\
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । थप दुई जना मन्त्री नियुक्त गर्दै शाहीले आइतबार राति मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।
मुख्यमन्त्री शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले नेकपा माओवादी केन्द्रका सीता नेपाली र गोपाल शर्मालाई मन्त्री नियुक्त गरेका हुन् ।
नेपालीलाई आन्तरिक मामिला तथा कानुन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेपाली र शर्मा यसअघि सपथ खान नपाउँदै पदमुक्त भएका थिए । मुख्यमन्त्री शाहीले गत बुधबार आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा बिन्दमान बिष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा सीता नेपालीलाई नियुक्त गर्ने निर्णय गरेका थिए ।
तर, पार्टी भित्र र सत्ता साझेदार दल नेपाली कांग्रेससँग कुरा नमिलेपछि सपथ नखाँदै तीनै जनालाई बर्खास्त गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।