‘मदन भण्डारीको जस्तो गुण र व्यवहार भएको नेता एमालेमा देखिएन’
सन्दर्भः मदन भण्डारी स्मृति दिवस

आज जेठ ३ गते । एमाले नेताद्वय मदन भण्डारी र जीवनराम आश्रितको २८औं स्मृति दिवस । जनताको बहुदलीय जनवादको प्रतिवादक भण्डारी एक अध्ययनशील र दुरगामी सोच राख्ने नेता हुनुहुन्थ्यो । २०४९ साल माघमा एमालेको पाँचौं महाधिवेशनमा तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीले पेश गरेको जनताको बहुदलीय जनवादको वरिपरि रहेर आज पनि हामीहरू अघि बढिरहेका छौं । 

सम्झनामा मदन

कमरेड जननेता मदन भण्डारीलाई सम्झिँदा उहाँ अध्ययनशील, लेखनशील दूरगामी सोच राख्ने व्यक्ति हुनुहुन्थ्यो । देश र जनताको मर्म अनुसारको बाटो पहिल्याएर नेतृत्व गर्ने, सामूहिक रुपमा छलफल गरी निर्णय गर्ने नेताको रुपमा सम्झन्छु । उहाँमा ठूलो–सानो भनेर गरिने भेदभाव नभएको अनुभूति मलाई छ । अध्ययन र प्रशिक्षणमा महत्व दिने र निर्णयमा जे भएको छ, त्यसलाई कार्यान्वयन गर्नमा कुनै कञ्जुस्याई नगर्ने खालको नेताको रुपमा सम्झन्छु । 

सहज र सरल व्यवहारको नेताको रुपमा उनलाई सम्झन्छु । अर्को कुरा अहिले कतिपय नेताहरू आफू केन्द्रीत सोचमा रमाउँछन्, परिवार केन्द्रीत सोचमा रमाउँछन् र आफ्नो सन्ततिले दुःख नपाओस् भनेर आफूलाई पनि कुनै दिन दुःख नहोस् भनेर कतिपय गलत नै क्रियाकलापबाट भएपनि कतिपय आय–आर्जनमा नेताहरूको ध्यान देखिन्छ । 

मेरो सन्तान र मेरो भविष्य सम्पन्नतातर्फ रहोस् भन्ने सोचको उहाँ घोर विरोधी हुनुहुन्थ्यो । र, जनताको जीवन स्तरलाई नयाँ पहिचान दिनेगरी जाँदा उहाँ एक किसिमले खास विषयमा कठोर पनि हुने तर, व्यवहारमा वा कार्यान्वयन गर्ने सन्दर्भमा लचिलो भएरै पनि लक्ष्य प्राप्तिमा पुग्नै पर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्यो । 

जबज र एमाले



जननेता कमरेड मदन भण्डारीले प्रतिपादन गर्नुभएको बाटोमा पार्टी नभएको त होइन्, अहिले पनि । तर, यसबीचमा धेरै प्रकारका नयाँ समस्याहरू पनि आएका छन् । सँगसँगै समाधान गर्दै पनि अगाडि बढिरहेको हो । तर, मदन भण्डारी जस्तो गुण भएको नेताको कमी चाँही महसुस मैले एमालेमा गरिरहेको छु । उहाँको जस्तो लक्षण र व्यवहारसहितको नेता एमालेमा अरु देखेको छैन।

जनताको बहुदलीय जनवाद अहिले पार्टीले लिइरहेको नीति नै हो । तर, हाम्रो देशमा चाँहि हाम्रो संविधानले पनि बहुलवादी विचारलाई पनि स्वीकार गरेको हो । र, अर्को कुरा के हो भने, बहुदलीय प्रतिस्पर्धा पनि छ । त्यसलाई लिएर सबैको बुझाइ एउटै हुँदैन् । कतिको त रुढिबादी सोच पनि हाबी भएको हुन्छ । कतिपय चाँही स्वार्थ केन्द्रीत सोचको कारणले गर्दा पनि आलोचना भएका हुन्छन्। 



कतिपय चाँही राम्रो काम गर्ने जोसुकैलाई पनि देख्न नसकेर त्यही तहमा आफूले गर्न नसकेपछि विरोध गरेर कमजोर बनाइयो भने आफू चाँही बलियो भएको महसुस गर्ने प्रवृत्ति छ । विरोध गरेर ठूलो हुने प्रवृत्ति पनि नेपालमा छ । त्यसकारणले जनताको बहुदलीय जनवाद चाँही समय अनुरुप मुलुकमा परिवर्तन नगरिकन गतिशील विचार पनि हो । त्यसकारणले त्यो गतिशीलतालाई राख्न चाँही भएन् । अर्को कुरा, त्यसलाई सुदृढ गर्ने कुरामा र नेपालको विशिष्टता अनुसारको आवश्यकताले त्यसलाई गति दिने कुरामा कुनै दुईमत हुँदैन् । 

किन समस्या ?

एउटा, कुरा के हो भने अहिले पनि प्रतिवद्धता पूरा गर्ने कुरा त सबै नेताहरूले गर्छन् नै । तर, प्रतिवद्धता पूरा गर्नका लागि व्यवहारिक रुपमा अग्रसर हुन्छ वा हुँदैनन् भन्ने आजको प्रश्न हो। 

त्यसकारण प्रतिवद्धता गर्दैमा त्यो पूरा हुन्छ भन्ने होइन् । प्रतिवद्धताको साथमा त्यही अनुरुप व्यवहार पनि गर्नुपर्ने भएको हुनाले व्यवहारको कमी देखिएको छ । त्यसलाई जुन प्रतिवद्धता गरेको छु, त्यसलाई व्यवहारले नै पूरा गर्छु भनेर आत्मैदेखि आउनु नै आजको आवश्यक्ता हो । र, त्यसलाई उपलब्धिका रुपमा लिनसक्ने गरी व्यवहार गर्नुपर्छ। 

मैले त सुरुदेखि जे भन्दै आएको थिएँ, मन्त्रिपरिषदमा रहँदा पनि भन्दै आएको र पार्टीका विभिन्न ठाउँमा भन्दै आएको कुरा हो । त्यसपछि पनि विवाद चरम उत्कर्षमा पुगिरहेको बेलामा पनि भनेको हो, एकताको कुरालाई नै लिएर आएको हो । मैले एउटा कुरा चाँही नेताहरूले मुल रुपमा त्याग्नुस् भनेको हो । कामको कारणले पद आफूलाई पछ्याओस्, भन्ने मेरो मान्यता हो । तर, पदको पछाडि सबै कुरा बिर्सिएर त्यो नै सपना, विपना हो।

त्यो पाइन भने म असफल, त्यो पाएँ भने सफल भन्ने विकृत सोच पनि आएका कारणले समस्या उत्पन्न भएको हो । सैद्धान्तिक कुनै समस्या थिएन, कार्यशैलीको समस्या थियो । र, मूल रुपमा पद केन्द्रीत आफू केन्द्रीत सोच र त्यसलाई पूरा गर्नका लागि राम्रा नराम्रा सबै कुरा गरेर जाने विषयले समस्या आएको हो।

  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १२:६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया