जनता समाजवादी पार्टी नेपाल (जसपा) का शीर्ष नेताहरुबीच भएको सहमति नाटकीय रुपमा भाँडिएको छ। सत्ता समीकरणको विषय लिएर तीन महिनादेखि विवादको भूमरीमा फसेको जसपाका अध्यक्षहरू महन्थ ठाकुर र उपेन्द्र यादवले पार्टी एक रहेको सन्देश दिन संयुक्त विज्ञप्ति निकालेका थिए।
पार्टी एकता कायम रहेको भन्दै ८ बुँदे सहमतिमा हस्ताक्षर गरेका दुई अध्यक्षबीच केही घण्टामै अर्को रडाको सुरु भयो। दुई नेताबीचको यो खुसी केही घण्टा पनि टिक्न सकेन।
झन् बढ्यो विवाद
ठाकुर र यादवबीचको सहमतिविपरीत अर्को विज्ञप्ति निस्किएपछि फेरि विवाद बढेको हो। ८ बुँदे सहमतिको मसी सुक्न नपाउँदै जसपामा नयाँ चरणको विवाद देखिएको छ। यसअघि रहेको द्विपक्षीय विवाद राजेन्द्र महतो पनि जोडिएपछि अब त्रिपक्षीय भएको छ।
यादवसँगको सहमतिपछि ठाकुरले महतोलाई दलको नेता बनाएको पत्र संघीय संसद सचिवालयमा दर्ता गराइसकेका छन्। गत वैशाख ३० गते भक्तपुरको डोलेश्वरमा बसेको जसपा संसदीय दलको बैठकले विधान अनुसार नेतामा महतोलाई निर्वाचित गरेको जानकारी सचिवालयलाई गराइएको छ।
अध्यक्ष ठाकुरबाट सचिवालयमा पठाइएको पत्रका साथमा संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि पठाइएको विज्ञप्तिमा उल्लेख छ।
वरिष्ठ नेता महतो संसदीय दलको नेतामा चयन भएको जानकारी संघीय संसद सचिवालयमा पठाएपछि आक्रोशित उपेन्द्रले विमति जनाएका छन्। फरकधारसँग कुरा गर्दै यादवले संसदीय दलको नेतामा महतोलाई विधानविपरीत चयन गरिएको बताएका छन्। 'त्यो एकलौटी ढंगबाट भएको छ, त्यसमा हाम्रो सहमति छैन', उनले भनेका छन्।
दुई दिनअघिको चिठी
यादवको हस्ताक्षरमा आजै संसद सचिवालयलाई पत्र पठाइएको छ। ‘पार्टी विधानमा कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्ने व्यवस्था छ। तर अहिलेसम्म विधान बनेको छैन', उनले भनेका छन्, 'केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदनमा भएको छैन। त्यसैले अहिलेसम्म संसदीय दलको नेता चयन भएको छैन। यदि चयन भएको भनी सचिवालयमा जानकारी आएको छ भने त्यसलाई मान्यता प्रदान नगर्न मेरो अनुरोध छ।’
यो चिठी वैशाख २ गतेकै मितिमा नै यादवले संसद सचिवालयमा पठाएका थिए। तर ठाकुरले संसद सचिवालयलाई पठाएको पत्रमा आजको मिति उल्लेख छ। संसद सचिवालयमा पनि आजै दर्ता भएको छ।
एकातिर ठाकुर समूहले दलको नेता चयनको जानकारी गराएर आजको मितिमा पत्र दर्ता गराएको छ। अर्कातिर यादव समूहले २ गतेकै मितिमा संसद सचिवालयमा पठाएको पत्र सार्वजनिक गरेपछि विवादले नयाँ मोड लिएको छ। यादवको यही कुटिल चाल बुझेपछि ठाकुर भड्किएको उनीनिकट नेताहरु बताउँछन्।
सहमतिको केही घण्टामा ठाकुरको हस्ताक्षरबाट जारी भएको विज्ञप्तिको निर्णयप्रति यादवले तुरुन्तै असहमति जनाएपछि जसपामा झन् अन्योल बढेको छ।
किन भाँडियो सहमति ?
पार्टी एक रहेको सन्देश दिन उपेन्द्र यादवकै प्रस्तावमा आज बैठक बसेको थियो। ठाकुर र यादवकै सहमति बमोजिम बैठक बोलाउने, एकता कायम गर्ने जस्ता निर्णय पनि भएको थियो। यादवकै प्रस्तावमा ठाकुरले पार्टी एकता कायम राख्न उनका सबै शर्त मान्दै ८ बुँदे पत्रमा सहमति हस्ताक्षर गरेका थिए।
तर त्यसमा उपेन्द्रले ठाकुरसँग भएको छलफलविपरीत सहमतिको बुँदाको चौथो नम्बरमा आफ्नो निर्णय लेखे। जुन ठाकुर र यादवबीच सहमति भएको थिएन। त्यसमा यादवले लेखेका छन्, 'राष्ट्रिय सहमति वा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त भएमा त्यसका लागि अगाडि बढ्न सकिनेछ।
तर ठाकुर स्रोतका अनुसार दुवै नेताबीच यो सहमति भएको थिएन। यद्यपि यादवले जबरजस्ती यो निर्णय छिराएको ठाकुरनिकट एक सांसद बताउँछन्।
उपेन्द्रको विश्वासमा ठाकुरजीले सहमतिका निर्णयहरु पढ्दै नपढी हस्ताक्षर गरेका थिए', उनीनिकट स्रोत भन्छ, 'जसको दुरुपयोग भएको ठाकुरजीको भनाइ छ। मूलतः यही कारणले सहमति भाँडिए अर्को विवाद खडा भएको हो।'
के थियो सहमति?
दुई नेताले निकालेको विज्ञप्तिमा केपी शर्मा ओली नेतृत्वको सरकारमा तत्काल नजाने उल्लेख थियो। जसपा अध्यक्षद्वय ठाकुर र यादवले मंगलबार संयुक्त विज्ञप्ति निकालेर तत्काललाई प्रतिपक्षमै रहने निर्णय लिएका थिए।
'जनता समाजवादी पार्टी सरकारमा जाने-नजान हुने सम्बन्धमा व्यापक तर्क-वितर्क एवम् अड्कलबाजी भइरहेका छन्। तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन', उनीहरुले भनेका थिए 'जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।'
यस्तो थियो वक्तव्य
१) जनता समाजवादी पार्टी, नेपाल संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, जातीय, वर्गीय, लैङ्गिक विभेद र असमानतालाई अन्त्य गरी समानता, स्वतन्त्रता, सामाजिक न्याय र समाजवाद सहितको लक्ष्य प्राप्तिका लागि मुलुकमा नयाँ बैकल्पिक लोकतान्त्रिक राजनीतिक शक्ति निर्माणको प्रक्रियामा रहेको छ।
२) हालै प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत प्राप्त गर्न राखेको प्रस्तावमाथि पार्टीको पदाधिकारीहरूको बैठकद्वारा सहमति गरी आपसी समझदारी कै आधारमा माननीय सांसदहरूलाई आ-आफ्नो स्वविवेक प्रयोग गर्दै प्रस्तावको विरुद्ध मत दिने वा तटस्थ बस्ने अवसर प्रदान गरिएको व्यहोरा सर्वविदितै छ। तर यस अवसरलाई दुरूपयोग गरी पार्टीका केही नेतृत्वबाटै नै गुट-उपगुट खडा गर्ने पार्टी भित्र गुटबन्दी गरी अराजक क्रियाकलाप गर्दै आ-आफ्नो पक्ष खडा गरी सञ्चार माध्यमहरुमा समेत दिइएका गैर-राजनीतिक, गैर-जिम्मेवार अभिव्यक्तिहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यस्ता गतिविधिहरू पार्टी एकता, अनुशासन, आचार संहिता एवम् पार्टी कार्यपद्धति प्रतिकुल रहेका छन्। यस प्रकारका कार्य, अभिव्यक्ति एवम् गतिविधिलाई तुरुन्त बन्द गर्नु पर्दछ।
३) पार्टी भित्रका गतिविधिहरू पार्टीको विधान, विधि, प्रक्रिया र संगठनात्मक कार्य प्रणाली अनुरूप हुने गरी गरिनु पर्दछ।
४) पार्टी सरकारमा सहभागि हुने र नहुने सम्बन्धमा व्यापक तर्क-वितर्क एवम् अड्कलबाजीहरु भइरहेका छन्। तत्काल हाम्रो पार्टी सरकारमा सहभागि हुने छैन। जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।
५) समायोजन हुन नसकेका विभिन्न स्तरका पार्टी संगठन ÷ भ्रातृ संगठन लगायत संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई पार्टी विधान, समायोजन सम्बन्धी निर्देशिका र पार्टीले गरेको निर्णयहरूको आधारमा यथाशिघ्र सम्पन्न गर्दै एकतावद्ध, अनुशासित एवम् सुदृढ पार्टी संगठन निर्माण गर्न पर्दछ।
६) पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आफू संगठित रहेको पार्टी संगठन भित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर नै समस्याहरूको समाधान गर्न पर्दछ।
७) पार्टीभित्र कसैले व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि गुटबन्दी गर्ने, गुट-उपगुट खडा गर्ने, पार्टी नेताहरूका विरूद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने क्रियाकलाप, विचार प्रकृतिहरूलाई अन्त्य गरी पार्टीलाई एकताबद्ध राख्नु पर्दछ।
८) पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन सम्पूर्ण पार्टी नेतृत्व वर्ग, पार्टी सदस्यहरू, शुभचिन्तक एवम् शुभेच्छुकहरूमा हार्दिक अनुरोध गरिन्छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।