कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) को माहामारी रोकथाम, नियन्त्रण र प्रतिकार्य व्यवस्थापनका लागि स्वास्थ्य सामग्री तथा सेवा खरिद गर्न झण्डै १४ करोड रुपैयाँ उपलब्ध गराएको छ । सामाजिक विकास मन्त्रालयमार्फत् स्वास्थ्य सेवा निर्देशनालयलाई बजेट उपलब्ध गराएको हो ।
प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ २ गते बसेको बैठकले अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख, अक्सिजन कन्सन्ट्रेडका लागि ५ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ । यस्तै रेम्डिसिभिर लगायत औषधी खरिदका लागि १ करोड, कोभिड बिरामी हवाई उद्धारका लागि १ करोड रुपैयाँ निर्देशनालयलाई दिने निर्णय गरेको हो । हाल कर्णाली प्रदेशमा अक्सिजनको चरम अभाव भइरहेको छ । अक्सिजन अभावका कारण दैनिक मृत्युदर बढिरहेको छ ।
मन्त्रिपरिषद्ले कर्णाली प्रदेशमा आवश्यक पर्ने अक्सिजनका लागि सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने, त्यसका लागि सामाजिक विकास मन्त्रालयले तत्काल पहल गर्ने समेत निर्णय गरेको छ । कोभिड-१९ प्रतिकार्य व्यवस्थापनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृत बजेट शीर्षकहरूबाट समर्पण गराई वा अन्य जुनसुकै शीर्षकबाट बजेट स्रोत व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।