कोरोनाको दोस्रो लहरले अर्थतन्त्र पुनः प्रभावित, आर्थिक गतिविधि चलायमान बनाइराख्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले कोरोनाको पहिलो लहरपछि बिस्तारै सुधार हुँदै गरेको अर्थतन्त्र पुनः प्रभावित भएको बताएको छ । बैंकले बुधबार कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै यथासम्भव आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने उल्लेख गरेको छ ।

‘हाल कोभिड–१९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लामा ०७८ वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले बिस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन जाने देखिएको छ, कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधि पनि चलायमान बनाइरहनुपर्ने खाँचो छ,’ केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनमा भनिएको छ ।

राष्ट्र बैंकले २०७८ वैशाख महिनाको ५ गतेदेखि १४ गतेसम्म टेलिफोन अन्तर्वार्तामार्फत सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा ०७७ असारमा सहभागी ६७४ उत्तरदातामध्ये करिब ८४ प्रतिशत अर्थात् ५६२ जना उद्योगी–व्यवसायीले सहभागिता जनाएका छन् ।

०७७ असारको तुलनामा उद्योग–व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिड महामारीपूर्व ०७६ फागुनको तुलनामा ०७७ असारमा ४.१ प्रतिशत मात्र उद्योग–व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेकोमा ०७८ वैशाखमा बढेर ८१.२ प्रतिशत पुगेको देखिएको छ ।

सर्वेक्षणमा सहभागी विद्युत्, ग्यास तथा पानी र सञ्चार क्षेत्रका शतप्रतिशत उद्योग–व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ । त्यस्तै, हालसम्म पनि ४.२ प्रतिशत उद्योग–व्यवसायहरु सञ्चालनमा आउन नसकेको देखिन्छ ।

०७७ असारको तुलनामा उद्योग–व्यवसायको उत्पादन–कारोबारको अवस्थामा पनि सुधार आएको छ । कोभिड महामारी अगाडि ०७६ फागुनको तुलनामा ०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन–कारोबार रहेकोमा ०७८ वैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१.४ प्रतिशत पुगेको छ ।



गत असारको तुलनामा अध्ययनले समेटेको सबै क्षेत्र उत्पादन–कारोबार बढेको पाएको छ । तर, होटल तथा रेस्टुरेन्टको भने उत्पादन कारोबारको स्थिति ४०.८ प्रतिशतमा रहेको देखाएको छ । जुन अन्य व्यवसायको भन्दा कम हो । 

गत ०७७ असारको तुलनामा उद्योग–व्यवसायको आकार अनुसार पनि सबै प्रकारका उद्योग–व्यवसायको उत्पादन तथा कारोबार बढेको पाइएको छ । तर, कोभिड महामारी आउनु अगाडिको अवस्थामा भने अझै पुगिसकेका छैनन् ।



०७७ असारको तुलनामा उद्योग–व्यवसायले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिए तापनि कोभिड महामारी अगाडिको अवस्थामा भने अझै पुग्न सकेको छैन । कोभिड महामारी अगाडि ०७६ फागुनको तुलनामा ०७७ असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग–व्यवसायले ०७८ वैशाखमा ९३.८ प्रतिशत रोजगारी प्रदान गरेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । 

त्यस्तै, मझौला तथा ठूला उद्योग–व्यवसायले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । पूर्ण रुपमा सञ्चालनमा रहे पनि मझौला तथा ठूला उद्योग–व्यवसाय आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेका कारण यस्ता उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको अनुमान छ । 

०७७ असारको तुलनामा उद्योग–व्यवसायको औसत तलब–ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडि ०७६ फागुनको तुलनामा ०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च ०७८ वैैशाखमा आइपुग्दा ८८.५ प्रतिशत पुगेको देखिएको छ ।

०७७ असारको तुलनामा खानी तथा उत्खनन क्षेत्रका उद्योग–व्यवसायको औसत तलब–ज्याला खर्च बढेको पाइएको छ भने विद्युत्, ग्यास तथा पानी र सञ्चार क्षेत्रका उद्योग–व्यवसायको औसत तलब—ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ ।

साथै, ०७७ असारको तुलनामा उद्योग–व्यवसायको आकारअनुसार सबै प्रकारका उद्योग–व्यवसायको औसत तलब–ज्याला खर्च वृद्धि भएको पाइएको छ ।

सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी–व्यवसायीले कोभिड–१९ का कारण बजार माग घटेर चालू खर्च धान्न समस्या रहेका कारण उद्योग–व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । 

उद्योग–व्यवसाय सञ्चालनमा ल्याउन नसकेकामध्ये केहीले व्यक्तिगत कारणले गर्दा अब उद्योग–व्यवसाय पुनः सुरु गर्न नचाहेको बताएका छन् भने केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने बताएका छन् ।

सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी–व्यवसायीले बन्द उद्योग–व्यवसाय पुनः सञ्चालनमा ल्याउन समस्यामा रहेका उद्यमीलाई लक्षित पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जालगायत कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरेको पनि राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । 

  • प्रकाशित मिति : जेठ ६, २०७८ बिहीबार १८:१९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया