प्रधानमन्त्री बनाइदिन भन्दै अनुनयविनय गरेको दाबी बस्नेतले पत्रकार ऋषि धमलासँग गरेका थिए।
महेशले उक्त दाबी गरेपछि डा. भट्टराईले आफ्नो सचिवालयमार्फत त्यसबारे बोल्न लगाए। जहाँ उनले आफू बालुवाटारमा गएर प्रधानमन्त्री पद मागेको भन्दा राष्ट्रिय सरकारको प्रस्ताव गर्न गएको दाबी उनले गरेका छन्।
महेशको दाबी
डाक्टर भट्टराईले प्रधानमन्त्री बन्न माहोल बनाइदिन बालुवाटार पुगेर ओलीलाई आग्रह गरेको दाबी बस्नेतले गरेका छन्। उनले आफू अब बुढो पनि भइसकेकाले ७० काटेपछि राजनीति नगर्ने भन्दै एक पटक प्रधानमन्त्री बन्ने माहौलका लागि ओलीसँग हारगुहार लगाएको दाबी बस्नेतले गरेका छन्।
बस्नेत आफूलाई एमालेभित्र ओलीनिकट दाबी गर्छन्। 'म ६८ वर्ष पुगेँ। ७० बाट राजनीति नगर्ने सोच छ। तपाईंले मलाई प्रधानमन्त्री बन्न माहोल मिलाइदिनु पर्यो', केही दिनअघि राति १ बजे भट्टराईले बालुवाटारमा ओलीलाई भनेको भन्दै बस्नेतले धमलासँग सेयर गरेका छन्।
तर ओलीले डा. भट्टराईलाई निराश बनाइदिएको दाबी उनको छ। ओलीले बाबुरामलाई अहिलेको अवस्थामा एक सिटेलाई प्रधानमन्त्री कल्पना गर्नै नसकिने जवाफ दिएर फर्काइदिएको दाबी उनले गरेका छन्।
'महन्थको १९ सिट, उपेन्द्रको १२-१३ सिट, तपाईंको जम्मा १ सिट होइन? १२१ सिटको म प्रधानमन्त्री नहुने अनि १ सिट तपाईंले प्रधानमन्त्री हुने?', ओलीको जवाफबारे बस्नेतले प्राइम टाइम टेलिभिजनमा भने।
ओलीले एकै पटक उत्तेजित र निराश बनाएपछि भट्टराईले प्रधानमन्त्रीमा आफ्नो माहोल नबनेको निचोड निकालेका थिए। ओली सरकार नढल्ने अवस्था आएपछि उनले तत्कालै 'पूर्वप्रधानमन्त्री बाहेकको नयाँ राष्ट्रिय सहमतिको सरकार बनाऊँ', भन्दै ट्वीट गरेका थिए। उनले आज मात्रै बस्नेतको भनाइको खण्डन गर्दै आफूले देशको प्रधानमन्त्री मात्रै भेटेको तर केपी ओलीलाई नभेटेको अर्को तर्क गरेका छन्।
डा. भट्टराईले आफू प्रधानमन्त्री हुने सम्भावना सकिएपछि उनले त्यो ट्वीटमा ओलीसँगै अरु कुनै पनि पूर्वप्रधानमन्त्रीहरु प्रधानमन्त्री नहुन् भन्ने तर्क सारेका थिए। तर सरकार बनाउने खेलमा बाबुराम मात्रै असफल भएनन्, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र उपेन्द्र यादवसमेत नराम्ररी चिप्लिन पुगे।
जसपाको विवाद
करिब आधा दर्जन मधेसवादी पार्टी मिलेर बनेको जसपामा सत्ताका लागि दुई समूहबीच रडाको छ। २०७७ वैशाखमै फुटको संघारमा पुगेर जोगिएको जसपा अहिले प्रष्ट दुई कित्तामा छ। एउटा समूहको नेतृत्व प्रथम अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले गरेका छन्। अर्को खेमामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई छन्।
ओलीले आफूमाथि घेराबन्दी सुरु भएपछि जसपाको ठाकुर समूहसँग केही महिना अघिबाटै संवाद बढाएका थिए। आफूलाई सत्ताबाट हटाउन माओवादी, कांग्रेस र एमालेकै माधवकुमार नेपाल समूहले मोर्चाबन्दी गरेको बुझेपछि संसदको अंक गणितलाई आफ्नो पक्षमा पार्ने गरी ओलीले ठाकुर पक्षलाई फकाएका थिए।
ओली लामो समय कांग्रेसको राजनीति गरेर मधेसवादी दलको राजनीतिका मूल पिलर बनेका ठाकुरका माग सम्बोधन गर्ने आश्वासनसहित आफूलाई सघाउन आग्रह गरे। त्यही अनुसार ओलीले मधेस आन्दोलनका क्रममा लागेका १५ वटा मुद्दा पनि फिर्ता गरिसकेका छन्। जसमा मधेस आन्दोलनका क्रममा मुद्दा खेपिरहेका १२० जनालाई राहत मिलेको छ।
ओलीले संविधान संशोधन, नागरिकता विधेयक, अन्य मुद्दा फिर्ता र जेलमा रहेका रेशम चौधरीबारे पनि सरकारले उपयुक्त निर्णय लिने भनेपछि महन्थले त्यही अनुसार राजनीति घुमाइदिए।
महन्थको अडानले राष्ट्रपतिले वैशाख २७ मा तीन दिनभित्र सरकार बनाउन दिएको समयमा कांग्रेस र माओवादी असफल भए। यसले जसपाकै उपेन्द्र यादव पनि जिल्लिए। उपेन्द्र र बाबुरामले कांग्रेस-माओवादीलाई साथ दिएका थिए।
बाबुरामको दाउ
ओलीलाई बिदा गर्ने रणनीतिसहित कांग्रेस सभापति शेरबहादुर देउवाले आफैं सरकार बनाउने रणनीतिसहित निर्णय गराएका थिए। विपक्षीमध्ये ठूलो दल कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने योजना वैशाख २० मा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा नदिएपछि तुहियो।
अर्कातिर सत्ताको खेलमा पुष्पकमल दाहाल प्रचण्ड पनि थिए। तर उनले वैशाख २३ सम्म सरकारको समर्थन नै फिर्ता गर्न सकेनन्। ओलीले विश्वासको मत लिने भएपछि मात्रै कांग्रेसले आफ्नो राजनीतिक लाज जोगाउन समर्थन फिर्ताको निर्णय लियो।
यस्तोमा जसपा अध्यक्ष डा. भट्टराई पनि आफू प्रधानमन्त्री बन्ने दाउमा थिए। देउवा, प्रचण्ड प्रधानमन्त्री हुन नसक्ने विश्लेषण गरेका उनले आफू अघि सरेमा सबै दलको समर्थन जुट्ने आँकलन गरेका थिए। आफू अघि सरेमा जसपाको ठाकुर समूह र एमालेको माधव नेपाल समूहले पनि साथ दिने बुझाइ उनको थियो। त्यसैले उनी ओलीलाई कुनै हालतमा हटाउनुपर्ने धारणासहित सामाजिक सञ्जालमा चर्का कुरा गरिरहेका थिए।
ओलीलाई हटाउन सकेको अवस्थमा आफू प्रधानमन्त्री बन्ने योजना बुनेका उनी पनि सफल हुन सकेनन्। भारतीय संस्थापनको पनि समर्थन लिएर अघि बढ्न खोजेका भट्टराईले प्रधानमन्त्रीमा आफू अघि सर्दा प्रचण्डको पनि समर्थन मिल्ने गरी कुरा मिलाएको स्रोत बताउँछ। तर ओली-ठाकुर मिलनले संसदीय राजनीति उनले चाहे भन्दा उल्टो दिशामा गएपछि राष्ट्रिय सहमतिको कार्ड फ्याँके।
के भने बाबुरामले ?
डा. भट्टराईले राष्ट्रिय प्रधानमन्त्री ओलीलाई केही दिनअघि भेटेर राष्ट्रिय सहमतिको सरकार बनाउन सुझाव दिएको बताएका छन्। संसदबाटै सरकार बन्ने सम्भावना हुँदा हुँदै उनले राष्ट्रिय सहमतिको सरकार खोज्नु अनौठो मानिएको छ। यदि राष्ट्रिय सहमतिको सरकार बन्ने भएमा आफूलाई सजिलो हुने उनको आँकलन हुन सक्छ।
महेश बस्नेतले हिजो आफू बालुवाटार गएको बारेमा सार्वजनिक रुपमा बोलिदिएपछि उनले वर्तमान र पूर्वप्रधानमन्त्री बाहेकको राष्ट्रिय सरकार बनाउने प्रस्तावका लागि भेटेको दाबी गरेका छन्।
‘प्रमले दूतमार्फत बोलेकाले बोल्नै पर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली होइन, प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ भनेकै हो', उनले भनेका छन्, 'उहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिन्छ। सोचौं।’
महेशलाई जवाफ दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आइतबार बिहान ट्वीटमार्फत संविधानको धारा ७६ को उपधारा (५) बमोजिम राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने सुझाएको बताए।
ओलीले मानेनन्
ओलीसँग भेटवार्ता गरेर हाल र पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतीय सरकार निर्माण गर्न प्रस्ताव राखेको स्पष्टीकरण उनले दिएका छन्।
बाबुरामको उक्त प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका छन्। उनले अहिलेका विषम परिस्थिति र जनताले आफूलाई पाँच वर्षका लागि भोट दिएर पठाएका राष्ट्रिय सरकारको आवश्यकता नरहेको जवाफ दिएका थिए ।
त्यस्तै अध्यक्ष भट्टराईले कोरोना भाइरसको संक्रमणले नागरिकको अवस्था नाजुक भइरहेका बेला देशलाई निकास दिन आफूले केपी ओलीलाई नभई देशको प्रधानमन्त्रीसँग भेट गरेको पनि बताएका छन् ।
पार्टी विभाजनको संघारमा रहेका बेला उनले केपी ओली नेतृत्वको सरकारको विकल्पमा उक्त प्रस्ताव अघि सारेका थिए। एमाले नेता महेश बस्नेतले बाबुराम आफैंले ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन सहयोग मागेको तर्क गर्दै गत वर्ष संघीय समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भनेर आरोप लगाउनु राजनीतिक स्टन्ट मात्र भएको दाबी गरेका थिए।
के छ व्यवस्था?
ओलीले दुई दिनअघि अल्पमतको सरकार बनाएका छन्। अब उनले ३० दिनभित्र संसदमा बहुमत प्रमाणित गर्नुपर्छ। त्यस पटक पनि ओली विश्वासको मत असफल भएमा संविधानको ७६ (५) अनुसार सरकार बनाउनुपर्ने हुन्छ।
धारा ५ मा पुगेपछि प्रचण्डले पनि माधव नेपालहरुसँग भेट हुने बताएका छन्। धारा ५ मा सरकार निर्माण पुगेपछि सांसदहरुलाई पनि दलहरूको ह्विप लाग्दैन। यस्तोमा प्रचण्ड-बाबुराम दुवैले यसको फाइदा लिएर सरकार बनाउन सकिने योजना बुनेका छन्।
ओली-नेपाल समूहबीच जारी वार्ताले एमाले एकता गर्न असफल भएमा उक्त अवसरको फाइदा कांग्रेस-माओवादी र बाबुराम-उपेन्द्रले लिनसक्ने देखिन्छ।
अब ओलीले संविधानको ७६ (४) अनुसार विश्वासको मत प्राप्त गर्न नसकेमा बहुमत पुर्याउँछु भन्ने कुनै सदस्यलाई राष्ट्रपतिले उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ। जहाँ सांसदहरूलाई दलको ह्वीप लाग्दैन ।
संविधानको उक्त धारामा यदि उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिन नसकेको अवस्थामा उपधारा २ बमोजिमको कुनै पनि सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।
त्यो भनेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलभन्दा सांसदको बहुमत देखाउने अवस्था हो। जसपा ठाकुर पक्षले ओलीलाई साथ दिएकोले बाबुराम र प्रचण्डले उपधारा ५ बाट सरकार बनाउने कुरा एमालेका माधव नेपाल पक्षले साथ दिएमा मात्रै सम्भव हुने हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।