बालिका बलात्कार अभियोग लागेका सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव पुर्पक्षका लागि जेल चलान भएका छन्।
एकजना १७ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोगमा वैशाख ८ गते धरानको एक होटलबाट पक्राउ परेका अध्यक्ष यादवलाई जिल्ला अदालत सुनसरीले जेल चलान गर्ने आदेश दिएको हो।
उनलाई तत्काल प्राप्त प्रमाणका आधारमा न्यायाधीश टिकेन्द्र दाहालको एकल इजलासबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिएका छन्।
यादवविरुद्ध आइतबार मुद्दा दर्ता भएको थियो। आज बयान लिएपछि भएको थुनछेक बहस सकेर अदालतले पुर्पक्षका लागि झुम्का कारागार पठाउने आदेश दिएको पोखरेलले बताए ।
यादवलाई यही वैशाख ८ गते धरान-भेडेटार सडक खण्डको डुकु होटल एण्ड लजबाट पक्राउ गरिएको थियो। उनी त्यहाँबाट किशोरीसहित रंगेहात समातिएका थिए। पीडित पक्षको जाहेरीपछि उनीविरुद्ध इलाका प्रहरी कार्यालय धरानले जवरजस्ती करणीको मुद्दा दर्ता गरेको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।