एक वर्षअघि नेपालमा कोरोनाको पहिलो लहर चलिरहेको थियो। त्यसबेला सरकारले पहिलो पटक लकडाउन गरेको थियो। लकडाउनबीचमा २०७७ जेठ २८ गते प्रतिनिधिसभा बैठक बसेको थियो।
उक्त बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस र नेपालको रोग प्रतिरोधी क्षमताबारे दिएको अभिव्यक्तिको कडा आलोचना गरे। ओलीको बोलीलाई लिएर थापासहित जनस्वास्थ्यविद् र डाक्टरहरुले पनि आलोचना गरे। सर्वसाधारणले पनि विश्वस अस्तव्यस्त बनाएको कोरोनालाई ख्याल ख्याल ठानेको भन्दै प्रधानमन्त्रीमाथि व्यंग्य गरे।
के भनेका थिए ?
भारतसँगै नेपालमा पनि कोरोना भाइरसको पहिलो लहर फैलिरहेको थियो। त्यही क्रममा ओलीले संसदमा सम्बोधन गरेका थिए। संसदमा सम्बोधनका क्रममा उनले नेपालीहरु ताजा र पोषिलो खाना खाने भएकाले कोरोनाले केही गर्न नसक्ने तर्क गरेका थिए।
'नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ, कोरोना धेरै फैलिँदैन', त्यसबेला उनले, भनेका थिए, 'नेपालीहरुले घरेलु उपचार विधिबाटै कोरोनालाई सजिलै पचाउन सक्छन्।'
ओलीले संसदमा दिएको यो अभिव्यक्तिबारे कांग्रेस सांसद थापाले त्यतिबेलै संसदमा प्रश्न उठाए। 'प्रधानमन्त्रीज्यू, तपाइँलाई कसले भन्यो नेपालीको प्रतिरोधी क्षमता बलियो छ भनेर?', गगनको यो प्रश्नपछि संसदमा केही समय दोहोरी नै चलेको थियो।
गगनले प्रश्न गरेपछि ओलीले आफैंले भनेको कुरा नसुनेको भन्दै कटाक्ष गरे। 'अहिले भर्खरै सुन्नु भो नि मैले भनेको ! यो त मैले नै भन्या हो नि', उनले त्यसबेला भनेका थिए, 'नेपालीको रोग प्रतिरोधी क्षमता राम्रो छ भन्ने कुराको चुनौती डाक्टर, वैज्ञानिक र शोधकर्ता अथवा अन्य कहीँबाट आएमा स्वीकार गर्नेछु।’
त्यसबेला ओलीले नेपालीहरु हिमाली हावापानीमा जन्मे हुर्केकाले कोरोनाले हल्लाउन नसक्ने तर्क गरेका थिए। 'नेपालीहरु हिमाली भेगको स्वच्छ हावापानी र पहाडी, जनजीवनमा बसेकाले स्टामिना बलियो छ', उनले तर्क गरेका थिए, 'त्यहीकारण हामीलाई कोरोनाले हत्तपत्त छुन र गलाउन सक्दैन।'
आजको कोभिड खबर
प्रधानमन्त्री ओलीले २०७७ जेठ २८ गते प्रतिनिधिसभामा प्राकृतिक-रेसादार आहार बिहार र हिमालबाट ठोक्किएर आएको हावाका कारण नेपालीको रोग प्रतिरोध क्षमता राम्रो रहेको जिकिर गरेका थिए। 'उकाली ओराली, परिश्रम गर्नेहरुको प्रतिरोध क्षमता बलियो हुन्छ', उनले भनेका थिए, 'यो कुरा वैज्ञानिक हो, विज्ञानले पनि पुष्टि गरेको छ।'
उनले त्यसबेला नेपालीहरुको भान्साको पनि चर्चा गरेका थिए। 'नेपालीहरुको भान्सामा पाउरोटीमा बटर दलेर खाने चलन छैन। दाल चामल, बेसार, नुन, प्याज लगायतका औषधि हरेक दिन खाएकाले प्रतिरोधी क्षमता स्वयंसिद्ध छ,' उनले भनेका थिए, 'शारीरिक व्यायाम र योगा पैदा भएको देशमा प्रतिरोधी क्षमता बलियो हुने कुरामा शंकै छैन। परम्परागत भान्सालाई निरन्तरा दिँदै आएकाले नेपालीहरु कोरोनासँग लड्न सक्षम छन् र बलिया पनि छन्।'
प्रधानमन्त्रीले डाक्टरले जसरी कोरोनाबारे संसदमा लेक्चर दिएपछि सत्तारुढ नेकपाका सांसदहरुले टेबुल ठोकेर समर्थन जनाएका थि। ओलीको त्यो भाषणअघि नै सरकारले आर्थिक वर्ष २०७७/८८ को को नीति तथा कार्यममा नेपालीको रोग प्रतिरोधी क्षमता बढाउने योजना ल्याएको थियो। तर उक्त योजना कहाँ पुग्यो, के हुँदैछ? सरकार र स्वयम् ओलीले पनि त्यसयता बताएका छैनन्।
फेरि बोले
कोरोनाको पहिलो लहर चलि नै रहेको थियो। पहिलो लहर उचाई पुग्दै गर्दा फेरि ओलीले त्यही कुरा माथिल्लो सदनमा दोहोर्याए। २०७७ असार ७ गते बसेको राष्ट्रियसभा बैठकमा पनि ओलीले तल्लो सदनको जस्तै आफ्नो ज्ञान बाँड्ने प्रयास गरे। 'नेपालीको रोग प्रतिरोधी क्षमता राम्रो छ', उनले फेरि भने, 'त्यही कारणले नेपालमा कोरोना भाइरस संक्रमणबाट कम मृत्यु भएको हो।'
दोस्रो लहर
ओलीले अघिल्लो वर्ष जेठ असारमा भनेको उक्त कुरा वर्ष दिन पूरा नहुन पाउँदै दोस्रो लहरले नेपालमा ठूलो संकट ल्यायो। अहिले दैनिक ७ देखि ९ हजार बीचमा कोरोना संक्रमित भेटिएका छन्।
मृत्यु पनि दैनिक २ सय माथि भइरहेको छ। त्यसमा पनि शारीरिक रुपमा बलिया र स्वस्थ नागरिकले पनि धमाधम ज्यान गुमाइरहेका छन्। एक सातायता मात्रै हजार भन्दा धेरै नागरिकले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।
दैनिक बढ्दो संक्रमण र मृत्युदरका कारण नागरिकमा त्रासको अवस्था फैलिएको छ। अर्कातिर पशुपति आर्यघाटमा दैनिक सयभन्दा धेरै कोरोनाबाट ज्यान गुमाएकाहरुको शव जलाउन भ्याइनभ्याइ छ।
नेपालमा दोस्रो लहरमा पहिलो लहरमा भन्दा कयौँ गुणा धेरै मानिसले ज्यान गुमाइरहेका छन्। संक्रमणका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या चार हजार पाँच सय नाघेको छ। अहिलेसम्म संक्रमितको संख्या नै चार लाख ५० नाघेको छ। काठमाडौंमै सक्रिय संक्रमित ५० हजार आसपास छन्।
अक्सिजनबारे प्रधानमन्त्री
नेपालमा १० दिनको कोरोना ग्राफ
जेठ २ गते : संक्रमित ७३६८ (पीसीआर–१९८८३), निको–६६४८ जना, मृत्यु : १४५ जना
जेठ १ गते : संक्रमित ८१६७ (पीसीआर–१८५४८), निको–५४५५, मृत्यु : १८७ जना
वैशाख ३१ गते : संक्रमित ८५२० (पीसीआर–२१४७८), निको–६१३५, मृत्य : २०३ जना
वैशाख ३० गते : संक्रमित ८९६० (पीसीआर–२०२४५), निको–५०५५ मृत्यु : २१४ जना
वैशाख २९ गते : संक्रमित ९३०५ (पीसीआर–२०७८६), निको–४४४४, मृत्यु : १६८ जना
वैशाख २८ गते : संक्रमित ९४८३ (पीसीआर–२१३१६), निको–५२२५, मृत्यु : २२५ जना
वैशाख २७ गते : संक्रमित ९२७१ (पीसीआर–१८४११), निको–४००७, मृत्यु : १३९ जना
वैशाख २६ गते : संक्रमित ८८५० (पीसीआर–१९३८७), निको–४०२२, मृत्यु : ८८ जना
वैशाख २५ गते : संक्रमित ८४१८ (पीसीआर–१८३०४), निको–३३७०, मृत्यु : ५३ जना
वैशाख २४ : संक्रमित ९१९६ (पीसीआर–२०४८२), निको–२९०५, मृत्यु : ५० जना
बोली सच्याउँदै
विश्व जगतलाई नै अस्तव्यस्त बनाउने कोरोनाबारे गत वर्ष बोलेको कुरालाई यो पटकको महामारी देखेपछि ओलीले सच्याउने प्रयास गरेका छन्।
कोरोनाबारे अनुसन्धान गरिरहेका विज्ञ, विश्व स्वास्थ्य संगठन र वैज्ञानिकलाई पनि चुनौती दिने गरी दिएको अभिव्यक्तिलाई अहिले ओली सच्याउने तिर लागेका छन्। एक वर्षअघि बेसार पानी, अम्बाको पात र जडीबुटी खाएमा कोरोना ठीक हुने बताएका ओली अहिले आत्मआलोचित हुने बिन्दुमा पुगेका छन्।
प्रधानमन्त्री ओलीले तेस्रो कार्यकाल सम्हालेपछि आइतबार पोहोरको जस्तै बोले तर थोरै सच्याउने कोसिससहित आइतबार बालुवाटारमा आयोजित कोभिडविरुद्धको सर्वपक्षीय छलफल कार्यक्रममा उनले आफूलाई सच्याउने कोसिस गरेका हुन्।
'मैले यस रुपमा नेपालमा कोभिड-१९ संक्रमण बढ्ला भनेर ठानेको थिइनँ। हाम्रो इम्युन सिस्टम (रोग प्रतिरोधी प्रणाली)धेरै स्ट्रोङ छ, यसमा शंका छैन', उनले भने, 'कोरोना पनि हामीमाझ अलिअलि सर्ला जस्तो लागेको थियो तर यो दरमा वृद्धि होला भन्ने लागेको थिएन।’
बोली फेर्दै प्रधानमन्त्री
तर उनले नेपालीको इम्युन सिस्टम बलियो रहेको भने जिकिर गरिरहे। 'तर पनि इम्युन सिस्टमको काम छैन भन्ने होइन', उनले आफ्नो बोलीको बचाउमा भने, 'जति मान्छे रिभाइभ भएका छन्, त्यसमा अवश्य पनि इम्युन सिस्टमको महत्वपूर्ण भूमिका हुन्छ नै।’
प्रधानमन्त्रीले यो पटक नेपालीको शरीरको प्रतिरोधी क्षमताबारे गत वर्ष दिएको विवादित अभिव्यक्तिलाई सुधार्ने कोसिस गरेका छन्। आत्मालोचनाको संकेतसहित उनले यो पटक कोरोना भयावह भएको स्वीकारेका छन्।
'यस वर्ष संक्रमण दर र मृत्यु हुनेको दरमा देखिएको वृद्धि अलिक धेरै नै छ', उनले भनेका छन्। ओलीको यो पटकको अभिव्यक्तिले उनले कोरोना गम्भीर संकट हो भन्ने बुझेको भान हुन्छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।