नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलले पार्टीलाई विभाजनतर्फ लैजाने सबै किसिमका क्रियाकलाप बन्द गर्न नेता कार्यकर्तालाई आग्रह गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकले यस्तो निर्णय लिएको जानकारी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय संयोजक भीम रावलले दिए।
एमाले उपाध्यक्ष समेत रहेका उनले आजको बैठकले कार्यदलको कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्कालै बनाएर लागू गर्ने निर्णय लिएको पनि जानकारी दिएका छन्।
'२०७७ फागुन २३ गते सर्वोच्चको फैसलाबाट पुन:स्थापित एमालेमा देखिएको विवाद समाधानको उपायबारेमा आज छलफल भएको छ', उनले भने, 'आज हामीले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरेर तुरुन्त लागू गर्ने निर्णय लिएका छौँ।'
रावलले पार्टीका नेता कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न आग्रह गरिएको पनि बताए। 'आजको बैठकले पार्टी पंक्तिलाई एकतावद्ध बनाएर लान सद्भावका लागि आग्रह गरेको छ', उनले भने, 'एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध हुने क्रियाकलाप नगर्न पनि बैठकले नेता कार्यकर्ताहरूलाई आग्रह गरेको छ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।