धमाधम स्वास्थ्य सामाग्री ल्याउँदै निगम, विजय लामा भन्छन् : यति सक्रिय महाप्रबन्धक पहिलो पटक पाएँ
पौडेलको प्रतिवद्धता : सरकारको अभियानमा दिलोज्यानले साथ दिन्छौँ

कोरोना महामारी नियन्त्रणका लागि विदेशबाट स्वास्थ्य सामाग्री ल्याउने अभियानमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाजले रातदिन उडान भरिरहेका छन्।

पछिल्लो एक सातायता निगमको वाइड बडी ए ३३० ले दिन रात उडान भरेर विदेशबाट अक्सिजन सिलिन्डरसहितका सामाग्री ल्याइरहेको छ। शनिबार बिहान ओमान गएको एनएसीको जहाजले मस्कटबाट ५६० थान अक्सिजन सिलिन्डर लिएर त्यही साँझ नेपाल आइपुग्यो। 

मस्कटमा रोजागररत नेपालीहरुले संकलन गरेका सिलिन्डर त्यहाँस्थित राजदूतमार्फत नेपाल पठाइएको थियो। गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा बटुलिएका ती सिलिन्डरलाई निगमको जहाजले ल्याएपछि कोरोनाका बिरामीलाई केही राहत मिलेको छ।

चीन उडेको उड्यै 

त्यसअघि वैशाख २८ मा नेपाल वायु सेवा निगमको जहाजले चीन सरकारबाट सहयोगमा प्राप्त अक्सिजन ग्यासका सिलिन्डरसहित लिएर आएको थियो। चीनको राजधानी बेइजिङबाट स्वास्थ्य सामग्री लिएर वैशाख २८ अपरान्ह ती सामाग्री जहाजले ल्याएको थियो।



चीन सरकारले नेपाली दूतावासलाई हस्तान्तरण गरेको २० हजार थान अक्सिजन सिलिन्डरमध्ये तयारी अवस्थाका ४ सय थान, १६० थान अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टिलेटरसहित २६ प्रकारका स्वास्थ्य सामाग्री लिएर जहाजले ल्याएको थियो। 

ओमानबाट यही शनिबार सामान ल्याएर फिरेको जहाज त्यही राति चीनको बेइजिङ उडेको थियो। चीनको बेइजिङबाट जहाजले आइतवार र सोमबार स्वास्थ्य सामाग्री ल्याइएको जानकारी निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले दिएका छन्। 



शनिबार राति गएर बेइजिङदेखि आइतबार आइपुगेको जहाजले अक्सिजन ग्यासका ४ सय सिलिन्डर ल्याएको थियो। त्यस्तै तत्कालै बेइजिङ फर्किएको जहाजले थप ५७५ थान अक्सिजन काठमाडौंमा उतारेको छ।

त्यस्तै आइतवारै निगमको जहाजले १३० वटा अक्सिजन कन्सर्नटेटर ल्यायो। सोमबार पनि थप २७ वटा अक्सिजन कन्सर्नटेटर ल्याइएको जानकारी महाप्रबन्धक पौडेलले दिएका छन्। 

महाप्रबन्धक पौडेलका अनुसार जहाज आज राति फेरि बेइजिङ जाँदैछ। यो जहाजले भोलि बिहानै सामान ल्याएर आएपछि बेलुका बेइजिङ जानेछ। 'जहाज आज गएर भोलि बिहान सामान लिएर फर्किन्छ। हामीले तत्कालै बेलुका फेरि बेइजिङ पठाउँछौँ', पौडेलले भने, 'कोरोना महामारीविरुद्ध हामी अधिकतम् खटिन तयार छौँ।'

पौडेलको नेतृत्वमा विश्वका जुनसुकै कुनामा सामान पाए पनि लिन जान तयार रहेको बताएका छन्। 'हाम्रो जहाज निरन्तर तैनाथ छ। हामी सामान पाएसम्म हरेक दिन पठाएर ल्याउँछौँ', उनले भने, 'सामान जहाँ पाइन्छ, त्यहाँबाट ल्याउने हो।'

उनले कोरोनाविरुद्ध लड्न अक्सिजन जेनेरेटरको अभाव देखेका छन्, खोपको अभाव देखेका छन्। 'अब अक्सिजन जेनेरेटर र खोपको अभाव हामीलाई भएको छ', उनी भन्छन्, 'सरकारको प्राथमिकता पनि त्यतै छ। सरकार र यसका निकायहरु एवम् नेपाल वायुसेवा निगमले सकेको गरिरहेका छन्। आशा गरौं देशले कोरोनामाथि विजय प्राप्त गर्ने छ।'

पौडेलले अक्सिजन सिलिन्डर, अक्सिजन जेनेरेटर प्लान्टसहितका स्वास्थ्य सामाग्री ल्याउन निगमको जहाज विश्वका धेरै भागमा पुग्न तयार रहेको बताए। पौडेलका अनुसार निगमको ए३३० वाइडबडी जहाजको एक उडानमा २ सय सिलिन्डर  3 टन तौल भएका लगभग ८-१० वटा अक्सिजन प्लान्ट ल्याउन सकिन्छ। 

'स्वास्थ्य सामाग्री ल्याउन नेपाल वायुसेवा निगमको जहाज एसिया, आसियान, रसिया, अफ्रिका, ल्याटिन अमेरिका र क्यारेबियन मुलुकहरुमा तत्काल उडान गर्न सक्छ', उनले भने, 'कोरोना महामारीसँग जुध्न अब हामीले अक्सिजन प्लान्ट र खोपमा नै केन्द्रित गरौं।'

पौडेलले चीनबाट अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन पनि निगमका सबै जहाज तयारी अवस्थामा राखिएको बताए। त्यसका लागि पौडेल आफैं परिचालित भएका छन्। 

विजय लामाले गरे प्रशंसा 

महाप्रबन्धक पौडेल नेतृत्वमा कोरोना महामारीविरुद्ध थालेको अभियानको निगमका एकजना वरिष्ठ पाइलट तथा सामाजिक अभियन्ता विजय लामाले प्रशंसा गरेका छन्। लामा आफैं पनि स्वास्थ्य सामाग्री लिन निरन्तर खटिएका छन्। 

उनले महाप्रबन्धक पौडेलको खुलेर प्रशंसा गर्दै यो अभियान जारी राख्न भनेका छन्। 'झण्डै साढे तीन दशकको मेरो नेपाल एयरलाइन्सको जागिरमा पहिलो चोटी यति धेरै सक्रिय अनि सकारात्मक महाप्रबन्धक पाएँ', उनले भनेका छन्, 'महाप्रबन्धक सा'व यसरी नै दिल खोलेर काम गर्नु पर्छ।'

उनले कोरोनाविरुद्धको यो अभियानमा यसैगरी हौसला बढाइदिन पनि उनले आग्रह गरेका छन्। 'आफ्नो कर्मचारीहरुको हौसला यसरी नै बढाइ राख्नु होला', उनले अगाडि थपेका छन्, 'कुनै एक व्यक्ति वा खेमालाई मात्रै नभएर सबैलाई आफ्नै बनाइराख्नु हुन्छ भन्ने विश्वासका साथ मेरो नमन!'

  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार २१:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया